कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

सञ्चार जगत् र नागरिक समाजद्वारा भर्त्सना

आरोपबारे न्यायिक छानबिन गर्न सघाउने प्रतिबद्धता जनाउँदा पनि सिरोहियालाई पक्राउको घटना प्रतिशोधपूर्ण रहेको सञ्चार सम्बद्ध संघसंस्था, पत्रकार र मानवअधिकारवादीको प्रतिक्रिया

काठमाडौँ — कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई कार्यकक्षबाटै पक्राउ गरिएको घटना उपप्रधान एंव गृहमन्त्री रवि लामिछानेको प्रतिशोधपूर्ण कदम भएको भन्दै सञ्चारसम्बद्ध संघसंस्था, पत्रकार र मानवअधिकारवादीले त्यसको भर्त्सना गरेका छन् । 

सञ्चार जगत् र नागरिक समाजद्वारा भर्त्सना

आफूमाथि लागेको आरोपका सन्दर्भमा न्यायिक छानबिनमा सघाउने प्रतिबद्धता जनाउँदा पनि सिरोहियालाई पक्राउ गर्नुले घटना प्रतिशोधपूर्ण रहेको पुष्टि भएको नेपाल पत्रकार महासंघले जनाएको छ ।

‘सरकारका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि लागेका विभिन्न आरोपका सन्दर्भमा निरन्तर समाचार फलोअप गर्दै आएको कान्तिपुर दैनिक, त्यसको सम्पादकीय नेतृत्व तथा समग्र सञ्चार क्षेत्रलाई लाञ्छित गर्ने गरी लामिछानेले दिएका अभिव्यक्तिले अध्यक्ष सिरोहियालाई पक्राउ गरिएको घटना प्रतिशोधपूर्ण रहेको पुष्टि गरेको महासंघको ठहर छ,’ महासचिव रोशन पुरीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

‘कानुनअनुसार हुने अनुसन्धानमा जहिल्यै साथमा रहे पनि प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई बन्देज गर्ने मनसायबाट हुने राज्य शक्तिको दुरुपयोग पत्रकार महासंघले नस्विकार्ने’ चेतावनी पनि महासंघले दिएको छ । ‘यो घटनाबाट कुनै पनि प्रकारको प्रभावमा नपर्न तथा सत्य–तथ्य समाचार प्रकाशन गर्ने कामबाट विचलित नभई अगाडि बढ्न कान्तिपुरको सम्पादकीय नेतृत्वसँग महासंघ साथमा रहेको छ,’ विज्ञप्तिमा उल्लेख छ, ‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गरी नेपालको संविधानले सुनिश्चित गरेको पूर्ण प्रेस स्वतन्त्रताको प्रत्याभूतिलाई पालना गर्न महासंघ सरकारसँग जोडदार माग गर्दछ ।’

यस्तै, महासंघ अध्यक्ष विपुल पोखरेलले कार्यकक्षबाटै सिरोहियालाई पक्राउ गरेर राज्य आतंक देखाइएको बताए । उनले नियत राखेर राज्यका संयन्त्र परिचालन गरिएको भन्दै सत्ता र शक्तिको दुरुपयोग भएको बताए । ‘कार्यालयमै आएर बलजफ्ती पक्राउ गरियो । राज्यले सही चरित्र देखाउन सकेन ।

राज्य आतंक भनेर हामीले व्याख्या गर्ने ठाउँ दिएको छ । कसैले कसैप्रति नियत राखेर राज्यको संरचना परिचालन गर्नु अत्यन्त शक्ति र सत्ताको मात, दुरुपयोग हो,’ अध्यक्ष पोखरेलले भने, ‘यो घटनाबाट राज्यलाई अझ अधिकारको दुरुपयोग नगर्नका लागि मिडिया क्षेत्रले गम्भीर खबरदारी गर्नुपर्ने अवस्था देखेको छु । सबै मिडियालाई आफ्नो सम्पादकीय स्वतन्त्रताको उच्चतम अभ्यास गर्न, यो घटनाबाट निराश नहुन र राज्यलाई शक्तिको दुरुपयोग गर्ने अभ्यासमा जानबाट खबरदारी गर्न अपिल गर्दछु ।’

प्रहरीले गिरफ्तार गरेपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया । तस्बिर : अंगद ढकाल/कान्तिपुर

सामुदायिक रेडियो प्रसारक संघ (अकोराब) नेपालले ‘कुनै पनि आरोपबारे राज्यका निकायले छानबिन गर्न पाउने कुरामा दुईमत नरहे पनि यो घटनाले केही गम्भीर शंका जन्माएको’ जनाएको छ । ‘गृहमन्त्री सहकारी ठगी प्रकरणमा जोडिएका बारेमा लगातार समाचार प्रकाशित गरिरहेको कान्तिपुर पब्लिकेशन्स्का अध्यक्ष सिरोहियाले आफूमाथि लागेको आरोपबारे न्यायिक छानबिनमा सघाउने बताइरहेका बेला कार्यकक्षबाटै पक्राउ गरिनु स्वतन्त्र प्रेसविरुद्ध राज्यले साध्ने निसाना र प्रतिशोधपूर्ण रहेको बुझ्न कठिन छैन,’ विज्ञप्तिमा भनिएको छ, ‘एउटा स्वतन्त्र पत्रकारिता संस्थाका प्रमुखलाई यसरी अनावश्यक रूपमा थुनामा राख्नु निन्दनीय कदम हो । स्वतन्त्र पत्रकारिता प्रजातन्त्रको आधारशिला हो । सञ्चार जगत्लाई निर्भीक र स्वतन्त्र रूपमा आफ्नो काम गर्न दिनुपर्छ ।’ विज्ञप्तिमा प्रहरी प्रशासनले पत्रकारलाई यसरी निसाना बनाउनु उचित नभएको भन्दै अकोराबले प्रजातान्त्रिक मूल्य मान्यतालाई कायम राख्न सरकारसँग आग्रह गरेको छ ।

सिरोहियालाई पक्राउ गरेको प्रति समाजवादी प्रेस संगठनले पनि आपत्ति जनाएको छ । संगठनका अध्यक्ष विश्वमणि सुवेदीले विज्ञप्ति जारी गर्दै उपप्रधान तथा गृहमन्त्री रवि लामछानेका सहकारी ठगी, दोहोरो नागरिकता र राहदानीलगायतका विषयमा निरन्तर समाचार प्रवाह गरेकाले कान्तिपुरमाथि राज्यले प्रतिशोध साधेको उल्लेख गरेका छन् ।

‘गृहमन्त्री रवि लामिछानेका सहकारी ठगी, दोहोरो राहदानीलगायतका विषयमा निरन्तर समाचार प्रवाह गरिरहेको र उनीउपर कानुनी सजायका निम्ति खबरदारी गरिरहेको कान्तिपुरमाथि राज्यले प्रतिशोध साध्दै उक्त सञ्चार गृहका प्रमुख व्यक्तिलाई धरपकड गरिएको पाइएको छ । स्वतन्त्र सञ्चार गृहभित्र प्रहरीको परेड देखाएर सिंगो सञ्चार क्षेत्रलाई आतंकित पार्ने सरकारको प्रयत्न प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका प्रतिकूल छ,’ सुवेदीले विज्ञप्तिमा भनेका छन्, ‘यसले सञ्चार क्षेत्रमाथि विगतमा पञ्चायत तथा शाही सत्ताले समेत हिम्मत गर्न नसकेको बर्बरतापूर्ण व्यवहार प्रदर्शन गरेको हाम्रो ठहर छ ।’

समाचारका विषयमा कुनै आपत्ति या प्रतिक्रिया भए त्यसका निम्ति विद्यमान कानुन तथा राज्यका निकायमार्फत आफ्ना कुरा राख्न सकिने बाटो स्पष्ट रहेको पनि अध्यक्ष सुवेदीले स्मरण गराएका छन् । ‘गृहमन्त्रीका अनगिन्ती अपराधजन्य गतिविधि दबाउनका निम्ति यस्तो हर्कत गरिएकामा कुनै शंका छैन । हाम्रो संगठन सिरोहियाको तत्काल रिहाइ तथा प्रेस क्षेत्रमाथि सिर्जना गरिएको भयपूर्ण वातावरणको अन्त्यका निम्ति सरकारसमक्ष माग गर्दछ,’ संगठनले भनेको छ ।

यस्तै, नेपाल पत्रकार महासंघ कान्तिपुर प्रतिष्ठान शाखाले पनि गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । अध्यक्ष सिरोहियामाथि लागेका आरोपका सम्बन्धमा कानुनअनुसार अनुसन्धान गर्न राज्यका निकाय स्वतन्त्र भएको जनाउँदै शाखाले सिरोहियामाथि लगाइएका आरोपबारे छानबिनमा उनले सघाउने प्रतिबद्धता जनाउँदा जनाउँदै राज्य संयन्त्रको चरम दुरुपयोग गरी कार्यकक्षबाटै पक्राउ गरिएको घटनालाई निकै दुर्भाग्यपूर्ण भनेको छ ।

‘पछिल्ला केही दिनयता कान्तिपुर दैनिकमा सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेलगायतको संलग्नता, सहकारीको रकम लामिछाने प्रबन्ध निर्देशक रहेको गोर्खा मिडिया प्रालिमा गैरकानुनी रूपमा लगानी गरिएको र गिरिबन्धु टी इस्टेटमा भएको नीतिगत भ्रष्टाचारलगायत विषयमा समाचार प्रकाशन भएकाले त्यसको प्रतिशोध साध्ने मनसायका साथ अध्यक्ष सिरोहियालाई पक्राउ गरिएको प्रस्टै छ,’ शाखाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा राज्यको यस्तो हर्कत लोकतन्त्रका लागि लडेको कान्तिपुर, यसमा कार्यरत सञ्चारकर्मी मात्र नभई सिंगो नेपाली पत्रकारिता, सञ्चार जगत् र प्रेस स्वतन्त्रतामाथिकै निर्मम प्रहार भएको जनाइएको छ । ‘राजा ज्ञानेन्द्रको निरंकुशतालगायत थुप्रै आरोह–अवरोह सामना गरेको नेपाली प्रेसमाथि प्रतिशोधपूर्ण यस्ता घटनाको सामना गर्न कान्तिपुर सदैव दृढ छ,’ विज्ञप्तिमा भनिएको छ ।

राज्य संयन्त्रको दुरुपयोग गरी समग्र सञ्चार क्षेत्रलाई आतंकित पार्ने कार्य रोक्न र नेपालको संविधान, २०७२ ले प्रत्याभूत गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता सुनिश्चित गर्न प्रतिष्ठान शाखाले जोडदार माग गर्दै आगामी दिनमा यस्ता घटना नदोहोर्‍याउन सरोकार पक्षलाई सचेत गराएको छ । ‘राजा ज्ञानेन्द्रको निरंकुशतालगायत थुप्रै प्रेसविरोधी गतिविधिको सामना गरेको कान्तिपुर मिडिया ग्रुप र नेपाली प्रेस कसैको प्रतिशोधपूर्ण व्यवहारबाट कदापि विचलित हुनेछैन । कान्तिपुरले यस्ता राज्य सञ्चालित घटनाको डटेर सामना गर्ने र आगामी दिनमा भ्रष्टाचार, अनियमितता, सहकारी ठगीलगायत विषयमा कलम झन् बुलन्द पार्ने प्रतिबद्धता पनि जनाउँछ,’ विज्ञप्तिमा भनिएको छ ।

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई कार्यकक्षमै आएर पक्राउ पुर्जी दिँदै प्रहरी । तस्बिर : प्रकाशचन्द्र तिमिल्सेना/कान्तिपुर

नेपाल मिडिया सोसाइटीले अनियमितताका विषयलाई लिएर समाचार प्रकाशन र प्रसारण गर्दा प्रतिशोधका आधारमा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियालाई पक्राउ गर्नु गलत भएको उल्लेख गर्दै त्यसको घोर निन्दा र भर्त्सना गरेको छ । ‘कान्तिपुरले प्रमुखताका साथ समाचार बनाएको झोंकमा गृहमन्त्री लामिछानेले पटक–पटक सार्वजनिक रूपमा देखाइदिने चेतावनी दिँदै आएका थिए । त्यही रिसइबी र इगो साध्ने हतियारका रूपमा मातहतको निकाय दुरुपयोग गरी कथित नागरिकताको कमीकमजोरीबारे प्रचारबाजी र जाहेरी दर्ता गर्न लगाएर पक्राउ पुर्जी जारी गरेको घटनाको हामी घोर निन्दा र भर्त्सना गर्दछौं,’ सोसाइटीका अध्यक्ष शुभशंकर कँडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

नागरिकताजस्तो कुनै पनि नागरिकको संवेदनशील विषयलाई विवादको विषय बनाएर कुनै एउटा समुदायलाई नै गैरनागरिकका रूपमा बदनाम गर्ने अभियानको एक उपक्रमका रूपमा घटना भएको मिडिया सोसाइटीको ठहर रहेको विज्ञप्तिमा उल्लेख छ । ‘जबकि गृहमन्त्री आफैं दोहोरो नागरिकताको दुरुपयोग गरेका दोषी व्यक्ति हुन् । नेपालको राजनीतिक तथा लोकतान्त्रिक र स्वतन्त्र प्रेसका रूपमा क्रियाशील नेपालकै मानक मिडिया हाउसका प्रमुखमाथिको यस प्रकारको निन्दनीय घटनाको जति नै भर्त्सना गरे पनि कमी हुन्छ,’ विज्ञप्तिमा भनिएको छ, ‘तसर्थ सम्पूर्ण नागरिक, विभिन्न अधिकारवादी संघसंस्था तथा जिम्मेवार राजनीतिक दलहरूलाई सरकारको यस प्रकारको गैरलोकतान्त्रिक र राज्यका निकायको दुरुपयोग गरेर आफ्नो स्वार्थ सिद्धि गर्ने प्रवृत्तिका विरुद्ध उभिनका लागि आह्वान गर्दछौं ।’

कान्तिपुर दैनिकका पूर्वसम्पादक तथा वरिष्ठ पत्रकार नारायण वाग्लेले सरकारले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गर्नु प्रेसमा दागा धर्दै आएका गृहमन्त्रीको भूमिकाप्रति थप सन्देह भएको उल्लेख गरे । ‘कान्तिपुरका प्रकाशक कैलाश सिरोहियाको नागरिकताबारे एकाएक उजुरी र गिरफ्तारीले प्रेसमाथि दागा धर्दै आएका गृहमन्त्रीको भूमिकाप्रति थप सन्देह दिएको छ । पत्रिकाको समाचार प्रवाहमा कुनै आँच नआओस् । जनताको अकुण्ठित प्रेस अधिकार जारी रहोस्,’ उनले भनेका छन् ।

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई थापाथलीस्थित मुख्यालयको कार्यकक्षबाट गिरफ्तारीपछि गाडीमा लगिँदै । तस्बिर : अंगद ढकाल/कान्तिपुर

यस्तै, वरिष्ठ पत्रकार किशोर नेपालले सरकारले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गरेर नकाम गरेको बताएका छन् । ‘यो त हदै भयो । सरकारले कैलाश सिरोहियालाई पक्राउ गरेर नकाम गरेको छ । यो कानुनी होइन, हदैसम्मको गैरकानुनी काम हो सरकारको । सरकारले कैलाशविरुद्धको कारबाही फिर्ता लेओस्,’ नेपालको भनाइ छ ।

यसैगरी, द काठमान्डु पोस्टका पूर्वसम्पादक सञ्जीव सत्गैंयाले भनेका छन्, ‘जे भइरहेको छ, राम्रो भइरहेको छैन । व्यक्तिविरुद्ध प्रतिशोधको राजनीतिले ठाउँ पाउँदै जानु निन्दनीय छ, वैधानिक शक्तिलाई प्रतिशोधका लागि प्रयोग गर्ने प्रवृत्ति अत्यन्त खतरनाक छ, यस्तो प्रवृत्तिलाई समयमै रोक्न अत्यन्त जरुरी छ ।’

वरिष्ठ पत्रकार अजयभद्र खनालले ‘समाचार नलेखेको भए सिरोहिया पक्राउ पर्थे ?’ भन्ने प्रश्न गरेका छन् । उनको भनाइ छ, ‘के कान्तिपुरले रवि लामिछानेका विरुद्धमा समाचार नलेखेको भए आज कैलाश सिरोहिया पक्राउ पर्थे ? विधिको शासनको मापन यसबाट गर्न सकिन्छ ।’ उनले नेपालमा पनि बिस्तारै नयाँ प्रकारले ‘कल्चर वार’ सुरु भएको बताएका छन् ।

‘यो वैचारिक ध्रुवीकरणभन्दा बृहत् छ । यो युद्धमा प्रचण्ड गलत ठाउँमा उभिन पुगेका छन् । यो उनको पतनको अन्तिम परिच्छेद हो,’ उनले भनेका छन् । खनालले देश बिग्रियो तर ‘जेकोबिन शैली’ को क्रान्ति गर्न (वर्ग) शत्रु भेटिएन भने लेनिनवाद जन्मन्छ भन्ने उल्लेख गरेका छन् । ‘आजका हाम्रा नेताहरूको राजनीतिक मनोविज्ञान हेर्दा नेपाल लोकतन्त्रभन्दा अधिनायकवादतर्फ जाने सम्भावना बढी छ । बन्न लागेको दल विधेयक र मिडिया विधेयक नियाल्दा छनक आउला,’ उनले सामाजिक सञ्जाल एक्समा लेखेका छन् ।

मानवअधिकारकर्मी मोहना अन्सारीले पूर्वाग्रही ढंगले राज्य शक्तिको दुरुपयोग गरेर विरोधीलाई तह लगाउने लोकतान्त्रिक राज्यमा स्वीकार्य नहुने बताएकी छन् । ‘कानुन सबैका लागि हुन्छ । सिरोहिया मात्र होइन, जो कसैले पनि गैरकानुनी ढंगले नागरिकता लिएको प्रमाणित भए सजायको भागीदार बन्नुपर्छ । तर पूर्वाग्रही ढंगले राज्य शक्तिको दुरुपयोग गरेर विरोधीलाई तह लगाउने, आलोचकलाई तर्साउने, प्रतिशोध लिने र प्रेस जगत्लाई कुण्ठित पार्ने कदम लोकतान्त्रिक राज्यमा स्वीकार्य हुँदैन,’ अन्सारीको भनाइ छ ।

अन्सारीले सरकारले सिरोहियालाई पक्राउ गरेर उनी नेपाली हुन् कि होइनन् भन्ने अनुसन्धान गर्ने भएको भन्दै आश्चर्य प्रकट गरेकी छन् । ‘विगत ३२ वर्षदेखि नेपाली सञ्चार जगत्मा अग्रणी भूमिका खेलेको, सयौं भ्रष्टाचार र अनियमितताको अनुसन्धान गरी नागरिकलाई सूचित गरेको, राजतन्त्रदेखि गणतन्त्रसम्म राष्ट्रिय महत्त्वको हरेक विषयमा गहन रिपोर्टिङ गरेको कान्तिपुरका सञ्चालकमाथि एकाएक नागरिकताको अनुसन्धान हुनु, पक्राउ गर्नु संयोग मात्र हो भन्न सकिन्न,’ उनको भनाइ छ ।

यसैगरी सिरोहियाको गिरफ्तारीलाई प्रेस युनियनले प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकार स्वतन्त्र प्रेसको घाँटी निमोठ्ने कार्यमा उद्यत देखिएको ठहर गरेको छ । युनियनको उपत्यका तथा प्रतिष्ठान प्रदेश समिति अध्यक्ष लीलाराज खनालले विज्ञप्ति जारी गर्दै सरकार स्वतन्त्र प्रेसविरोधी हर्कतमा लागेको उल्लेख गरेका छन् ।

‘सरकारका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले जेठ ६ मा प्रतिनिधिसभामा उभिएर सञ्चारमाध्यमविरुद्ध अपमानजनक ढंगले स्वतन्त्र प्रेसमाथि धावा बोल्ने धृष्टता गरेका थिए, स्वतन्त्र प्रेसमाथि राज्य दमनमा उत्रने संकेत गृहमन्त्रीले संसद्बाटै दिएका थिए,’ विज्ञप्तिमा भनिएको छ, ‘आफैं फर्जी नागरिकता लिएकामा दोषी ठहर भएका गृहमन्त्री लामिछानेले विभिन्न ४ वटा सहकारी संस्थाको बचत अपचलन गरेको आरोपमा देशव्यापी विरोध भइरहेको छ । दुई–दुई वटा राहदानी प्रयोग गरी कानुनको धज्जी उडाइरहेका गृहमन्त्री लामिछाने सहकारी ठगी प्रकरणमा मुछिएको विभिन्न प्रमाण र सूचना कान्तिपुर दैनिक र उसका अन्य प्रकाशनले नियमित रूपमा प्रकाशन र प्रसारण गरिरहेका थिए । आफूविरुद्ध समाचार लेखेको भन्दै गृहमन्त्री लामिछानेले प्रतिशोध साध्नकै लागि गिरफ्तार गरिएको हो ।’ गृहमन्त्री लामिछानेले ब्ल्याकमेलिङ गर्न कान्तिपुर मिडिया ग्रुपको कार्यालयमै बर्दीधारी प्रहरी लगाएर अध्यक्ष सिरोहियालाई पक्राउ गरिएको युनियनको भनाइ छ ।

यस्तै अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले सिरोहियालाई गरिएको गिरफ्तारीप्रति विरोध गर्दै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता संकुचनको दुष्प्रयास भएको जनाएको छ । इन्सेक अध्यक्ष कुन्दन अर्यालद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘कार्यकक्षबाटै गिरफ्तार गरी रातारात स्थलमार्गबाट जनकपुरतर्फ लगिँदै गरेको घटना आवरणमा जे भनिए पनि आमसञ्चारमाध्यमलाई निर्भीक बन्नबाट रोक्ने नियोजित प्रयास हो भन्ने प्रस्ट देखिन्छ ।’‘नागरिकता छानबिनका लागि गिरफ्तार गरिएको भनिए पनि प्रतिष्ठित सञ्चारमाध्यमका प्रकाशकलाई त्यसअघि कुनै सोधपुछ नगरी यस्तो बेला गिरफ्तार गरिएको छ, जति बेला संसद्मा उठ्दै आएको गृहमन्त्रीको सहकारीसँगको विवादास्पद संलग्नताका सम्बन्धमा कान्तिपुर मिडिया ग्रुपले शृंखलाबद्ध रूपमा सामग्री प्रकाशन र प्रसारण गर्दै आएको छ,’ इन्सेकले भनेको छ ।

नेपाली इतिहासका विभिन्न कालखण्डमा लोकतन्त्रभित्रैबाट अधिनायकवादी अभ्यासको दुष्प्रयास हुने गरेको उल्लेख गर्दै मिडिया उद्यमी सिरोहियाको गिरफ्तारी उहाँमाथि लागेको नागरिकतासम्बन्धी आरोपका कारणले नभई प्रतिशोधका आधारमा भएकामा इन्सेकले आशंका व्यक्त गरेको छ ।

प्रकाशित : जेष्ठ ९, २०८१ ०५:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×