कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

रहेनन् विश्वकप विजेता ब्रेहमे

काठमाडौँ — सन् १९९० को विश्वकप फाइनलमा जर्मनीका लागि अर्जेन्टिनाविरुद्ध ८५ औं मिनेटमा पेनाल्टीबाट निर्णायक गोल गर्ने आन्द्रेस ब्रेहमेको मंगलबार राति निधन भएको छ । उनी ६३ वर्षका थिए ।

रहेनन् विश्वकप विजेता ब्रेहमे

उनको पुरानो क्लब बायर्न म्युनिखले निधनबारे पुष्टि गरेको छ । बायर्नले भनेको छ, ‘आन्द्रेस ब्रेहमेको निधनमा हामी स्तब्ध छौं । उनी हाम्रो मुटुमा रहने छन् । उनी विश्व च्याम्पियन हुन् । अझ उनी विशेष व्यक्ति हुन् ।’

सन् १९८६–८८ बीच दुई सिजन बायर्नमा बिताएका सदाबहार डिफेन्डर ब्रेहमेले सन् १९८७ मा जर्मन बुंडेसलिगा जिते । बायर्नसँगै काइजरस्लर्टन र इन्टर मिलानका लागि खेलेका ब्रेहमेले केही समय सारब्रेकन र रियल जारागोजामा पनि बिताए । उनको खेलजीवन भने ह्याम्बर्गस्थिति उनको घरेलु क्लब एचएसभी बारमबेकबाट सुरु भएको थियो । उनको खेलको सबैभन्दा ठूलो विशेषता भन्नु समान रूपमा दुवै खुट्टाले खेल्न सक्नु हो ।

इटलीमा छँदा उनले इन्टर मिलानका लागि आफ्नै देशका योर्गन क्लिन्समन र लोथर म्याथ्युजसँग बलियो साझेदारी गरेका थिए । इन्टरका लागि उनले इटालीको सिरी ‘ए’ र यूईएफए कप पनि जिते ।

ब्रेहमेले सबैभन्दा बढी लामो समय १० वर्ष बिताएको भने काइजरर्स्लटनमै हो । पछि उनले प्रशिक्षकका रूपमा पनि क्लबको जिम्मेवारी सम्हाले । सन् १९९६ मा काइजरर्स्लटन रेलिगेसनमा परेको थियो र त्यसको दुई वर्षपछि ब्रेहमेकै कप्तानीमा टिम फेरि माथिल्लो डिभिजनमा उक्लेको थियो ।

प्रकाशित : फाल्गुन ९, २०८० ०६:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×