सुदूरपश्चिम प्रदेशसभाको बैठक ४ बजेसम्मका लागि सर्‍यो, नाउपाका सांसद काठमाडौैंमै- सुदूरपश्चिम - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सुदूरपश्चिम प्रदेशसभाको बैठक ४ बजेसम्मका लागि सर्‍यो, नाउपाका सांसद काठमाडौैंमै

कान्तिपुर संवाददाता

काठमाडौँ — सुदूरपश्चिम प्रदेश सभाको बैठक दिउँसो ४ बजेसम्मका लागि सरेको छ। मुख्यमन्त्रीले विश्वासको मत लिनका लागि बिहीबार १ बजेका लागि बैठक बोलाइएको थियो । तर नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत दिने निश्चय अझै नगरेकाले बैठकको समय सारिएको हो ।

नागरिक उन्मुक्ति पार्टीका ७ जना सांसद काठमाडौंमा छन् । मुख्यमन्त्री राजेन्द्रसिंह रावलले विश्वासको मत लिने आज अन्तिम दिन हो । नागरिक उन्मुक्ति पार्टीका सांसदले मत नदिए रावल नेतृत्वको सरकार ढल्छ । नागरिक उन्मुक्तिले आफ्ना नेता रेशम चौधरीको रिहाइ वा रिहाइको लिखित प्रतिबद्धता नगर्दासम्म विश्वासको मत नदिने अडान राखिरहेको छ ।

५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा माओवादीका ११, एमालेका १०, नाउपाका ७ र राप्रपाका १ जना सांसद छन् । नाउपाले विश्वासको मत नदिएको अवस्थामा सरकारलाई बहुमत (२७) पुग्दैन ।

नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले आफूहरूको माग पूरा नभएसम्म सरकारलाई विश्वासको मत नदिने अडान कायम रहेको बताइन् । उनले केही समयअगाडि सामाजिक सञ्जालमा सुदूरपश्चिमका ७ सांसदसहितको तस्बिरसमेत सामाजिक सञ्जालमा राखेकी छिन् ।

सुदूरपश्चिमका सांसद खुशीराम चौधरीले समेत आफूहरू पुरानै अडानमा रहेको र विश्वासको मत पाउने/नपाउने कुरा सरकारको हातमा रहेको बताए ।

सम्बन्धित समाचार

प्रकाशित : माघ २६, २०७९ १२:३२
प्रतिक्रिया
पठाउनुहोस्

रेमिट्यान्स कम्पनीलाई हरेक तीन दिनमा विवरण पठाउन राष्ट्र बैंकको निर्देशन

कान्तिपुर संवाददाता

काठमाडौँ — वित्तीय लगायत रेमिट्यान्स कम्पनीका सम्पूर्ण गतिविधि सम्बन्धी विवरण बुझाउन राष्ट्र बैंकले समयसीमा तोकेको छ । राष्ट्र बैंकको गैर बैंक सुपरीवेक्षण विभागले परिपत्र जारी गरी रेमिट्यान्स कम्पनीहरुलाई यस्तो निर्देशन दिएको हो । नेपाल राष्ट्र बैंक विप्रेषण विनियमावली ०७९ को व्यवस्था बमोजिम कम्पनीका गतिविधि सम्बन्धी विवरण पठाउन राष्ट्र बैंकले तीन दिनदेखि १५ दिनसम्मको समयसीमा तोकेको छ । यसअघि विवरण बुझाउनकै लागि यस्तो समयसीमा तोकिएको थिएन ।

नयाँ व्यवस्था अनुसार अब रेमिट्यान्स कम्पनीहरुले दैनिक विवरण हरेक ३ दिनमा, मासिक विवरण महिना सकिएको सात दिनभित्र, त्रैमासिक र वार्षिक विवरणका लागि अवधि सकिएको १५ दिन भित्र तोकिएको विवरण राष्ट्र बैंक समक्ष बुझाइसक्नु पर्नेछ ।

रेमिट्यान्स कम्पनी आफैले वा सब–एजेन्ट तथा सब–रिप्रिजेन्टेटिभहरु मार्फत गरेको इनवार्ड रेमिट्यान्सको भुक्तानी विवरण अंग्रेजी महिना अनुसार मासिक रुपमा पठाउनु पर्छ । तर, कम्पनीले यस्तो मासिक विवरण महिना सकिएको सात दिनभित्र राष्ट्र बैंकमा बुझाउनु पर्ने व्यवस्था परिपत्रमा छ । रेमिट्यान्स कम्पनीहरुले अब कारबाही गरेका सब एजेन्ट तथा सब रिप्रिजेन्टेटिभहरुको विवरण पनि राष्ट्र बैंकलाई बुझाउनु पर्ने छ । यसका लागि अंग्रेजी महिना अनुसार नै मासिक विवरण बुझाउनु पर्ने निर्देशनमा उल्लेख छ । यस्तो विवरणका लागि कम्पनीहरूले अंग्रेजी महिना सकिएको एक साताको समय पाएका छन् । राष्ट्र बैंकले कम्पनीको सञ्चालक समितिको वार्षिक विवरण १५ दिनभित्र र हेरफेर भएमा ७ दिन विवरण पठाउन कम्पनीहरुलाई निर्देशन दिएको छ ।

प्रकाशित : माघ २६, २०७९ १२:२९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×