२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

खडेरीले रोपाइँ प्रभावित

मुगु — लामो खडेरीले खोलामा पानीको सतह झन् घट्दै जाँदा स्थानीयलाई रोपाइँ गर्न मुस्किल भइरहेको छ । सोरु गाउँपालिकाको तलिलिब्रु, माथिलिब्रु, भादगाउँ, खातीकुयानी, स्यालधारालगायत बस्तीमा यतिबेला धान रोपाइँको चटारो छ । गत असोजपछि खासै वर्षा नहुँदा खडेरीले खोलानालाको पानी सुक्दै गएको छ ।

खडेरीले रोपाइँ प्रभावित

पानी नपरेर हिउँदमा जलेका बनपाखा उराठलाग्दा देखिने गरेका छन् । स्थानीयले लिब्रुखोलाको पानी भागबण्डा गरेर धान रोप्ने प्रयास गरिरहेका छन् ।

‘खडेरीले पाखो जमिनमा अन्नबाली लगाउने अवस्था छैन । खोलामा भएको थोरै पानीले धान रोप्न सुरु गरेका छौं,’ लिब्रु भादगाउँका अर्जुन बुढाले भने, ‘खोलाको पानी पनि सुक्न थालिसक्यो, वर्षा भएन भने रोपेको धान खेतमै सुक्ने अवस्था छ ।’

फोतु गाउँका २५ परिवारले भने अझै रोपाइँ सुरु गर्न सकेका छैनन् । यसपाली फोतुखोलाको झनै सुकेका र अन्य कुनै स्रोत नहुँदा धान रोप्न नपाएको स्थानीय बताउँछन् ।

पर्याप्त आकाशे पानी नपर्दासम्म रोपाइँ गर्न नसकिने फोतुका अकबहादुर बुढाले सुनाए । ‘हिउँदमा हिउँ पनि आएन अहिलेसम्म वर्षा नहुँदा खडेरीले बनपाखा, खेतबारी जलिसके पानीका मुहान सुकिसके,’ उनले भने ।

नेरखोलाको पानी भाग लगाएर सोरु गाउँपालिका-५ नेरमा भने धमाधम रोपाइँ भइरहेको छ । गाउँका २ सय ५० परिवारले सहजै रोपाइँ गरिरहेको नेरका लछुमान बुढाले बताए । सोरुका सिप, पुरुमुरु, जीमा, कालै, तारापानी, गिलाहा, कच्चे, धैनकोट बस्तीमा रोपाइँको चटारो भइरहेको उनले सुनाए ।

खोलाको पानी भागबण्डा गरी स्थानीयले धान रोप्न थालेका हुन् । खडेरीले पानी सुक्दा दैनिक दुई/चार खेतमात्र रोप्नु पर्ने अवस्था आएको गिलाहा नुवाकोटका बीरबहादुर बमले सुनाए । २०७९ असोज महिनाको भीषण बर्षासँगै आएको बाढीले पुरिएको ज्यूलो पन्छाउँदै सोरुको कच्चे बासिन्दाले दैनिक तीन/चार परिवार गरी धान रोप्न थालेका छन् ।


बेर्नाको बीउ बढेर रोप्न खोलाको पानी सुक्दै गएपछि धैनकोट, जिमा र पुरुमुरु गाउँका कृषकलाई धान रोप्न गाह्रो भएको छ । यो वर्ष धान पाखोबारीमा कोदो, कागनो बाली लगाउन पनि कठिन भइसकेको जिमाका कर्णप्रसाद भट्टले बताए ।

खेतबारी सुक्खा भएपछि भीई गाउँका २ सय ७७ परिवार असार लाग्दा समेत अन्नबाली लगाउनबाट नपाउँदा निरास छन् । ‘गाउँमा पिउने पानी छैन कसरी बाली लगाउने ?,’ भीईका खडकराज बुढाले भने, ‘बारी सुकेर जोत्न नसकिने भएको छ । बर्षा नहुँदासम्म बालीनाली लगाउन सकिने स्थिति छैन ।’

पिउने पानीको लागि रातभर जाग्रम बस्नु पर्ने अवस्था आएको भीईका दलबीर कार्कीले बताए । छायाँनाथ रारा नगरपालिकाको कार्कीबाडा, चैन, तलितुम गाउँका स्थानीयले खोलाको केही पनि दैनिकजसो एक दुई खेत रोप्न थालेका छन् ।

खोलाको पानी सुक्दै गएपछि रोपाइँ छोडेर पाखो धान लगाउने सुरुमा छन् । यो वर्ष खडेरी देखिएको र किसानलाई कोदो, धान, कागुनो लगाउन गाह्रो अवस्था निम्तिएको सोरु गाउँपालिकाका अध्यक्ष धर्मबहादुर शाहीले बताए ।

प्रकाशित : असार १, २०८१ १७:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

नौ वर्षमा १४ अर्ब खर्च भइसक्दा पनि चुरेमा विनाश बढीरहेको छ र मधेसमा खानेपानीको स्रोत समेत सुक्न थालेका छन् । यसबारे तपाईंको टिप्पणी के छ ?

x