कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

लामो खडेरीले मकैबाली सुक्न थाले

सल्यान — लामो समयदेखि परेको खडेरी कारण किसानले पाखो र खेतमा लगाएको मकै बाली सुक्न थालेको छ।  लामो समय पानी नपरेको र सिँचाइको पनि सुविधा नभएकोले मकैबाली सुक्न थालेको हो । 

लामो खडेरीले मकैबाली सुक्न थाले

मकैबाली धमाधम सुक्न थालेपछि जिल्लाभरीका किसान प्रभावित भएका छन् । मुख्यबालीको रुपमा प्रत्येक वर्ष खेत तथा पाखोबारीमा मकैबाली लगाउँदै आएका किसानले वर्षमा चार महिना यही उत्पादनबाट गुजारा चलाउँदै आएका थिए । भर्खर चार/छ पाते भएका र घोगा लाग्न थालेका बेला मकै सुक्न थालेपछि किसानहरु चिन्तित भएका छन् ।

लामो खडेरीले आफ्नो ७ रोपनी जग्गामा लगाएको मकैबाली सुकेको कालिमाटी गाउँपालिका-५ बालुवाका किसान नन्दराम घर्तीले बताए । चैतमा लगाएको बसन्ते मकै पनि घोगामा दाना नलाग्दै सुकेको उनले जानकारी गराए । ‘गत वर्ष मकै बिक्री गरेर ५० हजार भन्दा बढी आम्दानी गरेको थिएँ । त्यसबाट ६ महिना घर खर्च टरेको थियो । यसपाली त गाह्रो छ,’ उनले भने, ‘मकैबाली सुकेकाले घर खर्च समेत चलाउन समस्या हुने देखिएको छ’ ।

मकैबाली मात्र नभइ धानको ब्याड समेत सुक्न थालेका र ब्याड जोगाउन गाग्रीमा पानी बोकेर बिहान र बेलुकी चाहर्न बाध्य भएको उनको भनाइ छ ।

त्रिवेणी गाउँपालिका-१ काभ्राका प्रेमबहादुर खत्रीले आफ्नो मात्र नभई पुरै वडाबासीले पाखो र खेतमा लगाएका मकैबाली सुक्दै गएका बताए । केही दिन बर्षात नभए पाखो तथा खेतमा पुनः मकैबाली लगाउने अवस्था आउने उनले जानकारी गराए । ‘अत्यधिक गर्मी छ । खोलानाला, मुहान सबै सुकेका छन् । पानी पर्ने छाँटकाँट देखिएको छैन । बिना पानी कसरी बाँचुन् मकै?,’ उनले भने, ‘जेठको दोस्रो सातामा बर्सात भएपछि तत्काल पाखो जग्गामा मकै छरेको थिएँ । राम्रोसँग उम्रेर पाँच /छ पाते भइसकेको थियो । अहिले त मकैका बोट दैखिँदैनन्ल ।’

मकै सुक्ने मात्र नभइ मकैसँग लगाएका अन्य कोसेबाली पनि नउम्रिकएको शारदा नगरपालिका-६ सापमारा घर भएकी सावित्री बस्नेतले बताइन् । जेठको पहिलो तथा दोस्रो सातामा पानी परेपछि लगाएको तोरी, तरकारी समेत सबै सखाप भएका उनले जानकारी गराइन् । उनले भनिन्, ‘पाँच रोपनी जग्गामा मकै र तीन रोपनी जग्गामा हरियो सागको रुपमा बिक्री गर्न तोरी लगाएको थिएँ । अहिले सबै खत्तम भएका छन् ।’

शारदा नगरपालिका-९ का वर्ष ५० का मनविर रोकाले सिँचाइ भएको क्षेत्रमा मात्र मकै र धानका ब्याड बँचेका र अन्ततिर सबै सुकेर खत्तम भएको बताए । खडेरीका कारण तरकारीमा समेत ठूलो असर परेको उनले जानकारी गराए । ‘गत वर्ष यतिबेला आफ्नो सबै खेत मात्र नभइ छिमेकी सबैले खेतमा रोपाइँ गरिसकेका थिए । अहिले स्थानीय किसानले जोतेर त ठिक्क पारेका छन् तर त्यो भन्दा अरु केही गर्न सकेका छैनन्,’ उनले भने ।

लामो समयदेखि परेको खडेरीका कारण मुहान तथा खोला सुकेपछि सिँचाइको समस्याकै कारण किसानले लगाएको मकैबाली र धानको ब्याड सुक्न थालेको कृषि विकास कार्यालय सल्यानका सूचना अधिकारी ईश्वरी नारायण घर्तीले बताए ।

मकैका बोट सुकेपनि दुई/तीन दिन भित्रै बर्सात भएमा खासै असर नपर्ने उनले जानकारी गराए । उनका अनुसार उच्च गर्मी तथा लामो समयदेखि परेको खडेरीका कारण खाद्यबाली मात्र नभई तरकारी, दलहन बालीलाई पनि असर परेको छ भने रोपाइँ समेत प्रभावित भएको छ ।

जिल्लामा प्रत्येक वर्ष २० हजार हेक्टर बढी क्षेत्रफलमा किसानले मकै र ८ हजार हेक्टर क्षेत्रफलमा धान रोपाइँ गर्दै आएका उनको भनाइ छ ।

प्रकाशित : असार ३, २०८१ १३:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

चार दर्जनबढी पालिकाले असार १० भित्रै बजेट ल्याउन नसक्नुको मुख्य कारण के होला ?