कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

११ महिनामा साढे चार हजारले घुमे शुक्लाफाँटा

भवानी भट्ट

कञ्चनपुर — शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा यस वर्ष साढे ४ हजारभन्दा बढीले भ्रमण गरेका छन् । निकुञ्ज प्रशासनका अनुसार गत आर्थिक वर्षको तुलनामा यस वर्ष एक हजार बढी पर्यटक शुक्लाफाँटा प्रवेश गरेका हुन् ।

११ महिनामा साढे चार हजारले घुमे शुक्लाफाँटा

निकुञ्जका संरक्षण अधिकृत मनोज ऐरका अनुसार जेठ मसान्तसम्म ४ हजार ५ सय पर्यटक निकुञ्ज प्रवेश गरेका छन् । जसमा ९९ सय सार्क साष्ट्रका र १ सय ३६ अन्य विदेशी छन् । गत आर्थिक वर्षमा ३ हजार ५ सय ५७ पर्यटक मात्रै प्रवेश गरेको तथ्यांक छ ।

कोरोना संक्रमणपछि आन्तरिक पर्यटकहरु बढे पनि विदेशी पर्यटकको संख्या भने अझै बढन सकेको छैन । प्रचारप्रसार सँगै भौतिक पूर्वाधारको अभावका कारण पर्यटक बढ्न नसकेको सरोकारवालाहरु बताउँछन् ।

‘प्रचार प्रसार पनि हुन सकेको छैन, भौतिक पूर्वाधारको पनि अभाव छ,’ शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको सेरोफेरोमा पर्यापर्यटन विकास विषयक अन्तरक्रियामा निकुञ्जको वरिष्ठ संरक्षण अधिकृत चन्द्रशेखर चौधरीले भने, ‘वन्यजन्तु बढेका छन्, पर्यटकले सहजै देख्न सक्छन्, अब पर्यटकलाई तान्न सक्नुपर्छ ।’ उनले निकुञ्जभित्र सफारीका लागि बाटोको स्तरोन्नतिको काम पनि भइरहेको बताए ।

फागुन ९ देखि सुदूरपश्चिम प्रदेश सरकारी निकुञ्ज सफारीका क्रममा गाडीमा लाग्ने राजश्वमा ५० प्रतिशत अनुदान दिएको थियो । निकुञ्ज सफारी गर्न गाडीको राजश्व २५ सय रहेको छ । ५० प्रतिशत अनुदान पाउदा १२ सय ५० मात्रै पर्दछ । यसले पनि पर्यटकको संख्या बढेको देखिन्छ । कोरोना संक्रमण अघिसम्म पनि निकुञ्जमा घुम्ने पर्यटकको संख्या बार्षिक रुपमा दुई/अढाइ हजार मात्रै हुन्थ्यो । तर त्यो संख्या अहिले बढेर दोब्बर भएको छ ।

आर्थिक वर्ष ०७८/०७९ मा निकुञ्ज घुम्ने पर्यटकको संख्या २७ सय मात्रै थियो । निकुञ्जसंगै जोडिएको नयाँ कटान स्थित रानाथारु वस्तीमा सामुदायिक होमस्टे पनि सञ्चालनमा छ । निकुञ्ज घुम्न आउने पर्यटकहरु रानाथारु होमस्टेमा बास बस्न सक्छन् । यहाँ रानाथारु संस्कृति संगै उनीहरुका परम्परागत परिकारहरु खान पाइन्छ । जसले पर्यटकलाई लोभ्याउँछ ।

सामुदायिक होमस्टे व्यवस्थापन समितिका अध्यक्ष परशुराम रानाका अनुसार यस वर्ष २५ सय हाराहारी पर्यटक होमस्टेमा बसेका छन् । उनीहरुमध्ये अधिकांस निकुञ्ज घुमेर बास बसेका हुन् । ८ वटा घरमा सञ्चालन गरिएको होमस्टेबाट प्रति परिवारले वर्षमा कम्तीमा डेढ लाखसम्म आम्दानी गरिरहेको व्यवस्थापन समितिले जनाएको छ ।

कोरोना संक्रमणका बेला रोकिएको हात्ती सफारी अझै सुरु हुन सकेको छैन । निकुञ्जले यसबारे पनि तयारी गरिरहेको जनाएको छ । कोरोना संक्रमण अघिसम्म पिपरैयास्थित हात्तीसार पोष्टबाट नियमित रुपमा हात्ती सफारी हुने गरेको थियो ।

प्रकाशित : असार ३, २०८१ २१:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

चार दर्जनबढी पालिकाले असार १० भित्रै बजेट ल्याउन नसक्नुको मुख्य कारण के होला ?

×