२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७६

श्रीलंका आर्मीसँग एपीएफ स्तब्ध

दीपक परियार

पोखरा — दुई पाहुना टोलीमध्ये टाइगर कप भलिबल प्रतियोगितामा पुरुषतर्फ श्रीलंका आर्मीले विजयी सुरुआत गरेको छ । महिलातर्फ भारतको हरियाणा टिम भने पहिलो खेलमा पराजित भएको छ । चौथो संस्करणको टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुला क्लब च्याम्पियनसिपमा श्रीलंका आर्मीले मंगलबार नेपाल एपीएफ क्लबलाई हराएको हो । 

श्रीलंका आर्मीसँग एपीएफ स्तब्ध

श्रीलंका आर्मीले एपीएफलाई ३–१ को सेटमा पराजित गर्‍यो । पहिलोपल्ट नेपालमा खेल्न आएको पाहुना टोली पहिलो सेट २३–२५ ले पछि परेको थियो । त्यसपछिको लगातार तीन सेट २५–१९, २५–२१ र २५–१३ ले आफ्नो पक्षमा पार्‍यो । सजिथ केनुमारत्ने टाइगर अफ दी म्याच बन्न सफल भए ।

महिलातर्फ त्रिभुवन आर्मी क्लबले अर्को पाहुना टोली हरियाणालाई ३–२ को प्रतिस्पर्धात्मक सेटमा पराजित गर्‍यो । भारतको राष्ट्रिय टिमकी कप्तान मिनिमोल अब्राहमको नेतृत्वमा कोर्टमा उत्रिएको हरियाणालाई आर्मीले पहिलो सेट २५–२२ ले हरायो । दोस्रो र तेस्रो सेट भने २०–२५ र १८–२५ ले हरियाणालाई सुम्पियो । चौथो सेटमा आर्मी खेलमा फर्कंदै २५–१७ को जित निकाल्यो । अन्तिम सेटमा १५–१२ ले जित सुनिश्चित गर्दै अन्तिम चारको सम्भावना जीवितै राख्यो । आर्मीकी सोफिया पुन टाइगर अफ दी म्याच बनिन् ।

महिलातर्फै गण्डकी प्रदेश भलिबल संघको घरेलु टिम नेपाल पुलिस क्लबसँग पराजित भएको छ । पुलिसले ३–० को सोझो सेटमा गण्डकीलाई पराजित गर्दै समूह ‘बी’ को शीर्षस्थानमा उक्लिएको छ । राष्ट्रिय टोलीकी कप्तान अरुणा शाहीको कप्तानीमा तीन जना भारतीय खेलाडीसहित मैदानमा उत्रिएको गण्डकीलाई पुलिसले २५–१०, २५–०९ र २५–१६ ले पराजित गरेको हो । खेलमा नेपाल पुलिसकी उषा भण्डारी टाइगर अफ दी म्याच घोषित भइन् । जितसँगै पुलिसले ४ अंक पुर्‍याएको हो । पुलिसले पहिलो खेलमा एपीएफ क्लबसँग ३–१ ले पराजित हुँदै १ अंक जोडेको थियो । समूहमा एपीएफ २ अंकका साथ दोस्रो स्थानमा छ ।

पुरुषतर्फ तीन जना पाकिस्तानी खेलाडी सम्मिलित टिप टप हेल्प नेपाल स्पोर्ट्स क्लबले पहिलो जित दर्ता गरेको छ । मंगलबार त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटमा पराजित गर्दै हेल्प नेपालले २ अंक जोडेको छ । पहिलो दुई सेट २५–१८ र २५–२० ले जितेको हेल्प नेपालले तेस्रो सेटमा त्रिभुवन आर्मीले पुनरागमन गर्दा २३–२५ ले सुम्पियो । चौंथो सेटमा सम्हालिँदै हेल्प नेपालले २५–२० ले नतिजा आफ्नो पक्षमा पार्‍यो । खेलमा हेल्प नेपालका माझर अली टाइगर अफ दी म्याच बनेका छन् ।

प्रकाशित : माघ ३, २०८० ०७:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?