कान्तिपुरका अध्यक्ष सिरोहियालाई पक्राउ गर्नु प्रेसमाथिको प्रहार मात्र नभएर प्रजातन्त्र र लोकतन्त्रमाथिकै आक्रमण : कांग्रेस
काठमाडौँ — कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई सत्ता र शक्तिको आडमा पक्राउ गरिएको भन्दै प्रमुख प्रतिपक्षी दल कांग्रेसले आपत्ति जनाएको छ । अध्यक्ष सिरोहियालाई पक्राउ गर्नु प्रेसमाथिको प्रहार मात्र नभएर प्रजातन्त्र र लोकतन्त्रमाथिकै आक्रमण भएको कांग्रेसले जनाएको हो ।
कांग्रेस सभापति शेरबहादुर देउवाले प्रतिशोधपूर्ण ढंगबाट अध्यक्ष सिरोहियालाई पक्राउ गरिनु सरकारको अलोकतान्त्रिक कदम भएको बताए । ‘मिडियालाई तर्साउने उद्देश्यसहितको गठबन्धन सरकारको यो निर्णय खेदजनक छ,’ उनले भने ।
कांग्रेस वरिष्ठ नेता शेखर कोइरालाले प्रतिशोध साध्न सिरोहियामाथिको पक्राउ स्वीकार्य नभएको पनि बताए । ‘आफू दोहोरो पासपोर्ट लिँदै हिँड्ने र सहकारी ठगीको आरोपविरुद्ध छानबिन हुन नदिने तर ३ दशकदेखि सूचना प्रवाह र लोकतन्त्रको पहरेदार भई उभिएको कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियामाथि प्रतिशोध साँध्न गरिएको पक्राउ हामीलाई कदापि स्वीकार्य छैन,’ कोइरालाको भनाइ छ, ‘प्रहरीले सही र गलत छुट्याउनेमा विश्वस्त छु ।’
कांग्रेस महामन्त्री गगन थापाले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफ्नो अपराध ढाकछोप गर्न सिरोहियालाई पक्राउ गरेको बताए । महामन्त्री थापाले अध्यक्ष सिरोहियाले कानुनविपरीतको काम गरेको भनेर पक्राउ गरेको भनिए पनि बदनियतपूर्ण ढंगले प्रतिशोध पूरा गर्न गरिएको बहाना मात्रै भएको टिप्पणी गरे । ‘प्रस्ट छु, कानुनभन्दा माथि कोही छैन र हुँदैन । गल्ती गरेको छ भने जुनसुकै तहको जोसुकै होस्, जतिसुकै शक्तिशाली होस्, सजायको भागीदार हुनुपर्छ । म यसमा पनि प्रस्ट छु,’ थापाले भने, ‘आज कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई कानुनविपरीतको काम गरेको भनेर पक्राउ गरिएको भनिए पनि यो बदनियतपूर्ण ढंगले प्रतिशोध पूरा गर्न गरिएको बहाना मात्रै हो । मुख्य कुरा यो राज्य सत्ताको पहुँचको दुरुपयोग गर्दै आफूमाथि प्रश्न गर्नेलाई रोक्न, विषयान्तर गर्न र आफ्नो अपराध ढाकछोप गर्न गरेको दुष्प्रयास मात्रै हो ।’ आफूमाथिका प्रश्न रोक्न यस्ता असफल प्रयास हिजो निरंकुश कालमा र सत्ता शक्तिको उन्मादमा धेरै भएका हुन् भन्दै थापाले भने, ‘हेक्का रहोस् ।’
अर्का महामन्त्री विश्वप्रकाश शर्माले ‘मुद्दा चलाउनु नपर्ने’ भनेर थन्क्याइएको गृहमन्त्रीको पासपोर्टको फाइल खोल्न चुनौती दिएका छन् । सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘सिरोहियालाई ‘कृपापूर्वक’ रिहा नगर । मज्जाले छानबिन गर, दोषी ठहरे जेल पठाऊ । सबैमाथिको सबै आरोपउपर निष्पक्ष छानबिनको सबै ढोका खुला गर ! ‘मुद्दा चलाउनु नपर्ने’ भनेर थन्क्याइएको गृहमन्त्रीको पासपोर्टको फाइल खोल । ‘सहकारी ठगी समाचार शृंखला’ उपर पूर्वाग्रह होइन भन्ने पुष्टि गर !’
कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ पुर्जी जारी भएपछि त्यसको विरोध जनाउन कान्तिपुर मुख्यालयमा उपस्थित भएका कांग्रेसका नेतालगायत । तस्बिर : प्रकाशचन्द्र तिमिल्सेना/कान्तिपुर
कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले सरकार ‘विनाशकाले विपरीत बुद्धि’ को बाटोमा लागेको टिप्पणी गरे । उनले गृहमन्त्री मात्र नभएर सरकार नै गैरजिम्मेवार, निरंकुश, आग्रह–पूर्वाग्रह, निरंकुश र प्रतिशोधबाट चलेको बताए । ‘संसद्भित्र र बाहिर देखिने गरी सरकारले गरेका कामहरू अलोकतान्त्रिक छन् । लोकतन्त्रको पक्षमा लामो संघर्ष गरेको सञ्चारगृह र त्यसका प्रमुखमाथिको आक्रमण भनेको सरकारको अलोकतान्त्रिक र निर्लज्जता हो,’ लेखकले भने, ‘अब गृहमन्त्रीमाथि मात्रै प्रश्न आएन । पक्राउ हुनासाथ प्रधानमन्त्रीले गृहमन्त्रीलाई बोलाएको, के गर्नुभएको भनेर सोधेको भए गृहमन्त्रीको मात्रै विषय हो कि भन्ने हुन्थ्यो । तर, प्रधानमन्त्रीले यसमा मौनता राख्नु नै सरकारको काम हो भन्ने पुष्टि हुन्छ,’ लेखकले भने ।
कांग्रेस सहमहामन्त्री बद्री पाण्डेले उक्त घटनालाई संसद्मा पनि चर्को ढंगले उठाएका थिए । प्रतिनिधिसभामा बोल्दै उनले प्रतिशोध साधेर मिडियामाथि धरपकड गरेको विषय स्वीकार गर्न नसकिने बताए । कान्तिपुरका अध्यक्ष सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी भई प्रहरी कान्तिपुरको कार्यालयमा पक्राउ गर्न पुगेपछि संघीय संसद् प्रांगणमा पाण्डेले आफूबारेका समाचार प्रकाशित भएपछि पूर्वाग्रह राखिएको हो कि भन्ने आशंका उत्पन्न भएको बताए ।
‘कानुन मिचेर कोही पनि मानिसले गलत गरेको छ भने कानुनी दायरामा ल्याउनुपर्छ, त्यो राज्यको दायित्व हो । तर आज मात्रै १ अर्ब रकम चार वटा सहकारीबाट गोर्खा मिडियामा ऋणीका रूपमा लिएको र त्यो बेला रवि लामिछाने आफैं प्रबन्ध निर्देशक रहेको भन्ने प्रमाणसहित लेखेको भएकाले आग्रह र पूर्वाग्रहका रूपमा थुनिएकामा समर्थन हुन्न,’ पाण्डेले भने । उनले लामिछानेको दुई वटा नागरिकता र राहदानी रहेको विषय बिर्सन नहुने बताए । उनले भने, ‘पूर्वाग्रह राखेर प्रश्न उठाएकै भरमा प्रश्नको घाँटी निमोठ्न खोजेको हो भने सह्य हुँदैन, लोकतान्त्रिक पार्टी भएकाले कांग्रेसलाई यो सह्य हुँदैन ।’
पूर्वपरराष्ट्रमन्त्रीसमेत रहेका कांग्रेस सांसद एनपी साउदले सिरोहियाविरुद्ध जारी पक्राउ पुर्जी र धरपकड सह्य नहुने चेतावनी दिए । ‘हामी कान्तिपुरको साथमा छौं । यो सत्ताको आडमा तर्साउने काम हो । प्रजातान्त्रिक मूल्य मान्यतामाथि र प्रेस स्वतन्त्रतामाथिको आक्रमण हो,’ साउदले भने । कांग्रेस सांसद राजेन्द्र बजगाईंले भने, ‘लोकतन्त्रका लागि लडेको कान्तिपुरमाथि आक्रमण गर्न लगाएर प्रधानमन्त्रीले के गर्न खोजेको हो ?’ यस्तै, सांसद रामनाथ अधिकारीले पनि प्रधानमन्त्रीलाई प्रश्न गरे । ‘लोकतन्त्रका लागि लडेको कान्तिपुरविरुद्धको आक्रमण गर्ने ठाउँमा तपाईं (प्रधानमन्त्री) किन पुग्नुभयो ?’ उनको भनाइ थियो ।
सांसद वीरबहादुर बलायरले सिरोहियाविरुद्ध मात्र नभई सिंगो लोकतन्त्र र प्रेसविरुद्ध आक्रमण भएकाले सबैको ऐक्यबद्धता आवश्यक रहेको बताए ।
सांसद प्रतिमा गौतमले अध्यक्ष सिरोहियाविरुद्धको पक्राउ पुर्जी सहकारी ठगीविरुद्ध कान्तिपुरले उजागर गरेको तथ्यलाई विषयान्तर गर्न र मिडियालाई तर्साउन गरिएको हर्कतका रूपमा लिइन् । ‘हामी लोकतन्त्र र प्रेस स्वतन्त्रताका लागि कान्तिपुरको पक्षमा छौं,’ उनले भनिन् ।
सांसद राजु थापाले गृहमन्त्री रवि लामिछानेले मिडियासँग बार्गेनिङ गर्न खोजेको र त्यसबाट नसकेर प्रतिशोधमा उत्रिएको आरोप लगाए । ‘सहकारी केसमा गृहमन्त्रीलाई नै पक्राउ गर्नुपर्छ,’ उनले भने ।
सांसद चन्दा चौधरीले सत्यतथ्य समाचार उजागर गरेपछि कान्तिपुरविरुद्ध गृहमन्त्रीले प्रतिशोध साधेको बताइन् । ‘यसका विरुद्ध हामी जुनसुकै मोर्चामा लड्न तयार छौं,’ उनले भनिन् ।
सांसद दीपक गिरीले कान्तिपुर मिडियाले लोकतन्त्र र गणतन्त्रका लागि पुर्याएको योगदान सधैं स्मरणीय रहेको भन्दै गृहमन्त्रीले प्रतिशोध साध्न पक्राउ पुर्जी जारी गरेको बताए । ‘सरकारले कान्तिपुरलाई तर्साउन खोजेको हो । नक्कली मुद्दा लगाएर तर्साउन खोजेको छ, यसको विरोध र प्रतिकार आवश्यक छ,’ उनले भने ।
सांसद कुसुम थापा मगरले सहकारी ठगीविरुद्ध निष्पक्ष समाचार प्रकाशित गरेकै कारण धरपकड भएको भन्दै भर्त्सना गरिन् । ‘सिरोहियालाई देखाएर समग्र मिडियालाई तर्साउन खोजिएको छ,’ उनले भनिन् । कांग्रेस नेता गोविन्द पोखरेलले कैलाश सिरोहियाविरुद्ध जारी पक्राउ पुर्जी लोकतन्त्रको खिलापको कदम भएको बताए । ‘प्रतिशोधमा कुनै पनि काम गरिनु हुँदैन,’ उनले भने ।
सांसद रामकृष्ण यादवले लोकतन्त्रमाथि आक्रमण हुँदा कान्तिपुरले महत्त्वपूर्ण योगदान पुर्याएको उल्लेख गर्दै सबै लोकतन्त्रवादी सिरोहियाको साथमा रहेको बताए । सांसद श्याम घिमिरेले पक्राउ पुर्जीका नाममा भएको धरपकड दुःखद र लोकतन्त्रमाथिको आक्रमण भएको बताए । उनले यो घटनालाई गम्भीर रूपमा लिएर कांग्रेस पार्टी अघि बढ्ने बताए । निष्पक्ष रूपमा मिडिया सञ्चालन गरेर लोकतन्त्रको पक्षमा कान्तिपुरले योगदान पुर्याएको उनको भनाइ छ ।
सांसद नागिना यादवले सरकारले सत्ताको दम्भ देखाएको भन्दै भर्त्सना गरिन् । उनले भनिन्, ‘रामले पनि लडाइँ गर्न जाँदा केही थिएन, सत्य मात्रै थियो । अन्त्यमा सत्यकै जित भयो । अहिले कैलाश सिरोहिया पनि सत्यको बाटोमा हुनुहुन्छ, डराउनु पर्दैन ।’
सांसद तथा पूर्वअर्थ राज्यमन्त्री उदयशमशेर राणाले सिरोहियामाथिको राज्य शक्तिको दुर्व्यवहार एउटा सामान्य घटना मात्रै नभएको बताए ।
