अस्ताए 'खीरबाजे'

डीआर पन्त

धनगढी — हिउँले सेताम्य लेकमा उक्लिँदा उनी २२ वर्षका लक्का जवान थिए । हिउँ पन्छाउँदै साहुखर्कको लेकमा २५/३० किला गाडेर भैंसीको गोठ बनाए । आफू बस्ने झुपडी बनाए । हिउँ तताएर आफ्नो र भैंसीका लागि पानीको जोहो गर्न थाले ।

त्यतिबेला वर्षको ६ महिना हिउँ जम्ने यो लेकमा संघर्ष गर्दागर्दै उनले करोडौंको सम्पत्ति जोडे । छोराछोरी हुर्काए, पढाए । तराई–पहाड दुवै ठाउँमा घरजग्गा किने । व्यापार व्यवसाय बढाए । हिउँको लेकमा ६ दशक लामो संघर्ष गर्दागर्दै देशभरि ‘खिरबाजे’ को रुपमा चिनिए । उनै खिरबाजे अर्थात् धनबहादुर देउवा ८२ वर्षको उमेरमा सोमबार राति सदाका लागि अस्ताए ।

सुदूरपश्चिमका सात पहाडी जिल्ला जोड्ने एकमात्र भीमदत्त राजमार्गमा पर्ने साहुखर्क भएर यात्रा गर्दा धनबहादुरले पकाएको खिर नखाने सायदै होलान् । वास्तविक नाम धनबहादुर भए पनि गाउँमा शेरबहादुर नामले चिनिन्थे । उनी ०२४ सालमा साहुखर्क लेक उक्लिएका हुन् । त्यतिबेला सुनसान रहेको यो लेक हुँदै ०३२ सालमा पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग बन्यो । त्यसपछि भैंसी पालेर घिउको व्यापार गर्दैगर्दा ‘खिरबाजे’ नामले चिनिँदै गए । राजमार्गमा घिउको पसल थापेका उनले खिर पकाउन थाले । ०४० सालको दशकमा राजमार्गमा नियमित यातायात चल्न थालेपछि खिरबाजेको प्रसिद्धि बढ्यो । सर्वसाधारण यात्रुदेखि देशका प्रधानमन्त्री र विदेशी राजदूतसम्मले बाजेको खिरको स्वाद चाखे । तत्कालीन जर्मन राजदूत रुडिगर लेम्पसँग आएका एक विदेशी पत्रकारले उनको तस्बिरसहित ‘हिउँको खिर’ शीर्षकमा लेखेपछि उनी विदेशमा पनि प्रख्यात भए । पछिल्लो समय सामाजिक सञ्जालमा उनका बारे हेर्न सुन्ने धेरै सामग्री बनेका छन् ।

साहुखर्कका खीर बाजे

महाभारत पर्वतको सबैभन्दा उँचो लेकका विषयमा अध्ययन अनुसन्धान गर्नेका लागि उनै खिरबाजे स्रोतव्यक्ति बनेका थिए । उनले खिर बेचेर नाम र दाम मात्र कमाएनन् । कुनै समय विकट रहेको यो राजमार्गमा धेरै यात्रुको ज्यान जोगाएका छन् । राजमार्ग बनेपछि एक दशकसम्म धनगढीदेखि डडेलधुरा पुग्न दुई दिन लाग्थ्यो । ‘सुरुका दिनमा दुई गाडी तराईबाट र दुई पहाडबाट चल्थे,’ स्थानीय हरि महता भन्छन्, ‘कच्ची बाटो, बाढीपहिरो, हिउँ र प्राविधिक कारण बाटामै अलपत्र पर्ने धेरै यात्रुको उनले सेवा गरेका छन् ।’ राजमार्ग निर्माण हुँदा खिरबाजेले गरेको सहयोग सम्झने अहिले पनि धेरै व्यक्ति जीवित छन् । यो राजमार्ग निर्माणताका काम गरेका रामचन्द्र भट्ट खिरबाजे साहसी र समाजसेवी रहेको सुनाउँछन् । गैरादेखि भत्काँडा खण्ड निर्माणका बेला उनले मजदुरलाई सहयोग गरेको भट्ट सुनाउँछन् ।

खिरबाजेले व्यापार सुरु गरेको साहुखर्क अहिले बजार बनिसकेको छ । १०/१५ होटल–पसल रहेको साहुखर्क यो राजमार्गको व्यस्त बजार भएको छ । ‘आसपासका गाउँका उत्पादन बिक्री हुने केन्द्रका रूपमा साहुखर्क विकसित हुनुमा बाजेकै योगदान हो,’ स्थानीय व्यवसायी नारायण देउवा भन्छन्, ‘६ दशकसम्म यो लेक कुरेर उनले आफ्नै भूमिमा काम गरेर आर्थिक उपार्जन गर्न सकिन्छ भन्ने प्रेरणा दिएर गएका छन् ।’

कांग्रेस सभापति शेरबहादुर देउवाका सहपाठी रहेका उनी एकै नाम राशि रहेको ‘खिरबाजे’ ले चिनिने भएकाले आफ्नो वास्तविक नाम कमै बताउने गर्थे । गतवर्ष कान्तिपुरमा प्रकाशित उनको संघर्षको कथामा उनले भनेका थिए, ‘उसले (पूर्वप्रधानमन्त्री देउवाले) राजनीति गरेर नाम राखे, मैले यो लेकमा खिर बेचेर नाम पाए ।’ खिरबाजेको निधनको खबरले सामाजिक सञ्जालमा उनीप्रति श्रद्धाञ्जलीको ओइरो लागेको छ ।

प्रकाशित : जेष्ठ ९, २०८० १७:५९
प्रतिक्रिया
पठाउनुहोस्

बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

डम्बरसिं राई

खोटाङ — बालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा एक पुरुष पक्राउ परेका छन् । नाताले आफ्नै दाजुकी १२ वर्षीया छोरीलाई सोमबार राति करिब १२ बजेतिर सुतिरहेको अवस्थामा जबरजस्ती करणी गर्ने ३४ वर्षीय पुरुषलाई मंगलबार बिहान पाँच बजे घटनास्थलबाटै प्रहरीले पक्राउ गरेको हो । 

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका नेर्पा स्थायी घर भएका पीडकलाई पक्राउपछि पाँच दिनको म्याद थप गरी अनुसन्धान बढाइएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी निरीक्षक बेनु कार्कीले बताए । बालिकाको जिल्ला अस्पतालमा उपचारपछि घर लैजाने तयारी भइरहेको कार्कीले बताए ।

प्रकाशित : जेष्ठ ९, २०८० १७:५८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×