कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

‘हामीले मारेका माछा चल्ने, छोएको पानी अछुत हुने ?’ 

महेश केसी

रुकुम पश्चिम — मुसीकोट नगरपालिका–४ सोलाबाङस्थित सालघारीमा लागेको पारिलो घाममा बसेर जाल बुन्दैछन् मानबहादुर बादी । टिनको सानो टहरा छेउमा बसेर जालमा आँखा डुलाइरहेका उनी ५४ वर्षका भए । भन्छन्, ‘जालका पछि लाग्ने बेलामा म ८–९ वर्षको हुदोँ हुँ । अहिलेसम्म यसैले जीवन चलेको छ ।’

‘हामीले मारेका माछा चल्ने, छोएको पानी अछुत हुने ?’ 

सानीभेरी नदीभन्दा करिब १० किलोमिटर उत्तर–पूर्वमा रहेको सालघारीबाट दिनहुँ बगरतिर गएर माछा मार्छन् मनबहादुर । उनको परिवार धान्ने अनि जीवन चलाउने पेशा नै यही हो । ‘बा त झाक्री थिए रे, तर अरुहरुले चाही माछा मार्ने, मादल बनाउने काम गरेको भने दखेको हो । अनि मैले माछा मार्ने काम सिके,’ उनले भने ।

उमेरले ६० नपुगेका मनबहादुरकी जहान जगती भने ६२ वर्षकी भइन् । श्रीमान्‌को कमाईले घरखर्च चलेको उनको भनाई छ । ‘आजै हो घरमा बसेको, नत्र त बिहानै गैहाल्थे बगरतिर,’ उनी भन्छिन्, ‘अरु ईलम केही छैन, यिनकै हातपाउका भरमा जीवन चलेको छ ।’

आफू थाहा पाउने नहुँदै बा–आमा गुमाएको बताउँदै मानबहादुरले जाल हानेर माछा मार्न सजिलो नभएको बताए । ‘दिनदिनै गएर जाल हान्न काँ सजिलो छ र ! तैपनि यो पेट भर्न काम त गर्नैपर्छ,’ जाल बुनिरहेको हात बिसाउँदै उनले भने, ‘फागुनको मध्यदेखि असारसम्म त हो जालमा माछा लाग्ने । त्यसपछि त बर्खाको भेल अनि हिउँदको चिसोमा गाह्रो पर्छ ।’

वर्षका ५ महिना लगभग ४ किलोको जाल बाकेर सानीभेरीमा तल–माथि गरिरहने मनबहादुरले माछा लाग्दा त आम्दनी राम्रै हुने सुनाए । एक किलोको ७ सय रुपैयाँमा माछा बिक्री हुने भन्दै उनले दिनमा १ देखि २ किलोसम्म माछा मारेर महिनमा ३० हजारसम्म आम्दनी हुने सुनाए ।

‘काम पनि दाम पनि । यही भएर त जाल बोकेर माछा मार्न जान्छु,’ उनी थप्छन्, ‘तर सधैं माछा कहाँ पर्छन् र कहिलेकाँही त रित्तो हात पनि फर्किनुपर्छ । जे होस् जीन्दगी चलेको छ ।’

आफ्नो एउटी छोरी मात्रै भएको बताउँदै मनबहादुरले दोस्रो सन्तान जन्माउने प्रयास सफल नभएको बताए । अहिले छोरी–ज्वाई र सानी नातिनी पनि आफूहरुसँगै बसिरहेको पनि उनको भनाई छ ।

‘ज्वाइ दोकान गर्नुहुन्छ । छोरीले घरको काममा सघाउँछे,’ उनी भन्छन्, ‘हातपाउ चलुञ्जेल त जिन्दगी चलेकै छ । छोरी पनि ढिलोचाँडो आफ्नो घर गैजाले, अनि म पनि त बुढो भैलाउला । त्यसपछि पो जिन्दगी क्यारी चलाम्ला ।’ भविष्य सम्झिएर निरश अनुहार लगाउँदै उनी भन्छन्, ‘सकेका बेलासम्म काम गर्छु । पछि जो होला भगवान भरोसा ।’

सानीभेरीका माछालाई जालमा पारेर बजारमा ल्याईपुर्‍याएपछि भने किन्नका लागि तानातान हुने गरेको मनबहादुरको भनाई छ । तर एउटा कुरा भने उनलाई अचम्म लाग्छ, ‘हाम्ले छोएको पानी नखानेहरुले पनि मैले मारेको माछा भने खान्छन्,’ उनी फिस्स हाँस्दै भन्छन्, ‘पानी अनि अरु खानी ‘अछुत’ हुने तर माछा भने केही नहुने किन होला ?’

‘ठूलो जाति’ कहलिएर आफूहरुलाई थिचोमिचो गरेकै कारण आफूहरुको प्रगति हुन नसकेको मनबहादुरको भनाई छ । ‘अरुलाई सानो बनाएपछि आफू ठूलो हुन पाइन्छ भनेर हामीलाई अछुत मानेका हुन् । नत्र मान्छे सानो ठूलो त कामले हुने हैन र ?’ छोरी कामनाले बनाएर ल्याएको चियाको सुर्को लगाउँदै उनले प्रश्न गरे, ‘तपाईले म सँगै खाना पनि खान्छौं । के हुन्छ त हैन र ? जे छ त्यो सफा अनि ताजा नभए छुट्टै कुरा । नभए हाम्ले छुने बित्तिकै नखाने भन्ने किन होला ? अच्चम्म लाग्छ ।’

रोजीरोटीका लागि जसले जे जान्छ र जति सक्छ त्यही काम गर्नुपर्ने उनको धारणा छ । मनबहादुर आफूले माछा मारेर राम्रै पैसा कमाउने गरेकोमा गर्व गर्छन् । ‘हामी वादी जातीले मात्रै यो काम गर्नुपर्छ भनेर कहाँ लेखेको छ ?’ उनी प्रश्न गर्छन्, ‘हामीले यही जान्यौं यही गर्‍र्यौं । अनि अरुले पनि त सिकेर हामीजस्तै काम गर्छन् । के अब तिनी बादी भए त ?’

जाल हानेर माछा मार्ने काममा आफ्नो समुदायमा पछिल्लो पुस्ताको आकर्षण घट्दै गएको उनी बताउँछन् । उनका भतिजा (दाईका छोरा) शेरबहादुरले बेलाबेलामा साथ दिने गरेका छन् । ४० वर्षीय शेरबहादुरले माछा मार्नेबाहेक मादल बनाउने र ज्यालामजदुरीमा काम गर्छन् । दमका बिरामी शेरबहादुरका बुवाको १० दिनअघि मृत्यु भएको थियो ।

‘हाम्रा बा चाही झाक्री थे । मैले कान्छाबाको साथ लागेर माछा मार्न पनि सिके । कमाई हुने भएपछि यो काम पनि काम गर्छु र सँगै अरु,’ शेरबहादुरले भने । बुवाको निधनपछि आमा, श्रीमती र तीन सन्तानको जिम्मेवारीले काँधमा परेको र काम पाउन मुस्किल भैरहेको बताए ।

‘कहिले मादल बनाउँछु, घरी ज्यालादारी काम गर्छु अनि घरी माछा मार्न जान्छु । काम पाउन मस्किल छ । जीवन धान्नै पर्यो,’ उनले भने । यो गाउँमा बादी समुदायका तीन परिवार छन् । रोजगारको नियमित माध्यम नभएका उनीहरुमा शिक्षा र चेतनाको भने कमी छ ।

प्रकाशित : असार ५, २०८१ १९:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

हमाससँग युद्ध गरिरहेको इजरायलमा ८ सय नेपाली कामदार (केयर गिभर) पठाउने सरकारको तयारीबारे तपाईंको राय के छ ?

×