कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

७२ जिल्लामा फैलियो डेंगी, मुलुकभर १२ सयभन्दा बढी संक्रमित

– काठमाडौंमै १ सय ४१ जना बिरामी

काठमाडौँ — मुलुकभर डेंगी संक्रमितको संख्या १२ सय नाघेको छ । ईपीडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार डेंगी संक्रमितको संख्या पछिल्लो छ महिनाभित्रमा एक हजार २ सय ४१ पुगेको छ भने संक्रमण ७२ जिल्लामा फैलिएको छ । यो तथ्यांक २०२४ जनवरी १ देखि बुधबारसम्मको हो ।

७२ जिल्लामा फैलियो डेंगी, मुलुकभर १२ सयभन्दा बढी संक्रमित

महाशाखा अनुसार हिमाली जिल्लाहरू मुस्ताङ, डोल्पा, मुगु, हुम्ला र जुम्ला बाहेकका ७२ जिल्लामा डेंगीको संक्रमण पुष्टि भएको छ ।

सबैभन्दा बढी डेंगी फैलिएका १० जिल्लामा काठमाडौंमा एक सय ४१ जना, झापामा एक सय १२ जना, चिवतनमा ७५, मकवानपुरमा ५९, डोटीमा ४७, तनँहुमा ४६, सिन्धुपाल्चोकमा ४४, ओखलढुंगामा ४१, रुपन्देहीमा २८ र भक्तपुरमा २७ जना संक्रमित भेटिएका छन् । प्रादेशिक तथ्यांक हेर्दा सबैभन्दा बढी बागमतीमा ४ सय २८ जना, कोशीमा २ सय ८५, गण्डकीमा १ सय ८८, लुम्बिनीमा १ सय ४८, सुदुरपश्चिममा १ सय ४०, मधेश प्रदेशमा ३४ र कर्णालीमा १८ जनामा संक्रमण देखिएको छ ।

टेकुस्थित शुक्रराज ट्रफिकल तथा सरुवा रोग अस्पतालका सूचना अधिकारी पुरण गुरुङका अनुसार पछिल्ला दिनमा ज्वरोका विरामी बढेको र अस्पताल आएका तीन जनामा डेंगी संक्रमण पुष्टि भएको बताए । तीमध्ये दुई जनाको वार्डमा उपचार भइरहेको र आइसीयूमा भर्ना भएका अर्का एक संक्रमित डिस्चार्ज भइसकेको उनले जानकारी दिए । महाशाखाका अनुसार यस वर्ष डेंगीका कारण विरामीको ज्यान भने गएको छैन । ईडीसीडीका अनुसार सन् २०१९ मा महामारीको रुपमा फैलिएको डेंगीले १७ हजार ९ सय ९२ जना संक्रमित भएकामा ३ जनाको मृत्यू भएको थियो । त्यसैगरी, डेंगीकै कारण २०२२ मा ८८ जना र २०२३ मा २० जनाको ज्यान गएको थियो ।

डेंगी संक्रमण देखिएका विरामीमा उच्च ज्वरोसँगै बेस्सरी टाउको दुख्ने, आँखाको गेडी, हाडजोर्नी, मांसपेशी तथा ढाड दुख्ने, रिंगटा लाग्ने, वाकवाकी/वान्ता हुने लक्षण देखिन्छ । त्यस्तै स्वासप्रस्वासमा समस्या आउने, नाक वा गिजाबाट रगत बग्ने, रक्तश्राव हुने, बेहोस हुने जस्ता लक्षण पनि देखा पर्न सक्ने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । मनसुन सक्रिय भएसँगै डेंगी संक्रमणको जोखिम बढ्ने हुँदा नियन्त्रणका लागि सरोकारवाला निकायले सक्रियता देखाउनुपर्ने चिकित्सकहरु बताउँछन् । सरुवा रोग विषेशज्ञ डा.शेरबहादुर पुनका अनुसार अहिलेको जस्तै मनसुन सक्रिय भएमा केही सातामा लामखुट्टे बढ्ने र डेंगी संक्रमण दोब्बर हुने सम्भावना रहेको बताए । ‘समयमै एक्सनमा गएन भने धेरै जना संक्रमित हुने सम्भावना छ,’ उनले भने, ‘लामखुट्टे नियन्त्रणमा सबभन्दा बढी स्थानीय सरकार सक्रिय हुनुपर्छ । प्रदेश र संघले सहयोग गर्नुपर्छ ।’

– ‘डेंगी सार्ने एडिज जातको लामखुट्टेले प्रायः दिनमा टोक्छ, अझ घाम उदाएको २ घण्टा पछाडि र घाम अस्ताउनु भन्दा २ घण्टा अगाडि यो लामखुट्टे बढी सक्रिय हुने भएकाले उक्त समयमा थप सचेत हुनुपर्छ, यसले जमेको थोरै पानीमा पनि फूल पार्ने भएकाले सरसफाईमा र पानी जम्न नदिन सचेत हुनुपर्छ’

ईडीसीडीका निर्देशक डा.यदुचन्द्र घिमिरेले भने डेंगी नियन्त्रणका लागि प्रदेशको स्वास्थ्य मन्त्रालयसँग छलफल थालिसकेको बताए । ‘प्रत्येक प्रदेशमा डेंगी नियन्त्रणको गाइडलाइन पनि पठाइसकेका छौं,’ उनले भने, ‘संघ, प्रदेश र स्थानीय तहमा रहेको द्रुत कार्य समूह (र्‍यापिड रेसपोन्स टीम) लाई चुस्तदुरुस्त राख्ने तयारी भइसकेको छ ।’ उनका अनुसार प्रदेश र स्थानीय तहमा डेंगी नियन्त्रणका लागि बजेटको व्यवस्था छ । ‘हामीले विश्व स्वास्थ्य संगठनसँग माग गरिसकेको छौ,’ उनले भने, ‘रोग नियन्त्रण गर्न नागरिक पनि सचेत हुन जरुरी छ ।’

काठमाडौं महानगरपालिकाका सहायक प्रवक्ता दिपक अधिकारीले डेंगी नियन्त्रण गर्ने विषयमा बुधबार बैठक बसिसकेको बताए । ‘अब एक्सनमा जान्छौ,’ उनले भने । सरुवा रोग विषेशज्ञ डा.पुनका अनुसार डेंगी भाइरसबाट संक्रमित एडिज जातको लामखुट्टेको टोकाइबाट मानिसमा सर्दछ । ‘एडिज जातको लामखुट्टेले प्रायः दिनमा टोक्छ, अझ घाम उदाएको २ घण्टा पछी र घाम अस्ताउनु २ घण्टा अघी यो लामखुट्टे बढी सक्रिय हुने भएकाले उक्त समयमा थप सचेत हुनुपर्छ,’ उनले भने, ‘यो लामखुट्टेले सफा जमेको थोरै पानीमा पनि फूल पार्छ ।’ उनका अनुसार यस प्रकारको लामखुट्टले डब्बा, प्लाष्टिकका खोल, टायर, सिसी, अन्डाको बोक्रा, ड्रम, गमला, पानी ट्यांकी जस्ता पानी जम्ने भाडामा फुल पार्छ । ‘छाना, कौसी, बरन्डा, ढल, नाली आदिमा पनि फूल पार्ने भएकाले पानी जम्न नदिन र सरसफाईमा विषेश ध्यान दिनुपर्छ,’ उनले भने ।

प्रकाशित : असार ५, २०८१ २३:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

हमाससँग युद्ध गरिरहेको इजरायलमा ८ सय नेपाली कामदार (केयर गिभर) पठाउने सरकारको तयारीबारे तपाईंको राय के छ ?

×