कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९५

ताप्लेजुङमा पहिरो : नौ दिनमा ८१ घरका ३ सय ४२ विस्थापित

आनन्द गौतम

ताप्लेजुङ — मनसुनी वर्षा सुरु भएको जेठ २७ गतेपछि हिमाली जिल्ला ताप्लेजुङमा ८१ घरका ३ सय ८४ जना विस्थापित भएका छन् । यो अवधिमा पाँच जनाको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालयकाअनुसार ८४ वटा पशुचौपाय मरेका छन् भने चारवटा सवारी साधनमा क्षति पुगेको छ । 

ताप्लेजुङमा पहिरो : नौ दिनमा ८१ घरका ३ सय ४२ विस्थापित

पहिरोमा परी फक्ताङलुङ गाउँपालिका-२ खेजेनिमका जसमाया लिम्बू उनका दुई छोरी गंगा र जमुना गरी तीन महिला, रामवहादुर साम्रा र पाँचथर फिदिम नगरपालिका-१४ घरभएका सविन राई गरी दुई पुरुषको मृत्यु भएको छ ।

राईको विद्युत उत्पादन कम्पनीमा काम गर्नेक्रममा ताप्लेजुङकै याम्फुदिनमा मृत्यु भएको प्रहरी नायब उपरीक्षक रवी रावलले जानकारी दिए । पहिरोमा परी घाइते भएका खेजेनिमका युगेन साम्रा र उनका छोरी उपचारपछि घर फर्किएका छन् ।

पहिरोबाट सिरिजंगा, सिदिङ्वा, मिक्वाखोला र फक्ताङलुङ गाउँपालिकाका मानिसहरु विस्थापित भएका छन् । पहिरोले ८ वटा घरमा पूर्ण क्षति पुर्‍याएको रावल बताउँछन् । यी घरमा बस्ने १७ महिला र १८ पुरुष गरी ३५ जना पूर्ण विस्थापित भएको प्रहरी तथ्यांकमा उल्लेख छ । १८ वटा घर पहिरोको पूर्ण जोखिममा छन् । यी घरका ५२ महिला र ४२ पुरुष गरी ९४ जना विस्थापित भएको प्रहरीले जनाएको छ । ५५ वटा घर पहिरोको जोखिममा छन् ।

पशुचौपाय मध्ये सबैभन्दा बढी क्षती बाख्रा र खसीको भएको छ । खेजेनिमको एउटा बाख्रा फर्म नै रित्तिएको वडाध्यक्ष भुपेन्द्र चौलागाईले बताए । पहिरोले नौवटा गोठमा क्षति पुर्याएको छ । बाढी र पहिरोका कारण नौदिनमा दुई काठको पुल, एक झोलुङगेपुल, एक निर्माणाधीन झेलुङगेपुल र मान्छे हिँड्न सिमेण्टेड गरेर बनाएको एक गरी पाँच पुलमा क्षति पुगेको छ । सदरमुकाम फुङलिङवाट पूर्व, पश्चिम र उत्तरतर्फका छवटा सडक अवरुद्ध भएका छन् ।

तीमध्ये तीनवटा खुलाई सकिएको र तीनवटा खुलाउने प्रयास भइरहेको स्थानीय तहले जनाएका छन् । एउटा क्रसर, एउटा माइक्रो हाइड्रो, सिरिजंगा गाउँपालिका-५ मामांखेमा रहेको एउटा लिम्बू संग्रहालयमा क्षति पुगेको छ । गाउँमा ठूलो संख्यामा अलैचीं बालीमा क्षति पुगेको स्थानीयले बताएका छन् ।

प्रकाशित : असार ४, २०८१ १८:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

उपसभामुख इन्दिरा रानाले डेढ वर्षअघि पदीय मर्यादाविपरीत अमेरिकी राजदूतावासलाई पत्र लेखेको सार्वजनिक भएको छ । यसबारे तपाईंको धारणा के छ ?

×