कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

दाङ क्रिकेट लिग सुरु

पहिलो दिन दंगाली लायन्स र पुरन्धारा च्यालेन्जर्स विजयी
दुर्गालाल केसी

दाङ — दाङ क्रिकेट लिगको दोस्रो संस्करण सोमबारदेखि घोराहीमा सुरु भएको छ । दाङ क्रिकेट संघको आयोजनामा घोराही उपमहानगरपालिका–१७ गुलरीयास्थित क्रिकेट मैदानमा भैरहेकोको प्रतियोगिता अन्तर्गत पहिलो दिन सम्पन्न दुई खेलमा दंगाली लायन्स र पुरन्धारा च्यालेन्जर्स विजयी भएका छन् ।

दाङ क्रिकेट लिग सुरु

दंगालीले डिफेन्डिङ च्याम्पियन घोराही टाइगर्सलाई तथा पुरन्धाराले देउखुरीलाई पराजित गरेका छन् । पहिलो खेलमा दंगाली लायन्सले डिफेन्डिङ च्याम्पियन घोराही टाइगर्सलाई ९ विकेटले पराजित गर्‍यो । घोराही टाइगर्सले दिएको ११२ रनको लक्ष्य दंगाली लायन्सले १६.१ ओभरमा मात्र १ विकेट गुमाएर पुरा गरेको थियो ।

दंगाली लायन्सका लागि सन्तोष कार्की र बसिर अहमदले समान ४५ रन योगदान दिए । सन्तोषले ४६ बलमा ३ चौका तथा बसिरले ३९ बलमा ३ छक्का प्रहार गरे । राष्ट्रिय क्रिकेटर बसिर खेलको प्लेयर अफ द म्याच घोषित भएका छन् ।

टस जितेर ब्याटिंग रोजेको घोराही टाइगर्सले १८.२ ओभरमा १११ रन बनायो । घोराहीका लागि अर्जुन घर्तीले सर्वाधिक ३२ रनको योगदान दिए । रबिन थापाले अविजित १४ तथा ब्रिशब सेन्चुरीले १३ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । राष्ट्रिय क्रिकेटर ओपनर दिलिप नाथले २ रन मात्र बनाउन सके ।

दंगाली लायन्सको बलिङमा शंकर रानाले सर्वाधिक ३ विकेट लिए जुन क्रममा ४३ ओभरमा २१ रन खर्चिए । प्रकाश जैसी र बिर बहादुर घर्ती मगरले २/२ तथा कप्तान बिपिन खत्रीले १ विकेट लिए । दोस्रो खेलमा पुरन्धारा च्यालेन्जर्सले देउखुरी वारियर्सलाई ५ विकेटले पराजित गर्‍यो । देउखुरीले दिएको ९५ रनको लक्ष्य पुरन्धाराले १२.३ ओभरमा ५ विकेट गुमाएर पुरा गर्‍यो । लक्ष्य पछ्याउने क्रममा पुरन्धाराको लागि प्रनित थापाले सर्वाधिक २६, राजु रिजालले २०, रित गौतमले १८ तथा कृष्ण कार्कीले अविजित ११ रनको योगदान दिए । देउखुरीको बलिङमा कप्तान विशाल विक्रम केसीले ३ विकेट तथा सुभम खनाल र दिपक बोहराले १/१ विकेट लिए ।

टस जितेर ब्याटिङ गरेको देउखुरी वारियर्सले २० ओभरमा सबै विकेट गुमाएर ९४ रन बनायो । देउखुरीका लागि आशिष ओलीले सर्वाधिक ३३, नारायण जोशीले २३ तथा बिशाल बिक्रम केसीले १६ रनको योगदान दिए । पुरनधारा च्यालेन्जर्सको बलिङमा देब्रे हाते स्पिनर दिपेन्द्र रावत एक्लैले ४ विकेट लिए । उनी प्लेयर अफ द म्याच समेत घोषित भए । रावतले ४ ओभरमा मात्र ७ रन खर्चिए । कृष्ण कार्की, मोहन खत्री र राजवीर सिंहले १/१ विकेट लिए ।

प्रतियोगिता अन्तर्गत दोस्रो दिन मंगलबार पनि दुई खेल हुनेछन् । पहिलो खेलमा विहान ९ः३० बजे दंगाली लायन्स र तुलसीपुर रोयल्स तथा दोश्रो खेलमा दिउासो १ः३० बजे पुरन्धारा च्यालेन्जर्स र घोराही टाइगर्स बीच प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगितामा पााच फ्रेन्चाईज टोली सहभागी छन् । जसमा सुशान्त सिंह थापा कप्तान रहेको घोराही टाइगर्स, विशाल विक्रम केसी कप्तान रहेको देउखुरी वारियर्स, मोहन खत्री कप्तान रहेको पुरन्धारा च्यालेन्जर्स, दिवान पुन कप्तान रहेको तुलसीपुर रोयल्स र विपिन खत्री कप्तान रहेको दंगाली लायन्स रहेका छन् । राउण्ड रोबिन फर्म्याटमा भइरहेको प्रतियोगिता फागुन १९ गते सम्म सञ्चालन हुने दाङ क्रिकेट संघका अध्यक्ष प्रदिप मजगैयाले बताए ।

खेलको उद्घाटन लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री राजु खनाल र घोराही उपमहानगरपालिका प्रमुख नरुलाल चौधरीले गरेका थिए । प्रतियोगिताका लािग फ्रेन्चाईज क्लबहरुले अक्सनमार्फत खेलाडी खरिद गरेका थिए । अक्सनका लागि २ सय बढी खेलाडीले रजिष्ट्रेशन गरेकोमा ७० खेलाडी प्रतियोगिताका लागि छनोट भएका छन् ।

राष्ट्रिय, अन्तर्राष्ट्रिय प्रतियोगिता खेलीसकेका १ सय ३ जना, दाङबाट सिनियर समुहमा ५२ जना, १९ वर्ष मुनिको १९ जना र १६ वर्ष मुनिको २१ जनाबाट पाँच फ्रेन्चाईज क्लबले खेलाडी भित्राएका छन् ।

प्रतियोगितामा ११ खेल हुने अध्यक्ष मजगैयाले बताए । लिग विजेताले नगद २ लाख ५० हजार र उपविजेताले १ लाख रुपैया प्राप्त गर्नेछन् । त्यसैगरी लिगमा सबैभन्दा बढी रन बनाउने खेलाडी, बढी विकेट लिने खेलाडी, ईमर्जिङ खेलाडीलाई समान १०/१० हजार, म्यान अफ द सिरिजलाई १५ हजार र म्यान अफ द म्याचलाई पााच हजार प्रदान गरिने प्रतियोगिता निर्देशक बिशेष अधिकारीले बताए ।

प्रकाशित : फाल्गुन १४, २०८० २२:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×