कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

बुटवलको नीति : रोजगार, शिक्षा र स्वास्थ्य प्राथमिकतामा

तिलोत्तमा — बुटवल उपमहानगरपालिकाले सीप तथा रोजगार, शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राख्दै नीति तथा कार्यक्रम ल्याएको छ ।

बुटवलको नीति : रोजगार, शिक्षा र स्वास्थ्य प्राथमिकतामा

बुधबार नगरसभाको १५औँ अधिवेशनमा नगर प्रमुख खेलराज पाण्डेयले बुटवललाई स्वच्छ, सफा, हरियालीयुक्त पर्यावरणको नगर बनाई विकास गर्ने बताए । उनले बुटवललाई सबै जातजातिले अपनत्व गर्न सक्ने साझा सांस्कृतिक शहरका रुपमा स्थापित गर्ने र पर्यटकीय विश्रामस्थल बनाउने गरी नीति अगाडि सारिएको बताए ।

उपमहानगरले प्राविधिक जनशक्ति उत्पादन गर्ने संस्था बुटवल टेक्निकल इस्टिच्युट आर्थिक संकटमा रहेकाले आवश्यक कानुन निर्माण गरी उपमहानगरपालिकाको मातहतमा ल्याउने, अटो भिलेजमा अटो इन्जिनियरिङ कलेज सञ्चालन गर्ने र आम्दामा पारा मेडिकल अध्ययनलाई थप व्यवस्थित बनाउने नीति अगाडि सारेको प्रमुख पाण्डेयले बताए ।

त्यस्तै, माध्यमिक तहका प्रधानाध्यापकहरुको हरेक ३–३ वर्षमा आन्तरिक सरुवा गर्ने, विद्यालयहरुलाई समान तहको स्तरमा पुर्‍याउन अन्तरविद्यालय अनुभव आदानप्रदान गर्ने, प्रधानाध्यापक र व्यवस्थापन समितिबीच नियमित छलफल सञ्चालन गर्ने नीति अगाडि सारेको छ ।

त्यस्तै, ‘छोरी पढाऔं समाज बनाऔं’ कार्यक्रम अन्तरगत बुटवल टेक्निकल इन्स्टिच्युटमा छात्रालाई निःशुल्क अध्ययनको व्यवस्था मिलाउने, असहाय र विपन्न वर्गलाई विद्यालयमा नियमित गर्न नगरप्रमुख शैक्षिक सुधार कोष स्थापना गर्ने नीति उल्लेख छ ।

शिक्षातर्फ विद्यालय खाजा कार्यक्रममा १० रुपैयां थप गरी २५ रुपैयां बनाउने, वद्यार्थीलाई पाठ्यसामग्री माथिको बोझ कम गर्न हरेक शुक्रबार अतिरिक्त क्रियाकलाप तथा सिर्जनशील कार्यक्रमका माध्यमबाट संस्कार, संस्कृति, सीप तथा नैतिक शिक्षा, खेलकुद, विज्ञान प्रविधि, पर्यटनजस्ता विषयप्रति आकर्षण बढाउने नीतिमा समेटिएको छ ।

बुटवलले २ वटा अस्पताल सञ्चालन गर्ने, हरेक ४–४ महिनामा जेष्ठ नागरिकको स्वास्थ्य परीक्षण शिविरका लागि बाआमासंग नगरप्रमुख कार्यक्रम सञ्चालन गर्ने, बुटवलले उपलब्ध गराउँदै आएको विपन्न वर्गलाई जटिल रोग उपचारमा जनही १७ हजार, एचआइभी संक्रमित बालबालिकालाई मासिक ३ हजार र सुत्केरी पोषण खर्चवापत् २ हजार रुपैयां दिने कार्यक्रमलाई निरन्तरता दिएको छ ।

सार्वजनिक निजी साझेदारीमा बुटवल ११ मा १ सय बेडको सुविधासम्पन्न अस्पताल सञ्चालन गर्ने नीति अगाडि सारेको पाण्डेयले बताए । उज्यालो, सफा, सुन्दर र हरियालीसहितको सुरक्षित र समुन्नत शहरको रुपमा विकास गर्ने, सूचना तथा सञ्चार प्रविधिको उच्चतम उपयोग गरी शहरलाई जीवन्त बनाउने, सेवाप्रवाहलाई जनउत्तरदायी, पारदर्शी र सुशासनयुक्त बनाउने र मौलिक भाषा, संस्कृति र सम्पदाको संरक्षण, सम्वर्द्धन र प्रवर्द्धन गर्ने बुटवलका मूल रणनीति भएको उनले जनाए ।

बुटवललाई मेगा सिटीका रुपमा विकास गर्न छिमेकी पालीकासंग समन्वय गर्ने, मुख्य राजमार्गक्षेत्र र चोकमा स–साना पार्क, विश्राम चौतारी, सार्वजनिक शौचालय, पिउने पानीको व्यवस्था थप गरी आवश्यकता अनुसार पार्किङ क्षेत्र तोक्ने, मुख्य राजमार्ग क्षेत्रमा अव्यवस्थित रुपमा सञ्चालन भएका ठेला, गाडी, साइकल, पोका, डोका र झोलाजस्ता साना खुद्रा व्यवसायीलाई करको दायरमा ल्याई रात्रीकालीन बजार क्षेत्रमा सञ्चालन गर्ने , लुम्बिनी बस टर्मिनललाई यात्रु सेवामैत्री बनाउन विद्युत, शुद्ध खानेपानी, व्यवस्थित खाजा घर, सफा शौचालय र स्नानघर, निःशुल्क वाईफाई, सुरक्षित विश्रामस्थल निर्माण गरी सुविधासम्पन्न बसपार्क बनाउने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

विद्यालयस्तरीय मेयर कप फुटबल प्रतियोगिता कार्यक्रमलाई नगरकै प्रमुख खेलका रुपमा सञ्चालन गर्ने र प्रशिक्षक, रेफ्री, अम्पायर उत्पादनका लागि विशेष कार्यक्रम सञ्चालन गर्ने, गृहिणी महिलालाई स्वरोजगार बनाउन नगरप्रमुख गृहिणी महिला रोजगार कार्यक्रम अन्तरगत उत्पादित वस्तुको बिक्री गर्न कोशेली घर स्थापना गर्ने र नगरको चिनोका रुपमा स्थापित गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

छाडा चौपाया व्यवस्थापनका लागि शिवनगरमा रहेको गौशालालाई थप व्यवस्थित गर्ने र नगरभित्र अर्को गौशाला स्थापना गर्ने तथा प्रदेश भरका छाडा चौपाया व्यवस्थापनका लागि गाई राष्ट्रिय निकुञ्ज स्थापनामा पहल गर्ने नीति तथा कार्यक्रममा भनिएको छ । बुटवल भ्रमण वर्ष घोषणा गरी ‘घुमौं बुटवल’ अभियान सञ्चालन गरी पर्यटक आगमनलाई वृद्धि गर्ने कार्यक्रम समेत अगाडि सारिएको छ ।

प्रकाशित : असार ५, २०८१ २०:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

हमाससँग युद्ध गरिरहेको इजरायलमा ८ सय नेपाली कामदार (केयर गिभर) पठाउने सरकारको तयारीबारे तपाईंको राय के छ ?

×