२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

कपुरकोट गाउँपालिकाले पाँच शय्याको अस्पताल चलाउने 

विप्लव महर्जन

सल्यान — संघीय सरकारले प्रत्येक पालिकामा १० देखि १५ शय्याको आधारभूत अस्पताल संचालन गर्न बनाएको योजना प्रभावकारी हुन नसकेको बेला सल्यान कपुरकोट गाउँपालिकाले आफ्नै स्रोत र साधनबाट पाँच शय्याको आधारभूत अस्पताल संचालन गर्ने भएको छ । 

कपुरकोट गाउँपालिकाले पाँच शय्याको अस्पताल चलाउने 

सामान्य उपचारका लागि दाङ र अन्य जिल्ला जना बाध्य भएका पालिकावासीलाई लक्षित गरी पालिकाले पाँच शय्याको आधारभूत अस्पताल संचालन गर्ने निर्णय गरेको हो । पालिकावासी आधारभूत तथा स्वास्थ्य सेवाबाट बन्चित हुन नपरोस् र सामान्य उपचारका लागि बाहिर जानु पर्ने बाध्यता अन्त्यका मंसिरदेखि नै एक चिकित्सकसहितको अस्पताल संचालन गर्ने तयारी भइरहेको कपुरकोट गाउँपालिका अध्यक्ष दुर्गाबहादुर पुनले बताए । उनले संघीय सरकारले १५ शय्याको अस्पताल संचालन गर्ने भनेर बनाउन थालेको भवन अहिले अलपत्र परेकाले पालिकाले आफ्नै स्रोतमा अस्पताल संचालन गर्न लागेको जनाए । उनका अनुसार कपुरकोट गाउँपालिकाअन्तर्गत राप्ती राजमार्गमा हुने सडक दुर्घटना र अन्य आकस्मिक खालका बिरामीले नजिकै अस्पताल नहुँदा धेरैले ज्यान गुमाउँदै आएका छन् ।

अहिले भौतिक संरचना नभएकाले पालिका नजिकै रहेको वडा कार्यालय भवन र स्वास्थ्यचौकीको भवन प्रयोगमा अस्पताल संचालन गर्ने तयारीमा जुटेको उनले जानकारी गराए । उनले भने, ‘हामीले वडा कार्यालय अन्तै सार्दैछौं । स्वास्थ्यचौकीमा कार्यरत स्वास्थ्यकर्मी प्रयोग गर्छौं । अपुग भए थप गर्छौं । कोरोना महामारीका बेला खरिद गरेका केही उपकरण छन् । ती प्रयोग गर्छौं र केही प्रदेश तथा संघमा माग गरेका छौ ।’

प्रमुख प्रशासकीय अधिकृत भरतकुमार ओलीले स्वास्थ्यका विभिन्न कार्यक्रमका लागि आएको बजेटसमेत अस्पताल संचालन तथा सामग्री खरिदका लागि प्रयोग गरिने जनाए । ‘आधारभूत अस्पतालबाट सामान्य बिरामी जाँच, एक्स-रे तथा भिडियो एक्स-रे सेवा, ल्याव सेवा, प्रसूति सेवा, दुर्घटनामा गम्भीर घाइते भएकाको प्राथमिक उपचार गरिने छ,' उनले भने, 'अस्पतालमा आएका बिरामीले २४ सै घन्टा सेवा पाउन सक्नेछन् ।’

पालिकाले अस्पताल संचालन गर्ने भनेपछि अहिले पालिकावासी खुसी भएको स्थानीय धनविर रोकाले बताए ।

वडा नम्बर ५ गर्पाकी ४७ वर्षीया निर्मला पुनले अस्पताल संचालनका लागि आर्थिक सहयोग आवश्यक परे स्थानीयले पनि सहयोग गर्ने बताइन् । ‘घर नजिकै सेवा पाइन्छ र डाक्टर खोज्दै हिँड्नु पर्ने बाध्यताको अन्त्य हुन्छ भने सहयोग गर्न पछि पर्दिनँ,’ उनले भनिन् ।

प्रकाशित : आश्विन ३०, २०८० १७:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

१७ महिनामा प्रधानमन्त्रीले ४ पटक विश्वासको मत लिने अवस्था किन आएको होला ?