कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

पुलिस स्कुललाई सशस्त्र आईजीपी ट्रफी

काठमाडौँ — नेपाल पुलिस स्कुल साँगाले प्रथम अन्तर विद्यालय सशस्त्र प्रहरी महानिरीक्षक रनिङ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । पुलिसले मंगलबार सम्पन्न फाइनलमा आयोजक नेपाल एपीएफ स्कुल ‘क’ लाई सडनडेथमा पराजित गरेर उपाधि जितेको हो ।

पुलिस स्कुललाई सशस्त्र आईजीपी ट्रफी

कीर्तिपुरस्थित पाँगामा रहेको नेपाल एपीएफ स्कुलको मैदानमा सम्पन्न फाइनलमा दुवै टोलीबाट निर्धारित ६० मिनेटमा गोल हुन सकेन । त्यसपछि सोझै पेनाल्टी शुटआउटमा खेल गएको थियो । त्यसमा पनि दुवै टोलीले ४–४ गोल मात्र गर्न सकेपछि सडनडेथको दोस्रो पेनाल्टीमा पुलिसले एपीएफ स्कुलको चुनौती समाप्त पारेको थियो ।

पेनाल्टी शुटआउटमा पुलिसका गोलरक्षक दिप्सन परियार नायक बने । निर्धारित समयको खेलमा पनि एपीएफका चार राम्रा प्रहार गोल हुनबाट जोगाएका उनले पेनाल्टी शुटआउटमा एक प्रहार रोकेका थिए । नेपाल एपीएफ स्कुलको १९ औं स्थापना दिवसको अवसर आयोजित प्रतियोगितामा दिप्सन फाइनलको उत्कृष्ट खेलाडी हुनुका साथै उत्कृष्ट गोलरक्षक उपाधि भए ।

एपीएफ स्कुलका तेन्जिङ शेर्पा प्रतियोगिताको उत्कृष्ट खेलाडी, सैनिक आवासीय महाविद्यालयका डिगविजय शाही उच्च स्कोरर भए भने सैनिक महाविद्यालयलाई नै अनुशासित टिमको उपाधि दिइएको थियो । विजेता पुलिसले ३० हजार र उपविजेता एपीएफलाई २० हजार प्रदान गरिएको थियो ।

विजयी खेलाडीलाई सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक चन्द्रप्रकाश गौतमलगायतले पुरस्कृत गरेका थिए । एपीएफका प्रधानाध्यापक युवराज पराजुली, विद्यालय समादेशक सशस्त्र प्रहरी नायब उपरीक्षक राजेन्द्र गुरागाईंले प्रतियोगितालाई निरन्तरता दिइने जनाए । माघ २२ देखि सञ्चालित प्रतियोगितामा आयोजक एपीएफका दुईसहित कुल १९ स्कुल सहभागी थिए ।

प्रकाशित : फाल्गुन ८, २०८० २०:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×