कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ११४

आर्थिक संकट व्यहोरिरहेको बयालपाटा अस्पताललाई प्रदेशबाट पूँजीगत बजेटमात्रै

अछाम — निःशुल्क रुपमा विषेशज्ञ सेवा दिइरहेको बयालपाटा अस्पतालका लागि आगामी आर्थिक वर्ष पनि सुदूरपश्चिम प्रदेश सरकारले बजेट विनियोजन गरेन । चालु आवमा पूँजीगत तर्फ ५० लाख बजेट विनियोजन गरेको प्रदेश सरकारले आगामी आवका लागि पूँजीगततर्फ भने १ करोड बजेट छुट्याएको छ ।

आर्थिक संकट व्यहोरिरहेको बयालपाटा अस्पताललाई प्रदेशबाट पूँजीगत बजेटमात्रै

स्तरीय भौतिक संरचना र उपकरण भएको अस्पताल तलब भत्तालगायत संचालन खर्चको संकट व्यहोरिरहेको छ । सन् २००८ मा अमेरिकामा रहेको पोसिबल नामक अन्तराष्ट्रिय गैरसरकारी संस्थाको सहयोग र नेपालस्थित न्याय हेल्थ नाम गैरसरकारी संस्थाको समन्वयमा संचालन भएको अस्पतालमा सन् २०१८ बाट दाताको सहयोग आंशिक रुपमा घटेको छ ।

गत आवमा बयालपाटा अस्पतालका लागि अन्तिम समयमा ९ करोड रुपैयाँ अनुदान दिएको प्रदेश सरकारले चालु आवमा भने अहिलेसम्म बजेट व्यवस्थापन गरेको छैन ।

बयालपाटा अस्पतालको पूँजीगत खर्चका लागि प्रदेश सरकारबाट अनुदान उपलब्ध गराउन सकिए पनि चालु खर्चका लागि बजेट दिन नमिल्ने भन्दै कर्मचारीस्तरबाट पटकपटक असहयोग भएको अछाम १ (१) का सांसद मेघराज खड्काले बताए । ‘संस्थाले चलाएको अस्पतालमा अस्पतालका कर्मचारीको लागि तलब शीर्षकमा बजेट दिन मिल्दैन भनेर अर्थ सचिवले पटकपटक भनिरहेका छन् । कानुन विपरित बजेट दिएमा आफैलाई जोखिम हुनेभन्दै कर्मचारी मान्न तयार छैनन्,’ सांसद खड्काले भने,‘सुदूरपश्चिमका पहाडी जिल्लाको विशेषज्ञ सेवा लिने अस्पताल भएकाले सबै जिल्लाका सांसदलाई कार्यविधि बनाएर बजेट विनियोजन गर्न लगाउनु पर्यो भन्दै आएको छु । बाहिर सबै हुन्छ, हाम्रो समर्थन छ भन्छन्, भित्र गइसकेपछि कोही बोल्दैनन् ।’

अघिल्लो आर्थिक वर्षमा बयालपाटा अस्पताललाई दिइएको बजेट पनि बेरुजु आएकाले अहिले अस्पताललाई चालु खर्चका लागि बजेट उपलब्ध गराउन असम्भव जस्तै भइसकेको उनले बताए । अस्पताललाई प्रदेश सरकार मातहतमा ल्याउन धेरै चरणमा छलफल भए पनि निष्कर्षमा नपुगेको खड्काले बताए । ‘प्रदेश सरकार मातहतका अस्पताललाई ४/५ करोड दिने संस्थाले संचालन गरेको बयालपाटा अस्पताललाई किन ९ /१० करोड किन चाहिन्छ भनेर प्रश्न पनि उठेको छ,’ उनले भने,‘जसको सरकार, जोसुकै मन्त्री भए पनि अब बयालपाटा अस्पताललाई सहजै बजेट दिन कोही पनि तयार छैनन् । प्रदेश सरकार मातहत बयालपाटा अस्पताल ल्याउने र दिइरहेको सेवालाई गुणस्तर बनाउनका लागि नयाँ ढंगले जान सकेमात्र सहज हुने देखिन्छ ।’

चालु आवमा ५० लाख रुपैयाँ पूँजीगत बजेट विनियोजन गरेको प्रदेश सरकारले सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयमार्फत सामान खरिद गरेर पठाउने भने पनि अहिलेसम्म नआएको अस्पतालका मेडिकल निर्देशक डा. मन्दीप पाठकले बताए । ‘पूँजीगत बजेटमा समावेश गरेको भन्ने थाहा पाएपछि आवश्यक सामग्रीको लिष्ट बनाएर पठाएका थियौं । अहिले खरिद प्रक्रिया सकियो भन्ने सुनिएको छ,’ उनले भने, ‘५० शैय्याको अस्पतालमा नेपाल सरकारले आधारभूत स्वास्थ्य सेवाको रुपमा राखेका विषयलाई आधार मानेर बजेट माग गरेका हौं । उहाँहरु यो कुरा बुझ्न तयार हुनुहुन्न ।’

एक वर्षअघि बयालपाटा अस्पताललाई बजेट उपलब्ध गराउनका लागि सुदूरपश्चिम स्वास्थ्य निर्देशनालय प्रमुख, सामाजिक विकास मन्त्रालयलगायतका सरोकारवालाको समिति गठन उनले गरेको बताए । उनका अनुसार समितिले गठन आदेश मार्फत र कार्यविधि बनाएर अनुदान स्वरुप बजेट दिन मिल्ने दुई वटा विकल्पसहित प्रतिवेदन पेश गरेको थियो । गठन आदेशमार्फत जान संघीय सरकारले रोकेपछि कार्यविधि बनाएर अनुदानमार्फत जाने प्रक्रिया सुरु नभएको उनले बताए ।

विदेशी दाताबाट वार्षिक रुपमा आउने करिब ६० प्रतिशत अनुदान अझै चार वर्षसम्म आइरहने सम्झौता भएकाले त्यतिन्जेलसम्म सोही बजेट अनुसार सेवा दिनुपर्ने अवस्था आएको उनले बताए । ‘चालु आवमा एमडिजिपीसहित अन्य विषेशज्ञ जनशक्ति अस्पतालमा भित्र्याउने अस्पतालको योजना थियो । बजेट अभाव र अन्योलले सकिएन । अघिल्लो आवमा असार २५ गते प्रदेशको बजेट आएकाले चालु आवमा त्यही अनुसार व्यवस्थापन गर्यौं । अब भने गाह्रो अवस्था सिर्जना भएको छ,’ उनले भने,‘सरकारबाट सहयोग नहुने हो र दाताको बजेटले मात्रै अस्पताल चलाउनु पर्ने हो भने कर्मचारी कटौती गर्नुपर्ने हुन्छ । धेरै सेवा प्रभावित हुने अवस्था आउँदै छ ।’

सरकारीस्तरबाट आर्थिक सहयोग हुने अवस्था नदेखिएकाले अस्तालबाट अब कुन सेवा दिने, कुन नदिने र अब के गर्ने भन्ने बारे दुई महिनाभित्रै बोर्डको बैठकले टुंग्याउने उनले बताए ।

उनका अनुसार स्पताललले स्थापनाकालदेखि हालम्म १२ लाख भन्दा बढी बिरामीलाई निशुल्क विशेषज्ञ सेवा दिइसकेको छ । वार्षिक रुपमा एक लाख जना बढीलाई सेवा दिँदै आएको अस्पतालमा अछाम, बाजुरा र डोटीको लागि विषेशज्ञ सेवा दिने पहिलो अस्पतालको रुपमा रहेको र अस्पतालको सेवा प्रभावित हुँदा दुर्गमका नागरिक मारमा पर्ने उनले बताए ।

प्रदेश सरकारबाट अस्पताललाई सहयोग नभएपछि स्थानीय तहबाट बजेट विनियोजन गर्न आग्रह गर्न थालेको साँफेबगर नगरपालिकाका नगर प्रमुख एवं बयालपाटा अस्पताल संचालन समितिका अध्यक्ष राजेन्द्र कुवँरले बताए । ‘स्थानीय तहका पनि आफ्नै समस्या छन् । त्योभन्दा ठूलो समस्या अस्पतालको सेवा प्रभावित हुनु हो,’ उनले भने,‘दुर्गमका जनताले विषेशज्ञ सेवा पाएको अस्पतालमा संकट आएको बेला सबै स्थानीय तहले आर्थिक सहयोग गर्न समन्वय गरिरहेको छु ।’

फाइल तस्बिर ः बयालाटा अस्पताल ।

प्रकाशित : असार ३, २०८१ १९:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रधानमन्त्री र मन्त्रीहरूले आफ्नो सचिवालय गठन र सल्लाहकारहरू चयन गर्न थालेकाछन् । छनौटमा मुख्य रुपमा केलाई प्राथमिकता दिनुपर्छ ?

×