कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

साहुखर्कका खीर बाजे

डीआर पन्त

डडेलधुरा — ४६ वर्षयता निरन्तर खीर बेचिरहेका खीर बाजे साहुखर्कको परिवर्तनको साक्षीमात्रै होइनन्; आफ्नै गाउँ ठाउँमा निरन्तर मेहनतले सफलता चुमेका प्रतिनिधि पात्र पनि हुन् ।

थोत्रो धोती, भोटो र त्यसबाहिर अस्कोट अनि हातमा चिलिम ।नजिकै चुल्हो; चुल्होमाथि डेक्चीमा मगमग बास्ना छोड्दै पाकिरहेको खीर घोटिरहेका यिनी हुन् ४६ वर्षदेखि निरन्तर खीर बेच्दै आएका साहुखर्कका ८२ वर्षीय धनबहादुर देउवा, जो धेरैका निम्ति खीरबाजेका रुपमा चिनिन्छन् ।

धनबहादुर र खीर एकअर्काका परिपुरकजस्ता लाग्छन् । २०२४ सालमा पहिलो पटक उनले हिउँ पर्ने यो लेकमा झुपडी बनाएर भैंसी पाल्न थालेका थिए । सुरुवाती वर्षहरूमा उनी घ्यु बनाएर बेच्थे । त्यसको आठ वर्षपछि २०३२ मा खर्कमा गाडी आइपुग्यो ।८२ वर्षीय खीर बाजे । तस्बिर : डीआर/कान्तिपुर

गोठमा २५/३० वटासम्म भैंसी पालेका धनले गाडीको आवातजावत सुरु भएपछि खीर पकाएर बेच्न थाले । उनले सुनाए, ‘साथीसंगीहरू मलाई पैसा कमाउन देश नगएर हिउँ पर्ने लेकमा के बसेको होला भन्थे । तर अहिले लाग्छ मैले जे गरे ठीक गरेको रहेछु ।’

खीर बाजेको सन्तुष्टि उनले आर्जन गरेको कमाइसँग मात्रै जोडिएको छैन । बरु डडेलधुरा आउनेहरू डडेलधुरा–धनगढी राजमार्गको हिउंँ पर्ने साहुखर्क पुगेर उनले पकाएको खीरको स्वाद चाखी छोड्छन् । काजु बदाम, किसमिस, नरिवल मिसाएर बनाएको दूधमा दाउराको चुल्होमा मन्द आचमा घन्टौं लगाएर पकाइएको स्वादिलो खीर स्वाद मानेर खान्छन अनि धनबहादुरलाई तारिफका केही शब्द खर्चेर जान्छन् ।

साहुखर्कको ५९ वर्ष लामो इतिहासका साक्षी बनेका धनबहादुर खीर बेचेरै सोचेजस्तो कमाइ गर्न सकेकोमा सन्तुष्ट देखिन्छन् । पहिलोपटक बुबासंँग भैंसी लिएर साहुखर्क पुग्दा उनले हिउँंले सेताम्मे भएको देखेका थिए । त्यसयता उनले साहुखर्कमा बसेर घाम-पानी सहँदै आएका छन् ।

‘शायद २०/२२ वर्षको थिएँ हुँला,' बाजेले भने, ‘यसरी सडक बन्ला, मोटर आउला, यो लेक यस्तो होला भन्ने कल्पना पनि गरेको थिइनँ ।’ उनका अनुसार सुनसान लेकमा चितुवा, लेकाली भालुजस्ता वन्यजन्तु हरेक दिन देखिन्थ्यो । उनले सुनाए, ‘मृग, जरायो र स्यालको त कुरै नगरौं । कस्तो लेक हो, अहिले कस्तो भयो । बाँचेपछि धेरै कुरा देख्न पाइन्छ भन्थे हो रैछ ।’

हिजोआज साहुखर्क हुँदै अघि बढ्ने प्राय: सबै यात्रुको पहिलो रोजाइ हुन्छ उनको खीर । उनले सुनाए, ‘यो रोडमा आउने जो कोहीले पनि मेरो पसलको खीर नखाएको कमै होलान् ।’

सडक कालोपत्रे हुंँदा उनलाई संशय थियो, अब व्यापार चल्दैन कि ! भन्ने तर उनको अनुमान ठिक उल्टो भयो । झन् बढी ग्राहकहरू उनले पकाएको खीरको स्वाद चाख्न आइपुगे । ४६ वर्षयता निरन्तर खीर बेचेर उनले कति कमाए त्यसको हिसाब उनले राखेका छैनन् । तर धनबहादुर आफूले खीर बेचेरै तराईमा जग्गा जोडेको, साहुखर्कमै दुईवटा पक्की घर बनाएको, सामान बोक्ने गाडी किनेको देखि छोराछोरीको पढाइ खर्च सबै धानेको विवरणहरू सुनाए ।

सफलताको यो कथाले मात्रै धनबहादुरको मन खुसी छैन । यो बेखुसीमा बुढेसकालको पुत्रशोक बेहोर्नुपरेको कथा मिसिन्छ । केही वर्षअघि जेठो छोरा मोहनको मृत्यु भएपछि उनी शिथिल हुंँदै गएका छन् । ‘पुरानो जोश र जांँगर मर्दै गएको छ,’ उनले छोरालाई सम्झँदै भने, ‘जति सकेँ, गरेँ; अब कति गर्नु ?’ शोकका कारण गल्न थालेका धनबहादुरले हिजोआज आफ्नो व्यवसाय कान्छो छोरालाई हस्तान्तरण गर्दै गएका छन् ।

खीर व्यापारको आजको दिनसम्म आइपुग्दा उनले अनेकन तीतामिठा अनुभवहरू संगालेका छन् । दैनिक पच्चिस किलो चामलको खीर बेचेको अनुभवदेखि बाटो बिग्रेर हप्तौं गाडी नआउँदा पकाएको खीर भैंसीलाई खुवाउनु पर्दाको तीतो अनुभवसम्म उनीसँग छन् । साहुखर्कमा बारम्बार चितुवा र भालुबाट आमनेसामने भएको अनुभवदेखि व्यापार सप्रँदै गएर भ्याइनभ्याइ भएको अनुभवसम्म उनले संगालेका छन् । खर्क पूरै हिउँले ढाकिँदा दाउराको दु:खदेखि हिमपातको कहर सहँदै खीर पकाएकोसम्मको सम्झना उनको मनमा छन् ।

हिजोआज उनी औसतमा दैनिक ४० लिटर दूधको खीर बनाएर बेच्ने खीरबाजेले सुरुवाती बर्षहरुमा ३ रुपैयाँ प्रतिप्लेट खीर बेच्थे । ‘दूध १ रुपैयाँमा एक लिटर पाउँथ्यो,’ उनले विगत सम्झिएर भने, ‘अहिले दूध पनि ७० रुपैयाँ प्रतिलिटर भएको छ । मेरो खीर पनि ७० रुपैयाँ प्रतिप्लेट भएको छ ।’

प्रधानमन्त्री शेरबहादुर देउवासँगै स्कुल पढेका खीरबाजले सुनाए, 'उनी प्रधानमन्त्री भए । म खीर बाजे ।'

प्रकाशित : आश्विन १९, २०७९ ११:१९
प्रतिक्रिया
पठाउनुहोस्

माछामा भारतकै भर

वर्षभरि झन्डै ३२ हजार मेट्रिक टन माछा आवश्यक पर्ने सुदूरपश्चिममा जम्मा ८ हजार मेट्रिक टन मात्र उत्पादन
डीआर पन्त

धनगढी — मासुजन्य खाद्यपदार्थमा सस्तो र गरिव परिवारको भान्छामा सहज पहुँच भएको माछा आवश्यकता भन्दा झन्डै ४ गुणा बढी भारतीय बजारवाट सुदूरपश्चिममा आयात हुने गरेको छ । उत्पादनको प्रशस्त सम्भावना भए पनि भारतबाट दैनिकजसो ७५ क्विन्टल माछा भित्रिने गरेको मत्स्य विकास केन्द्र कैलालीले जनाएको छ ।

कैलाली र कञ्चनपुरका विभिन्न नाकाबाट भित्रिने माछा भारतको आन्ध्र प्रदेश, तमिलनाडुजस्ता समुद्र भएका क्षेत्रबाट बढी आउने गरेको छ । ‘वार्षिक ८ हजार मेट्रिक टन माछा सुदूरपश्चिममा बर्सेनि उत्पादन हुने गरेको छ,’ मत्स्य विकास केन्द्र कैलालीका निमित्त प्रमुख सूर्य शाहीले भने, ‘दैनिक ७५ क्विन्टल भारतबाट र सय क्विन्टल सुदूरपश्चिमभित्रै उत्पादन भएर बजारमा आउने गरेको छ ।’ स्थापना भएको ४७ वर्षपछि मत्स्य विकास केन्द्र कैलालीले सुदूरपश्चिम प्रदेशलाई माछामा आत्मनिर्भर बनाउन सकेको छैन । ११ वटा केन्द्रमध्ये कैलालीको गेटामा रहेको प्रदेशको एक मात्र माछाका भुरा उत्पादन र प्राविधिक सहयोग गर्ने केन्द्रको निरन्तर प्रयासले पनि माछामा सुदूरपश्चिम अझै पनि आत्मनिर्भर बन्न सकेको छैन ।

वर्षभरि झन्डै ३२ हजार मेट्रिक टन माछा आवश्यक पर्ने सुदूरपश्चिममा जम्मा ८ हजार मेट्रिक टन मात्र उत्पादन भइरहेकाले माछा आयातमा ठूलो धनराशि भारत पुग्ने गरेको पनि शाहले बताए । सरकारले माछा उत्पादन वृद्धि, नयांँ जातका माछाका भुरा उत्पादन, माछा कृषकहरूलाइ आवश्यक तालिम , औषधि उपचार र प्राविधिक सहयोगका लागि कैलालीको गेटामा मत्स्य विकास केन्द्र स्थापना गरे पनि अहिलेसम्म प्रदेश माछामा आत्मनिर्भर हुन सकेको छैन ।

उनका अनुसार प्रतिव्यक्ति १० किलो प्रतिमहिनाका दरले माछा उत्पादन हुने हो भने मात्र आत्मनिर्भर हुन सक्छ । अहिले सुदूरपश्चिममा प्रतिव्यक्ति अढाई किलो माछा मात्र उत्पादन भइरहेको छ । २० बिघा जग्गामा ४४ वटा माछा पोखरी निर्माण गरी नयांँ जातका माछाका भुरा उत्पादन गर्ने, माछाका विषयमा नयांँ अनुसन्धान गर्ने र माछा पालन गर्ने कृषकहरूलाई आवश्यक प्राविधिक सहयोग गर्ने काम केन्द्रले गरिरहेको छ ।

सेती, महाकाली, कर्णाली र बुढीगंगाजस्ता ठूलाठूला नदी भएको सुदूरपश्चिम प्रदेश माछामा आत्मनिर्भर हुन नसक्नु सरकारी नीति त्रुटिपूर्ण रहेको कृषकहरूको गुनासो छ । ‘अधिकांश नेपालीको भान्सामा पाक्ने माछा उत्पादनमा सरकारले उचित ध्यान दिन सकेको छैन,’ माछा व्यवसायी धनीराम चौधरीले भने, ‘भारतबाट सहज रूपमा आयात हुने भएपछि यसप्रति सरकार मात्र होइन, सरोकारवाला निकायले पनि त्यति ध्यान दिन सकेको देखिएको छैन ।’ प्रदेशलाई लक्षित गरी स्थापना भएको एक मात्र मत्स्य विकास केन्द्रको भूमिका पनि सीमित रहेको उनले गुनासो गरेका छन् । माछा व्यवसायी महेन्द्र खड्का पनि केन्द्रको भूमिका कैलाली र कञ्चनपुरमा मात्र सीमित रहेको बताउंँछन् । सरकारी निकायले सामान्य चासो नराख्दा पहाडी जिल्लाहरूमा समेत भारतका समुद्री क्षेत्रका राज्यबाट माछा पुग्ने गरेको उनले सुनाए ।

सरकारले कृषि क्षेत्रमा लगानी गर्न बैंकहरूलाई दिएको निर्देशन पनि पालना हुने गरेको देखिएको छैन । माछा उत्पादन गर्ने कृषकहरूले वित्तीय संस्थाहरूबाट ऋणसमेत पाउन सकेका छैनन् ।

यति हुंँदाहुँदै पनि मत्स्य विकास केन्द्र कैलालीको प्रयासले हरेक वर्ष ५ प्रतिशतले माछा उत्पादनमा वृद्धि हुन थालेको छ । केन्द्रका अनुसार हरेक वर्ष १५ देखि २० हेक्टर क्षेत्रफलमा माछा उत्पादन वृद्धि हुन थालेको हो । केन्द्रका प्रमुख शाहीका अनुसार माछा ढुवानी, पोखरी निर्माण र भुरा उत्पादनमा सरकारी अनुदानमा वृद्धि भइरहेको छ । यही अनुपातमा माछा उत्पादन हुने हो भने आगामी १० वर्षमा माछामा सुदूरपश्चिम आत्मनिर्भर हुन सक्ने शाहीले भनाइ छ ।

प्रकाशित : आश्विन १२, २०७९ ०८:३५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×