कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९५

छोरीका नाममा बैंक खाता

विजयनगर गाउँपालिकाद्वारा ३ वर्षमा १ सय ६३ छोरीका नाममा २४ लाख ४५ हजार रुपैयाँ जम्मा 
मनोज पौडेल

कपिलवस्तु — विजयनगर गाउँपालिका–६ बद्धोरकी रिना लोधकी एक वर्षीया छोरी शिवांगीको खातामा अहिले २१ हजार रुपैयाँ जम्मा भइसकेको छ । छोरीको खातामा यसै गरी बचत गर्न सके पढाइ र बिहेवारीका लागि सहज हुने आशले रिना खुसी छिन् ।

छोरीका नाममा बैंक खाता

‘घर खर्च जोगाएर ६ हजार बचाएकी थिएँ, गाउँपालिकाले १५ हजार जम्मा गरिदियो । अब छोरीका नाममा २१ हजार बचत भएको छ,’ उनले भनिन्, ‘साँझ–बिहानको चुलोचौकोमै व्यस्त हुँदा बचत गर्न सकिने अवस्था थिएन । गाउँपालिकाले सुरुआत गरिदिएपछि सानै रकम भए पनि थप्न सजिलो भयो ।’

विजयनगर–६ जुटपनियाकी सादिया खातुन १० महिनाकी छोरी हदिसुन निशाका नामका २० हजार बचत पुग्दा दंग छिन् । ‘ऋणगर्जो गरेर ५ हजार जम्मा गरें, गाउँपालिकाले १५ हजार जम्मा गरिदिएको छ,’ उनले भनिन्, ‘हामीजस्ता समस्या हुनेका लागि यो रकम बरदान नै हो । यसले छोरीलाई ठूलो कक्षामा पढाउन सहयोग पुग्ला ।’

विजयनगर गाउँपालिकाले छोरीप्रति सम्मान र विश्वास बढाउन ‘छोरी बचाऔं, छोरी पढाऔं’ कार्यक्रमअन्तर्गत पहिलो जन्मने सन्तान छोरीका नाममा बैंक खाता खोलेर १५ हजार जम्मा गरिरहेको हो । पालिकाले छोरीको नाममा १५ हजार राख्दा परिवारले पनि कम्तीमा ५ हजार रुपैयाँ थप गरेर जम्मा गर्नुपर्ने हुन्छ ।


अभिभावकले बीचमा पनि बचत थप्न सक्ने छन् । अभिभावक संरक्षक भई छोरीकै नाममा हुने उक्त खाताबाट १८ वर्षपछि मात्रै रकम झिक्न पाइनेछ । १८ वर्षपछि उक्त रकम करिब १ लाख पुग्ने गाउँपालिका अध्यक्ष गोपाल थापाले बताए । त्यसले छोरीको उच्च शिक्षा पढाउन र विहेबारीमा राम्रो सहयोग पुग्ने भएकाले पालिकाले ०७८ मा नीति कार्यक्रममार्फत बजेट विनियोजन गरेर सञ्चालन गरिरहेको उनले बताए ।

०७८/७९ मा ३३ जना, ०७९/८० मा ७४ र ०८/८१ मा ५६ जना छोरीका नाममा गाउँपालिकाले जनही १५ हजार रुपैयाँ दिएर खाता संचालन गरेको छ । यो कार्यक्रममार्फत ३ वर्षमा १ सय ६३ छोरीका नाममा २४ लाख ४५ हजार रुपैयाँ जम्मा गरेको गाउँपालिकाले जनाएको छ ।

यसका लागि गर्भवती महिलाले ४ पटक स्वास्थ्य परीक्षण गराउनुपर्ने, बर्थिङ सेन्टर वा सरकारी मान्यता प्राप्त संस्थामा सुत्केरी गराउनु पर्ने र जन्मेको ३५ दिनभित्र जन्मदर्ता बनाउनु पर्ने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शोभाराम रिजालले बताए । विवाह दर्तादेखि गर्भवती र सुत्केरी अवस्थाका सबै परीक्षणसहित बच्चालाई नियमित खोप पनि लगाएको हुनु पर्नेछ,’ रिजालले भने ।

छोरी भएको थाहा पाउँदा गर्भपतन गर्ने, सानै उमेरमा विवाह गराइदिने र जन्मदर्ता नगराउनेलगायतका धेरै समस्या समाधान गर्न यस्ता कार्यक्रम सहयोगी बन्दै गएको गाउँपालिका उपाध्यक्ष लक्ष्मी चौधरीले बताइन् ।


गर्भावस्थाका बेला स्वास्थ्य परीक्षण नगराउँदा गर्भवतीको अवस्था जटिल हुने, जन्मदर्ता नहुँदा महिलाको नागरिकता नबनाई दिने र महिला हिंसा न्यूनीकरणमा पनि सहयोग गरेकाले यो कार्यक्रम प्रभावकारी बनेको गाउँपालिका अध्यक्ष थापाले बताए ।

अहिले पालिकाभित्रका आधाजसो छोरी मात्र विद्यालयको पहुँचमा रहेको तथ्यांक छ । यो पालिकामा बालविवाहको समस्या पनि छ । विवाह र जन्मदर्ता, स्वास्थ्य संस्थामा बच्चा जन्माउने र नियमित चेकजाँच गराउने काम निकै कमले गरेको देखिएपछि यो कार्यक्रमले अवस्था सुधारोन्मुख रहेको उनले बताए ।

‘तत्कालै यसको नतिजा कम देखिए पनि बिस्तारै सकारात्मक प्रभाव पर्दै जानेछ,’ अध्यक्ष थापाले भने, ‘यसले लैंगिक विभेद र गलत संस्कार हटाउन पनि सहयोग पुगेको छ ।’

प्रकाशित : असार ५, २०८१ १९:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रधानमन्त्री र मन्त्रीहरूले आफ्नो सचिवालय गठन र सल्लाहकारहरू चयन गर्न थालेकाछन् । छनौटमा मुख्य रुपमा केलाई प्राथमिकता दिनुपर्छ ?

×