कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

‘प्रणाली थप डिजिटाइजेसन भए धेरै रेमिट्यान्स भित्र्याउन सकिन्छ’

काठमाडौँ — रेमिट्यान्स आप्रवाहमा देखिएको सुधारलाई दिगो बनाउन र वैधानिक तवरले धेरै रेमिट्यान्स भित्र्याउन यसको प्रणालीलाई थप डिजिटाइजेसन गर्नुपर्ने सरोकारवालाहरुले औंल्याएका छन् । यो प्रक्रियामा सबै सरोकारवाला मिलेर अघि बढ्नु पर्नेमा उनीहरुको जोड थियो । 

‘प्रणाली थप डिजिटाइजेसन भए धेरै रेमिट्यान्स भित्र्याउन सकिन्छ’

नेपाल राष्ट्र बैंकको सहकार्यमा नेपाल मुद्रा विप्रेषक संघले आयोजना गरेको कार्यशालामा सरोकारवालाहरूले रेमिट्यान्सबाट अर्थतन्त्रमा परेको सकारात्मक प्रभावलाई ध्यानमा राखेर सेवा विस्तार तथा सुधारमा ध्यान केन्द्रित गर्नुपर्ने बताएका हुन् । कार्यशालामा कार्यवाहक गभर्नर निलम ढुगानाले तिम्सिनाले रेमिट्यान्स आप्रवाह बढिरहेको र यसले अर्थतन्त्र सुधारमा महत्वपूर्ण भूमिका खेलेको बताइन् । वैधानिक तवरले रेमिट्यान्स भित्र्याउन र रेमिट्यान्सलाई डिजिटाइजेसनमा लैजान सबैले पहल गर्नुपर्ने उनको भनाइ थियो । यो प्रक्रियामा राष्ट्र बैंक सरोकारवालाहरुसँग सहकार्य गर्न तयार रहेको पनि उनले बताइन् ।

‘रेमिट्यान्स क्षेत्रका प्रतिस्पर्धी संस्थाहरूले एकआपसमा स्वस्थ प्रतिस्पर्धा गर्नुपर्ने र अनुमतिपत्र समयमै नवीकरण गराएर कारोबार नियमिततापूर्वक गर्नुपर्छ,’ राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागका कार्यकारी निर्देशक तुलसीप्रसाद घिमिरेले भने, ‘रेमिट्यान्स क्षेत्रको विकास र सहजताका लागि राष्ट्र बैंक तयार छ ।’

रेमिट्यान्स कम्पनीहरुले नियामक निकायले निर्दिष्ट गरेका नियम कानुन र परिपत्रको परिधिभित्र रहेर काम गर्नुपर्ने राष्ट्र बैंक, गैरबैंक वित्तीय संस्था सुपरीवेक्षण विभागका कार्यकारी निर्देशक रामबहादुर मानन्धरले बताए ।

कार्यशालामा नेपाल मुद्रा विप्रेषक संघका अध्यक्ष चन्द्र टण्डनले रेमिट्यान्स कम्पनी र रेमिट्यान्सको काम गर्ने बैंक तथा वित्तीय संस्थाहरूले स्वस्थ प्रतिस्पर्धा गरेमा रेमिट्यान्स आप्रवाह बढ्ने र त्यसले विदेशी मुद्रा सञ्चिति बलियो बनाउन टेवा पुग्ने बताए ।

प्रकाशित : असार ५, २०८१ २१:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

हमाससँग युद्ध गरिरहेको इजरायलमा ८ सय नेपाली कामदार (केयर गिभर) पठाउने सरकारको तयारीबारे तपाईंको राय के छ ?

×