कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९५

बजेटबारे बास्कोटाको टिप्पणी : जसका हातमा डाडुपन्यू, त्यतैतिर छलाङ

काठमाडौँ — सत्तारुढ एमालेका सांसद गोकुल बास्कोटाले मन्त्रीहरूले आफ्नै निर्वाचन क्षेत्रमा बजेट राखेको भन्दै आपत्ति जनाएका छन् । जो मन्त्री भयो त्यतैतिर बजेट हानेको तर बजेट प्रस्तुत गर्दा अर्थमन्त्री वर्षमान पुनले भने छलाङ हान्ने दाबी गरेको स्मरण गरे । 

बजेटबारे बास्कोटाको टिप्पणी : जसका हातमा डाडुपन्यू, त्यतैतिर छलाङ

प्रतिनिधिसभाको मंगलबारको बैठकमा गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, राष्ट्रिय योजना आयोग, उपराष्ट्रपतिको कार्यालय र राष्ट्रपतिको कार्यालयको विनियोजित बजेट माथिको छलफलमा भाग लिने क्रममा सांसद बास्कोटाले भने, 'मैले सोचेको थिए सरकार फेरियो, सत्ता समीकरणको प्रतिबद्धतापत्र फेरियो । अर्थमन्त्रीले भन्नुभयो छलाङ हानिन्छ, शीर्षक हेर्छु, विनियोजित रकम हेर्छु छलाङ जसका हातमा डाडूपन्यू त्यतैतिर हानिया छ ।'

बजेटको लक्ष्य के हो भन्ने स्पष्ट नदेखिएको सांसद बास्कोटाको भनाइ थियो । 'के यो १५ औँ पञ्चवर्षीय योजनाका अधुरा काम सम्पन्न गर्नेगरी आयो ? १६ औँ पञ्चवर्षीय योजनाको लक्ष्य भेदन गर्ने आयो ? एसडीजी लक्ष्यका कुरा पूरा गर्नेगरी आयो ?,' उनका प्रश्न थिए ।

५ लाखका योजना राखिएको भन्दै सांसद बास्कोटाले आपत्ति जनाएका थिए । कनिका छरेजस्तो बजेट विनियोजनले कहीं पनि नपुगिने उनको भनाइ थियो । 'हामी ढाँटको मानो पचाउनका निम्ति यहाँ बोल्नुपर्ने ?,' उनले भने, 'जति आएको छ, आएको मध्ये बहुवर्षीय हो कि होइन, त्यो पनि हेर्नुपर्ने छ । एउटा पार्टीको जस्तो छ । सत्ता समीकरणको छनक छैन, तितो भए तितो होस् सत्य यै हो ।'

बजेट निर्माण गर्नुपूर्व मन्त्रीहरूसँग भेट्न नपाइएको पनि सांसद बास्कोटाको भनाइ थियो । उनले भने, 'भेट्न पाइएन, कुरा गर्न पाइएन । बजेट त लक हुन्छ नै मन्त्रालयको ढोका पनि लक भए, दुस्मनै त होइन होला हामी पनि ।'

परराष्ट्र मामिलामा स्वाधिनताका कुरा गर्ने तर बजेटमा भने त्यो नदेखिएको सांसद बास्कोटाले बताए । उनले भने, 'परराष्ट्रमा पनि कुरा छ । राष्ट्रिय स्वाधिनताका कुरा गर्छौं तर विदेशी दूतावासले २० करोड दिन्छ भनेपछि के को राष्ट्रिय स्वाधिनता ? मान्छे त्यहीं लाइन लाग्छन्, स्थानीय निकाय ।'

बजेटबारे गम्भीर भएर सोच्न बास्कोटाले आग्रह गरेका थिए । 'यसरी उत्पादन, उत्पादकत्व बृद्धि सँगसँगै रोजगारी अभिवृद्धि, व्यापार घाटा सन्तुलन, समृद्ध राष्ट्र सुखी नेपाली निर्माणको राष्ट्रिय आकांक्षा पूरा हुने हो कि होइन ? एकचोटि गम्भीरतापूर्वक सोच्न आग्रह गर्न चाहन्छु,' उनले सोधे, 'फेरि एकपटक भन्छु सच्याउनुहुन्छ कि सच्याउनुहुन्न ।' बजेट सच्याउनुपर्ने सांसद बास्कोटाको भनाइ थियो ।

भौतिक पूर्वाधार मन्त्रालयको विषयमा बास्कोटाले भने, 'भौतिक पूर्वाधार मन्त्रालयमा बजेट कम राख्ने ? १५ सय योजना राख्न पर्ने पैसाचाहिँ १५२ अर्ब दिएर कसरी हुन्छ ? ३०० अर्ब दिनुपर्‍यो नि !'

प्रकाशित : असार ४, २०८१ १९:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

उपसभामुख इन्दिरा रानाले डेढ वर्षअघि पदीय मर्यादाविपरीत अमेरिकी राजदूतावासलाई पत्र लेखेको सार्वजनिक भएको छ । यसबारे तपाईंको धारणा के छ ?

×