कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

सालको अवैध कटानबारे सत्यतथ्य सार्वजनिक भएन

मोहन शाही

डोटी — अवैध रुपमा सालका रुख तस्करी भएको घटनाबारे डिभिजन वन कार्यालय डोटीले महिना दिनसम्म सत्यतथ्य सार्वजनिक गर्न सकेको छैन । बडीकेदार गाउँपालिका–२ स्थित चन्द्रमुखी सामुदायिक वनबाट ५ ट्रक सालका गोलिया ओसारिरहेका बेला गत माघ ११ गते स्थानीयको बिरोध पछि रोकिएको थियो ।

सालको अवैध कटानबारे सत्यतथ्य सार्वजनिक भएन

ट्रकमा ओसारिरहेका गोलिया झारेर डिभिजन वन कार्यालयका प्रमुख रामचन्द्र कँडेलले घटनास्थलमै पुगेर ७ दिनभित्र सत्यतत्य सार्वजनिक गर्ने प्रतिवद्धता गरेका थिए ।

डिभिजन प्रमुख कँडेलले अवैध रुपमा उक्त क्षेत्रमा रुख काटिएको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको बताएका छन् । डिभिजन वनले सूचना अधिकारी लक्ष्मीराज जोशीको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो ।

संयोजक जोशीले अनुसन्धान पूरा गरिसके पनि सामुदायिक वनका तर्फबाट प्रतिनिधि उपस्थित नभएकाले प्रतिवेदन सार्वजनिक नगरिएको जानकारी दिए । उनले न्यून जनशक्तिका कारण घटनास्थलमै खटिएर छानबिनमा केही समय लागेको बताए । ‘निर्णय र मुचुल्कामा वनका पदाधिकारी प्रतिनिधिको रुपमा चाहिन्छ, अध्यक्ष जिल्लाबाहिर छन्,’ जोशीले भने, ‘यथाशीघ्र घटनाबारे सत्यतथ्य बाहिर सार्वजनिक गर्छौं ।’

छानबिन समितिमा रहेका एक सदस्यका अनुसार समितिले अवैध रुपमा रुख काटिएको फेला परेपछि आफू फस्ने डरले समुदायिक वनका अध्यक्ष सम्पर्कमा नआएको बताए । उक्त काठ तस्करीमा वनका कर्मचारीको समेत संलग्नता पुष्टि हुने भए पछि प्रतिवेदन सार्वजनिक गर्न डिभिजन वनले आनाकानी गर्दै आएको स्रोतको दाबी छ । विपीनगर ईलाका वन कार्यालय प्रमुख महेन्द्रसिंह धामीलाई डिभिजन वन कार्यालयले सरुवा गरी अन्यत्र पठाइसकेको छ ।

चन्द्रमुखी सामुदायिक वनलाई ०८० असारमा २ हजार ४ क्यूफिट सालको काठ बिक्रीका लागि छुटपुर्जी दिइएको थियो । सामुदायिक वनले उक्त काठ धनगढीस्थित कैलपाल काष्ठ सःमिललाई लिलामी प्रक्रियाबाट बिक्री गरेको थियो । २१ दिनभित्र काठ उठाउने अनुमति पाएको ठेकेदारले समयमै काठ उठाएको थिएन । पुस अन्तिम साता पुनः ७ दिनको म्याद राखेर काठ उठाउने माग गर्दै आवेदन आए पनि डिभिजन वनले इलाका कार्यालय वीपीनगरलाई काठको अवस्थाबारे जााचबुझ गरी प्रतिवेदन माग गरेको थियो ।

इलाका वनबाट प्रारम्भिक प्रतिवेदन आइसके पनि डिभिजनले काठ उठाउन आदेश नै नदिइ ठेकेदारले मनोमानी ५ वटा ट्रकमा काठ निकासी गर्ने क्रममा स्थानीयले बिरोध गरेका थिए । माघ ११ गते विभिन्न सामुदायिक वनमा अवैध रुपमा काटिएका रुख मिसावट गरेर तस्करी गरिरहेको अवस्थामा स्थानीयको विरोध गरेपछि ५ ट्रक सालका गोलिया रोकिएको थियो । स्थानीय केशव बमले वनका कर्मचारी, ठेकेदार र उपभोक्ता समितिका पदाधिकारी मिलेर अवैध रुपमा काठ तस्करी भइरहेको आरोप लगाएका छन् ।

बडीकेदार–२ स्थित इन्द्रकमल सामुदायिक वनबाट ३ र वडासदस्य तारा नामजालीको घरनजिकै चन्द्रमुखी सामुदायिक वनबाट एउटा रुख अवैध रुपमा काटिएको स्रोतले बताएको छ । वडासदस्य नामजालीले आफ्नो घरनजिकको रुख काटिएको स्विकारेकी छन् । ठेकेदारलाई वनमा आगो लागेर काठको परिमाण नपुगेपछि आफ्नो घरनजिकको रुख काटेर दिइएको उनले बताइन् ।

‘घरनजिक रहेकाले केही घरलाई क्षति गर्ने सम्भावना पनि रहेकाले प्रक्रिया मिल्छ भने काट्नुस् भनेकी थिए,’ उनले भनिन्, ‘तर अहिले अवैध रुपमा काटियो भन्ने सुन्दैछु, यथार्थ के हो ? थाहा भएन ।’

काठ ठेकेदार शेरबहादुर बोहराले राजश्व तिरिसकेको काठ डढेलोले नष्ट भएपछि आफुले समयमै काठ नउठाएको बताए । उनले आफूले राजश्व तिरे बराबरको काठ नपाएकोले उल्टै क्षतिपूर्ती पाउनुपर्ने माग गरेका छन् । घटनास्थलमा नियन्त्रणमा लिइएको भनिएको काठ आफूले राजश्व तिरेको २ हजार ४ क्यूफिट बराबरको परीमाणमा नरहेको उनको दाबी छ ।

प्रकाशित : फाल्गुन ७, २०८० १६:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×