कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ११४

स्ट्रबेरी जुम्लामै प्रतिकिलो पाँच सय रुपैयाँ

डीबी बुढा

जुम्ला — बारीमा काफल जस्तो देखिने स्ट्रबेरीको विरुवा रोप्दा अधिकांश जुम्लाबासीले पत्याएनन् । केहीले काफलको विरुवा बारीमा रोप्न थालेको भन्दै हाँसोमा उडाए त केहीले बारीमा काफल रोपेर साध्य नहुने भन्दै गिज्याउन थाले । तर जुम्ला हिमा गाउँपालिका-३ का ४३ वर्षीय गोपाल रोकायाले भने बारीमा स्ट्रेबरी रोपेर छाडे ।

स्ट्रबेरी जुम्लामै प्रतिकिलो पाँच सय रुपैयाँ

अहिले उनी वार्षिक एक लाख रुपैयाँ स्ट्रेबरी बेचेर कमाइरहेका छन् । अधिकांश उनको समय स्ट्रेबरीको रेखदेखमै बित्छ ।

स्ट्रेबरी फल्ने बित्तिकै बारीमै पुगेर उपभोक्ताहरुले लैजाने गरेका छन् । गोपालले भने,‘जुम्ला बजारमा पनि स्ट्रेबरीको अत्यधिक माग छ । सरकारी कार्यालयहरु पनि अर्डर गरेर लैजाने गर्छन् ।’ पछिल्लो समयमा गोपाल स्ट्रेबरी खेतीको विस्तारमा जुटेका छन् ।

जतिधेरै बिरुवा रोप्न सक्यो । उति धेरै फल उत्पादन भएर बजारमा लैजान सकिने भएकोले उनको ध्यान स्ट्रेबरीको खेती बिस्तारमै केन्द्रित छ । उनले सदरमुकाम खलंगामा ८ सय वर्गमिटर जग्गा लिजमा लिएर स्ट्रेबरीका एक लाख बिरुवा रोपेका छन् ।

गत साता मात्रै उनले स्ट्रेबरी बेचेर ९० हजार आम्दानी गरेका थिए । 'जति धेरै बिरुवा लगाउन सक्यो, उति धेरै आम्दानी हुने गरेको छ,' उनले भने, ‘प्रतिकेजी ५ सय रुपैयाँमा बेच्दा पनि सबैलाई पुर्‍याउन सकिएको छैन ।'

पहिलो वर्ष उनले १२ बिरुवा रोपेर स्ट्रेबरीको खेती परीक्षण गरेका थिए । सबै बिरुवाले फल दिएपछि उनले एकै पटक एक लाख बिरुवा रोपेको उनले बताए । अन्य खेती भन्दा स्ट्रेबरीमा भविष्य देखेका गोपालले दर्जन बढी कामदार राखेका छन् । उनले भने, ‘केही गर्न नसक्नेहरुका लागि स्ट्रेबरी खेती निकै उपयुक्त देखिएको छ ।’ उनले स्ट्रेबरीको बिरुवा उत्पादन गरेर जिल्लाभर बिस्तार गर्ने योजना बनाएको समेत सुनाए ।

रोकायाले जुम्लामै व्यावसायिक हिसाबले पहिलोपटक स्ट्रबेरी खेती सुरु गरेका थिए । ‘जुम्लाको हावापानी स्ट्रबेरीको खेतीका लागि सुहाउँदो छ,' उनले भने,‘सुरुवातमा म एक्लै थिएँ । अहिले त धेरै किसानहरुले स्ट्रेबरी खेती सुरु गर्नुभएको छ ।'

माटोलाई २–३ पटक खनजोत गरी डल्ला फुटाई झारपात हटाई खुकुलो र बुरबुराउदो बनाउनुपर्ने उनको अनुभव छ । जराहरू माटोको सतहमै फैलिने हुँदा माटोमा प्रशस्त चिस्यान रहनु पर्दछ र झारपात बढ्न दिनुहुँदैन । ‘सुरुका वर्षमा अलिअलि फलेको थियो । प्रचार–प्रसार मात्रै भयो । पछिल्लो वर्ष देखि क्रमश ६० देखि एक लाख रुपैयाँसम्म आम्दानी हुने गरेको छ,' उनले भने । यो वर्ष एक सय ८० केजी स्ट्रेबरी फलेको थियो । स्ट्रबेरी बालबालिकाको रोजाइमा पर्ने गरेको छ । बिरुवा साना र लहरा जाने किसिमका भएकाले जग्गाको छनौटमा ध्यान दिनुपर्ने उनले बताए ।

उनले कामको शिलशिलामा खाडीमुलुकहरुमा जानु भन्दा गाउँमा स्ट्रेबरी खेती गरेर अघि बढ्दा आनन्द आउने बताए । ‘विदेशमा गएपनि दुःख गर्नुपर्छ । विदेशमा जति दुःख गर्दा यहीं पनि पैसा कमाउन सकिन्छ ।

सरकारले उत्पादित स्ट्रबेरीको बजारीकरण र प्याकेजिङका लागि सहुलितपूर्ण यन्त्र खरिद गर्न र बाहिर निकासी गर्न सहज बनाइदिएमा किसानले राम्रो आम्दानी लिन सक्ने उनको भनाइ छ ।

प्रकाशित : असार ३, २०८१ १६:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रधानमन्त्री र मन्त्रीहरूले आफ्नो सचिवालय गठन र सल्लाहकारहरू चयन गर्न थालेकाछन् । छनौटमा मुख्य रुपमा केलाई प्राथमिकता दिनुपर्छ ?

×