२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५९

मलासका दुःख : बारीको उत्पादन बेच्न २२ किलोमिटर आउजाउ

भवानी भट्ट

कञ्चनपुर — डडेलधुराको परशुराम नगरपालिका–७ मलासकी कलसी धामीको बारीमा थरिथरीका फलफूल पाकेका छन् । बारीमा रोपेको अम्रिसोको कुच्चो पनि बनाउँछिन् । फलफूलदेखि कुचो बिक्री गर्न भने उनले तीन/चार घण्टा हिँडेर कञ्चनपुर सदरमुकाम महेन्द्रनगर बजार पुग्नुपर्छ ।

मलासका दुःख : बारीको उत्पादन बेच्न २२ किलोमिटर आउजाउ

सातामा दुई/तीन पटक चुरे जंगलको बाटो भएर उनी अम्रिसोको कुचो, घिउ, मह, आरु, काफललगायत बोकेर महेन्द्रनगर बजार पुर्याउँछिन् । त्यसको आम्दानीले घरका लागि चाहिने नुनतेल, साबुन, दालचामललगायतका बस्तु किनेर लैजान्छिन् । यो सबै काम गरेर फर्किदा साँझ नै पर्छ । ‘झिसमिसेमै घरबाट हिँडेपछि मात्रै यहाँ नौ/दश बजे पुग्न सकिन्छ,’ धामीले भनिन्, ‘दिनमा सबै सामान बिक्री गरी घरका लागि किनमेल गरेर साँझ फर्किन्छौं ।’

धामीझैं मलास क्षेत्रका बासिन्दाले आफ्नो उत्पादन बिक्री गर्न महेन्द्रनगर पुग्नुपर्छ । फलफूल उत्पादन गर्नेहरु सातामा दुई/तीन पटक र घिउ तथा मह उत्पादन गर्नेहरु एक पटक महेन्द्रनगर पुग्छन् । परशुराम नगरपालिकामा पर्ने मलास क्षेत्रमा फाटफुट रुपमा सवारी साधन चल्ने गरेका छन् । तर तिनको भाडा निकै चर्को छ । चुरे क्षेत्रको बस्ती मलासबाट महेन्द्रनगरसम्म २०/२२ किलोमिटरको एकतर्फी ३ सय रुपैयाँ भाडा पर्छ । आफ्नो उत्पादन बेचेर हुने आम्दानीले दुईतर्फी ६ सय रुपैयाँ गाडीको भाडा व्यहोर्नै ठिक्क हुँदा उनीहरु प्रायः पैदलै आउजाउ गर्छन् । बर्खामा भने पैदल हिँड्न पनि मुस्किल हुने गरेको छ । ‘बर्खा नलागेसम्म बारीका फलफुल बेचेर नुनतेल, पिठोचामलको व्यवस्था गर्छौ,’ मलासका कृष्ण धामीले भने, ‘बर्खा लागेपछि त बाटोघाटो सबै बन्द हुन्छ ।’ अहिले व्यवस्थापन गर्न नसके बर्खामा निकै समस्या हुने उनले बताए । मलासमा खुर्सानी, अदुवा, काक्रा, फर्सी, अमिलोलगायत तरकारी र फलफूल उत्पादन हुन्छन् ।

‘मलासबाट डोकामा फलफुल तथा अन्य उत्पादन बोकेर लैजाने र त्यहि बिक्री गरेर घरायसी सामान ल्याउने पुरानै चलन हो,’ परशुराम नगरपालिका–७ का वडाध्यक्ष कर्णबहादुर धामीले भने, ‘गाउँमा सबै ठाउँमा सडकको ट्रयाक त खुलेको छ, तर स्तरोन्नति नहुँदा नियमित रुपमा सवारी साधन चल्न सकेका छैनन् ।’ उनका अनुसार फाटफुट चल्ने सवारी साधनको भाडा चर्को भएका कारण स्थानीय पैदलै आउजाउ गर्ने गरेका हुन् ।

मलासकै प्रेम कामीका छोरा जीवनको मुटु सम्बन्धी बिरामी छन् । उनको भारतको दिल्लीमा उपचार भइरहेको छ । छोराको रेखदेखका लागि प्रेम नियमित रुपमा दिल्ली आउजाउ गरिरहेका छन् । एक महिनादेखि दिल्लीमा उपचाररत छोराका लागि खर्चको व्यवस्थापन गर्न समेत निकै समस्या भएको छ । ‘बरामी हुँदा पनि यहि बाटो हो हामीले हिँड्ने हो,’ कामीले भने, ‘यो पनि बर्खामा बन्द हुन्छ ।’ उनी दिल्ली आउजाउ गर्न यहीँ बाटो हिँड्छन् । अध्यक्ष धामीका अनुसार वडा ७ मा पर्ने गैरीखान, कसान, मलास, लामीडाडा, बड्डीमलास लगायतका क्षेत्रमा सडकको ट्र्याक खुलेको छ । उक्त क्षेत्रमा एक/दुई जनाले व्यक्तिगत रुपमा गाडीहरु चलाउँछन् । त्यो पनि नियमित छैन । बर्खामा त सडक अवरुद्ध हुने भएकाले फाटफुट चल्ने सवारीसाधन पनि बन्द हुछन् ।

यहाँका बासिन्दालाई परशुराम नगरपालिकाको केन्द्र परशुराम पुग्नुभन्दा महेन्द्रनगर छोटो हुन्छ । मलासबाट परशुरामको दुरी २५ किलोमिटर छ । उक्त क्षेत्रमा पनि नियमित सवारी साधन चल्दैनन् । ‘बाटो स्तरोन्नति हुन सके आधा घण्टामा महेन्द्रनगर पुग्न सकिन्छ,’ अध्यक्ष धामीले भने, ‘हामीले जेनतेन ट्रयाक खोलेका छौं, त्यो पनि बर्खामा फेरि अवरुद्ध हुन्छ ।’

यहाँका वासिन्दाले कुटानी पिसानीका लागि पनि चुरे फेदीका भीमदत्त नगरपालिका र बेदकोट नगरपालिकाका वस्तीमा पुग्नु पर्छ । विद्युत् सेवा नहुँदा मलासमा डिजेलबाट चल्ने दुई वटा मिल छन् । तर कुटानी पिसानीको दर प्रतिकिलो १० रुपैयाँ छ । त्यहीँ भएर यहाँका बासिन्दाले कुटानी पिसानीका लागि पनि तराइमै पुग्नुपर्छ ।

प्रकाशित : असार १, २०८१ २२:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

मंसिरदेखि दूधको भुक्तानी नपाएपछि विरोधमा उत्रिएका किसानमाथि प्रहरीले धरपकड गरेकोबारे तपाईंको के टिप्पणी छ ?

x