कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

सुनसरी लिगमा धरान च्याम्पियन

अर्जुन सुवेदी

सुनसरी — धरान फुटबल क्लब सुनसरी जिल्ला लिग च्याम्पियन बनेको छ । धरान रंगशालामा बिहीबार सम्पन्न फाइनल खेलमा इटहरीको राष्ट्रिय जागृति क्लबलाई पेनाल्टी सुटआउटमा ५–४ गोल अन्तरले पराजित गर्दै धरान लिग च्याम्पियन बनेको हो ।

सुनसरी लिगमा धरान च्याम्पियन

लिग च्याम्पियन बनेको धरानले नगद ५० हजार पुरस्कार पाएको छ भने प्रदेश लिगका लागि छनौट भएको छ । उपविजेता बनेको राष्ट्रिय जागृतिले ३० हजार रुपैयाँ हात पारेको छ ।

निर्धारित समयमा दुई टिमले १–१ गोलको बराबरी खेलेपछि खेलको निर्णय सिधै पेनाल्टी सुटआउटबाट लिइएको थियो । पेनाल्टीमा धरानको तर्फबाट आशिष पुरी, मिजास लिम्बु, सुभास राणामगर, सचिन श्रेष्ठ र सुजन इङनामले गोल गरे । प्रितम लिम्बुको प्रहार जागृतिका गोलकिपर राजेश खड्काले रोकेपनि त्यो जीतको लागि पर्याप्त हुन सकेन ।

जागृतिका सुमित चौधरी, युगेन राई, विजय राई र योगेन्द्र कार्कीले मात्र गोल गर्न सके । प्रशान्त सुब्बाको प्रहार आकाशियो भने कालीबहादुर थापाको प्रहार धरानका गोलकपिर सचिन श्रेष्ठले रोकिदिए । पहिलो सेमिफाइनलमा धरानले ब्वाइज फुटबल क्लब, इटहरीलाई टाइब्रेकरमा ५–३ ले पराजित गर्दै फाइनल पुगेको थियो।

यस्तै दोस्रो सेमिफाइनलमा राष्ट्रिय जागृतिले धरानकै गोधुली फुटबल क्लबलाई २–१ ले हराउँदै फाइनलमा स्थान सुरक्षित गरेको थियो । लिग चरणको खेलमा भने राष्ट्रिय जागृति ४ खेलमा ३ मा जीत र १ खेलमा बराबरी खेल्दै १० अंकका साथ शीर्षस्थानमा रहँदै सेमिफाइनल पुगेको थियो।

धरान फुटबल क्लबले लिग चरणमा खेलेका ४ खेलमा २ मा जीत २ मा बराबरी गर्दै ८ अंकका साथ सेमफिाइनलमा स्थान बनाएको थियो। अखिल नेपाल फुटबल संघको संयोजनमा वैशाख २६ गतेदेखि भएको लिग इटहरी र धरान क्षेत्र गरी दुई स्थानमा भएको थियो ।

प्रकाशित : जेष्ठ १०, २०८१ २०:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×