कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

प्रिन्स लगातार चौथोपल्ट च्याम्पियन

काठमाडौँ — एपीएफ क्लबका प्रिन्स दाहालले लगातार चौथोपल्ट पुष्पलाल स्मृति राष्ट्रिय वरीयता ब्याडमिन्टन प्रतियोगिताको उपाधि जितेका छन् । १३ औं पुष्पलाल स्मृति राष्ट्रिय वरीयता ब्याडमिन्टनको शनिबार सम्पन्न फाइनलमा प्रिन्सले ललितपुरका प्रफुल महर्जनलाई २१–१८, २२–२० ले हराएर उपाधि जिते । एपीएफका देवराज राना र पुलिसका सुनिल जोशी तेस्रो भए ।

प्रिन्स लगातार चौथोपल्ट च्याम्पियन

महिला एकलतर्फ ललितपुरकी रसिला महर्जन विजेता भइन् । उनले पूर्व विजेता भोजपुरकी नङसलदेवी तामाङलाई १७–२१, २१–१५, २२–२० को संघर्षपूर्ण खेलमा हराइन् । आर्मीकी अनुमाया राई र पुलिसकी नीता लम्साल तेस्रो भए ।

बिजेताले ५० हजार, उपविजेताले ३० हजार र तेस्रो भएकाले समान १२ हजार ५ सय रुपैयाँ पुरस्कार पाए । पुरुष शीर्ष ८ वरीयताबाहेक इभेन्ट एपीएफका क्षितिज खनालले जिते । उनले नखिपोटका विवेक चौधरीलाई २१–१६, १७–२१, २१–१५ ले हराए । आर्मीका पविन लिङथेप र एपीएफका रोशन साउद तेस्रो भए । महिलातर्फ कास्कीकी दिलाशा रानाले बेलटार ब्याडमिन्टन एकेडेमीकी रोजी राईलाई २१–१४, २१–१३ ले उपाधि जितिन् । पुलिसकी सुष्मा श्रेष्ठ र पोखरा स्पोर्ट्स ब्याडमिन्टन सेन्टरकी आयुष्मा नेपाल तेस्रो भए ।

चन्द्रागिरिस्थित महांकाल ब्याडमिन्टन क्लबको कभर्डहलमा भएको प्रतियोगिताको पुरुष युगलतर्फ प्रिन्सले विजित थापा मगरको जोडीले प्रफुल र आर्मीका सुरोज महर्जनको जोडीलाई २१–७, २२–२४, २१–१२ ले हराएर उपाधि जित्यो ।

महिला युगलतर्फ रसिलाले आर्मीकी अमिता गिरी मिलेर उपाधि जितिन् । उनीहरूको जोडीले आर्मीकी अनुमाया राई र मोरङकी सीमा राजवंशीलाई २१–१९, २१–१२ ले हरायो ।

यू–१३ को ब्वाइजतर्फ महांकाल ब्याडमिन्टन क्लबका सफल भुजेलले उपाधि जिते । उनले कैलालीका रियांश चौधरीलाई २१–१४, १८–२१, २१–१५ ले पराजित गरे । गर्ल्सतर्फ दीपक ब्याडमिन्टन एकेडेमीका अस्मिता खत्रीले क्लब मध्यपुरकी स्वर्लिन श्रेष्ठलाई २१–१७, २१–१६ ले पराजित गर्दै उपाधि जितिन् । यू–१७ एकलतर्फ आर्मीका सुप्रिम पन्त र कास्कीकी दिलाशा राना उपाधि जित्न सफल भए ।

मास्टर्स युगल ४५ वर्षमाथि पिस फिटनेस सेन्टरका सञ्जय कपाली र अनिल थामसुहाङको जोडी विजयी भयो । ५५ वर्षमाथि कास्कीका रामबहादुर गुरुङ र गुल्मीका खगेन्द्र रेग्मीको जोडीले सफलता पायो ।

प्रिन्सलाई सम्मान

आयोजक राष्ट्रिय ब्याडमिन्टन संघ नेपालले विश्व जुनियर नम्बर एक रहिसकेका नेपालका नम्बर एक खेलाडी प्रिन्स दाहाललाई रोयल इनफिल्ड हन्टर ३५० बाट सम्मान गरको छ । संघको पूर्वघोषित कार्यक्रमअनुरुप प्रिन्सलाई सम्मान गरको हो । संघले प्रतियोगिताको लगातार तीन संस्करणमा जित हासिल गरे मोटरसाइकल प्रदान गर्ने घोषणा गरेको थियो ।

प्रकाशित : फाल्गुन १९, २०८० २१:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×