कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

जुम्लामा नुन लिन वडाको सिफारिस अनिवार्य 

डीबी बुढा

जुम्ला — जुम्लामा अनुदानको नुन लिनको लागि वडाको सिफारिस अनिवार्य गरिएको छ । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको कार्यालय जुम्लाले खाद्य गोदाममा नुनको अभाव हुन थालेपछि वडाको सिफारिसमा प्रति घरपरिवार तीन केजी नुन दिने व्यवस्था गरेको हो ।

जुम्लामा नुन लिन वडाको सिफारिस अनिवार्य 

असार ९ देखि २१ गतेसम्म अनुदानको नुन बाँडेको थियो । शिक्षक, कर्मचारी र अपागंता भएका व्यक्तिहरुलाई दुई केजी नुन दिने व्यवस्था गरिएको छ भने विवाह, मृत्यु र घर निर्माणको लागि १० केजीसम्म नुन उपलब्ध गराउने गरेको साल्ट ट्रेडिङ कर्पोरेशनको कार्यालय जुम्लाका प्रमुख नगेन्द्रबहादुर थापाले जानकारी दिए ।

उनका अनुसार नुन लिन विवाह दर्ता, मृत्यु दर्ता, घर निर्माणको लागि वन कार्यालयले दिएको सक्कल पुर्जी र फोटोकपी अनिवार्य बुझाउनुपर्ने हुन्छ । उनले डिपोमा नुन कम भएकोले तोकिएको परिणाम भन्दा बढी उपलब्ध गराउन सकिने अवस्था नरहेको बताए । कार्यालयले नुन वितरण भइरहेको समयमा मदिरा सेवन गरेर होहल्ला गरेको र लागूपदार्थ सेवन गरेको भेटिएको खण्डमा नियमानुसार कारबाही गर्ने चेतावनी समेत दिएको छ ।

पछिल्लो समयमा जनप्रतिनिधिहरुले एकमुष्ट नुन उठाउने गरेकोले वडाध्यक्षले तोकेको व्यक्तिले मात्र नुन उठाउन पाउने व्यवस्था रहेको प्रमुख थापाले बताए । उनले भने, ‘नुनको अभाव छ । जथाभावी दिन मिल्ने अवस्था छैन ।’

जुम्लाबाट माग गरे अनुसारको कोटा केन्द्रीय कार्यालयले नपठाउँदा वर्षेनि नुनको अभाव झेल्नुपर्ने बाध्यता रहेको छ । अहिले डिपोमा १ सय ९८ क्वीन्टल मात्र नुन छ । 'यो जुम्लाको लागि प्रयाप्त होइन,' कार्यालय प्रमुख थापाले भने, ‘नयाँ नुन नआउँदासम्म पुरानो नुनले पुग्ने देखिदैन । ’ नयाँ नुन खरिदको लागि बिहीबार मात्रै टेण्डर ओपन भएको छ । सात हजार क्वीन्टल नुन माग गरेकोमा ४ हजार क्वीन्टल नुनको कोटा मात्र स्वीकृत भएको छ । गत वर्ष भन्दा ९८ क्वीन्टल नुन यो वर्ष कम आउने भएको कार्यालयले जनाएको छ ।

एक पटक नुन बाँड्दा मात्र एक हजार क्वीन्टल नुन चाहिन्छ । 'अहिले गोदाममा एक सय ९८ क्वीन्टल मात्र छ,' कार्यालय प्रमुख थापाले भने, ‘यसले त पुग्ने देखिदैन् । एक वर्षमा ७ हजार क्वीन्टल नुन आवश्यक छ । ’

अहिले सिंजाको नराकोट र कनकासुन्दरीको गोरुचौरमा रहेको डिपोहरु खाली नै छन् । गत वर्ष नुनको अभाव हुँदा भीडभाड निकै भयो । अहिले वडाका जनप्रतिनिधिहरुले जनसंख्याका आधारमा नुन लैजान्छन्,' कार्यालय प्रमुख थापाले भने,‘तर नुन नहुँदा माग गरे अनुसारको नुन समयमै पुर्‍याउन सकिएको छैन ।’ सरकारले अनुदानको नुनको लागि बजेट नछुट्याउँदा वर्षेनि कर्णालीमा नुनको अभाव हुने गरेको छ ।

अनुदानको नुन आवश्यक परेको समयमा नपाउनु निकै दुःखद भएको सिंजाका खड्कबहादुर रोकायाले बताए । उनले भने, ‘यो सरकारी नुन हामीले कहिल्यै पाउँदैनौं । गाउँमा ल्याइएको नुन समेत पहुँचवालाहरुको हातमा पर्ने गरेको छ ।’

उनले जाने बित्तिकै डिपोमा नुन पाउने र दुरदराजका नागरिकले पनि आयोडिन नुन सहजै रुपमा पाउने व्यवस्था गर्नुपर्नेमा जोड दिए ।

प्रकाशित : श्रावण ३, २०८१ १९:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×