कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९५

पालुङटारको नीति तथा कार्यक्रम : स्मार्ट सिटी कार्यान्वयनमा जोड, वनको बाँदर वनैमा

गोरखा — पालुङटार नगरपालिकाले स्मार्ट सिटीको अवधारणा कार्यान्वयनमा जोड दिने भएको छ । सोमबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै नगर प्रमुख विवश चिन्तनले नगरपालिका स्मार्ट सिटीको अवधारणा लागू भई विभिन्न कार्यक्रम अघि बढिसकेको हुँदा उक्त कार्यक्रमलाई तीव्रताका साथ कार्यान्वयन गर्नका लागि जोड दिने बताए ।

पालुङटारको नीति तथा कार्यक्रम : स्मार्ट सिटी कार्यान्वयनमा जोड, वनको बाँदर वनैमा

१५ औं नगरसभामार्फत सडकको दायाँबायाँ हरियाली प्रवर्द्धन गरी हरित सहरको रुपमा विकास गर्न जोड दिने पनि उनले बताए ।

नगर क्षेत्र भित्रको सडकको लगत कट्टागरी सार्वजनिक बनाउन सुरुआत गर्ने, नगरपालिकाको रिंगरोड बसपार्क र पालुङटार रंगशालालाई पूर्ण दिने, ज्येष्ठ नागरिक विश्राम घर तथा क्रमश: हरेक वडाका बढी आवतजावात हुने स्थलहरुमा सार्वजनिक शौचालय निर्माण गर्ने पनि नगरपालिकाले नीति तथा कार्यक्रममा समेटेको छ । ‘वनको बाँदर वनैमा’ भन्ने नारा साथ बाँदर, दुम्सी, मृगलगायत वन्यजन्तुको प्रकोपबाट बालीनालीलाई संरक्षण गर्न जनावरको अधिकारलाई मध्यनजर गरी प्राकृतिक उपाय अवलम्बन गरिने उनले बताए । बाँदरको प्रकोप बढी भएको स्थानमा सम्भाव्यताको आधारमा बाँदरले नष्ट नगर्ने किसिमका बाली खुर्सानी, अदुवा, बेसार, जौ, टिमुर, कटहर कागती खेतीका लागि प्रोत्साहन गर्ने पनि नीति तथा कार्यक्रममा समेटिएको छ । ‘जंगलमा फलफूलका बिरुवा रोप्ने कार्यलाई अभियानको रुपमा संचालन गरिने छ,’ उनले भने ।

त्यस्तै विद्यालय दिवा खाजा, आपपिपल हस्पिटलको क्यान्टिन, सुत्केरी पोषण कार्यक्रमलाई स्थानीय रैथाने बालीसँग जोडेर बजारीकणको व्यवस्था गरिने पनि समेटिएको छ । ३ वर्षभन्दा बढी बाँझो जग्गामा खेती गर्ने कृषकलाई प्रोत्साहन गर्ने, नगरपालिकाको पर्यटकीय विकासका लागि नगर पर्यटन क्षेत्र विकास समितिलाई पूर्णता दिने पनि चिन्तनले बताए । सोही समितिमार्फत नगर क्षेत्रभित्र रहेका लिगलिकोट, मिरकोट गढी (कोटगढी) तातोपानी लगायतका धार्मिक, सांस्कृतिक तथा पर्यटकीय स्थलहरुको संरक्षण, प्रवर्द्धन तथा प्रचारप्रसार हुने एकीकृत कार्यक्रम संचालनमा ल्याउने पनि नीति लिइएको छ ।

सामुदायिक विद्यालयमा आवश्यकताको आधारमा स्कुल बस संचालनको व्यवस्था मिलाउने, प्रत्येक विद्यालको खाली जमिनमा फूलबारी/बगैंचाको निर्माण गरी हराभरा बनाउने, विद्यार्थी संख्या धेरै भएका विद्यालयलाई आवासीय मेघा विद्यालयको रुपमा संचालन गर्ने प्रक्रिया अघि बढाउने, दिवा खाजा कार्यक्रमका लागि एक विद्यालय एक उत्पादन क्लब गठन गर्ने नीति पनि नगरपालिकाले लिएको छ ।

५० शय्यामा स्तरोउन्नति भएको आँपपिपल अस्पताल प्रदेश सरकारलाई विधिवत रुपमा हस्तान्तरण गर्ने प्रक्रिया अघि बढाइने, पालुङटार नगरपालिकाभित्र मृत्यु भएका मृतकको शव व्यवस्थापनका लागि नि:शुल्क शव वाहनको व्यवस्था गर्ने, छुवाछूत मुक्त नगरपालिका बनाउन विशेष योजना बनाउने, बालबालिकाको सुरक्षा योजना ‘बालबालिकाको जिम्मा अब पालिकाको’ भन्ने नीति पनि नगरपालिकाले लिएको छ ।

उत्पादन र उत्पादकत्व बढाउन प्रयोजनअनुसार भूमिको प्रयोग नर्गे गरी स्पष्ट कानुनी व्यवस्था गरी भूमिको वैज्ञानिक व्यवस्थापन गर्ने, सामुदायिक विद्यालयमा इन्टरनेट सेवा विस्तार गर्ने पनि नगर प्रमुख चिन्तनले बताए ।

पालुङटार नगरपालिकाको चालु आर्थिक वर्ष २०८०/०८१ को हालसम्मको वित्तीय प्रगति औसत ६८.३७ प्रतिशत रहेको छ । पुँजीगत खर्चतर्फ ६७.५२ र चालु खर्चतर्फ ६८.९५ प्रतिशत रहेको छ । आलु आर्थिक वर्षको अन्त्यसम्म ८१ प्रतिशत आर्थिक प्रगति हुने नगरपालिकाले अपेक्षा गरेको छ ।

प्रकाशित : असार ४, २०८१ १८:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रधानमन्त्री र मन्त्रीहरूले आफ्नो सचिवालय गठन र सल्लाहकारहरू चयन गर्न थालेकाछन् । छनौटमा मुख्य रुपमा केलाई प्राथमिकता दिनुपर्छ ?

×