कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

कान्तिपुर विचलित हुनेछैन : सिरोहिया

कसैको उजुरी पर्दैमा गिरफ्तारी हुन्छ ? मलाई सोधपुछ हुँदैन ? त्यसो भए त माननीय गृहमन्त्रीज्यूको दुई वटा पासपोर्टको मुद्दा छ । यसलाई मेरो उजुरी मानेर भोलि वारेन्ट जारी हुन्छ भन्नेमा म विश्वस्त छु ।

कानुनअनुसार हुने हरेक अनुसन्धानमा सम्पूर्ण सहयोग गर्न जिम्मेवार नागरिकका रूपमा तयार छु । तर राज्य शक्तिको दुरुपयोग गरेर हुने प्रतिशोध र हस्तक्षेपबाट म अध्यक्ष रहेको कान्तिपुर मिडिया ग्रुप किञ्चित् विचलित हुनेछैन । सत्ता र शक्तिको दुरुपयोग गरेर कान्तिपुरमाथि विगतमा पनि हस्तक्षेप भएको हो, म आफैं  जेल गएको हुँ ।

कान्तिपुर विचलित हुनेछैन : सिरोहिया

शाही शासन र लोकमानसिंह कार्कीका पालामा समाचार लेख्दा पनि कान्तिपुरमाथि यस्तै षड्यन्त्र भएको हो । तर, कान्तिपुर हरेक घडीमा निर्भीक रूपमा उभिँदै आएको छ । म अहिले पनि व्यक्तिगत रूपमा हरेक मूल्य चुकाउन तयार छु तर कान्तिपुर आफ्नो सम्पादकीय स्वतन्त्रता र जिम्मेवारीमा सम्झौता गर्न तयार छैन ।

सहकारीका ७१ लाख सदस्य तथा बचतकर्ताको पसिनाको कमाइ सुरक्षित गर्न यसमा ठगी गर्नेहरूमाथि अनुसन्धान र कारबाही हुनुपर्ने आवाज उठाउनु कुनै पनि सञ्चारमाध्यमको जिम्मेवारी हो, कान्तिपुरको समाचार रोकाउन ब्ल्याकमेलिङ गर्न र मूल मुद्दा विषयान्तर गर्न मेराविरुद्ध आफैं उजुरी गर्न लगाएर, सोधपुछसमेत नगरी पक्राउ पुर्जी जारी गर्ने हर्कत गरिएको हो भन्नेमा शंका छैन । यी सबका बीचमा पनि सहकारी ठगीलगायत हरेक बेथितिका विषयमा समाचार लेख्ने कर्तव्यबाट कान्तिपुर एक इन्च पनि पछि हट्ने छैन ।

समाचार लेखेका भरमा मिडिया हाउसका अध्यक्षमाथि व्यक्तिगत प्रतिशोध लिएर प्रहरी प्रशासनको शक्ति र जिम्मेवारी दुरुपयोग गर्ने पदाधिकारीले यो पनि सोचून्, दोहोरो पासपोर्टमा अनुसन्धान हुनुपर्नेमा व्यक्ति महान्यायाधिवक्ताको कार्यालयबाट मुद्दा नलाग्ने निर्णय गराएर राजनीतिक बार्गेनिङ गरी सत्तामा गएको विषयमा अनुसन्धान कहिले हुने हो ? अर्को प्रश्न, जनमतको जिम्मेवारी सुशासन स्थापनाको प्रत्याभूतिका लागि हो कि, आफ्नो बेथितिको ढाकछोप गर्न र आफूमाथि प्रश्न गर्ने नागरिक र सञ्चारमाध्यममाथि व्यक्तिगत प्रतिशोध लिनका लागि हो ?

कुनै मान्छेलाई कुनै उजुरी पर्दैमा कार्यकक्षबाट पक्राउ गरिन्छ ? तपाईं हामीले २०६२/०६३ मा लडेर, ज्यानको बाजी लगाएर ल्याएको लोकतन्त्र र गणतन्त्र यही रहेछ भन्ने कुरा माननीय गृहमन्त्रीज्यूबाट थाहा भयो । कसैको उजुरी पर्दैमा गिरफ्तारी हुन्छ ? मलाई सोधपुछ हुँदैन ? त्यसो भए त माननीय गृहमन्त्रीज्यूको दुई वटा पासपोर्टको मुद्दा छ । यसलाई मेरो उजुरी मानेर भोलि वारेन्ट जारी हुन्छ भन्नेमा म विश्वस्त छु । उहाँको दुई वटा पासपोर्ट छ, महान्यायाधिवक्तालाई यो मुद्दा फिर्ता लिन अधिकार छैन । यो देशमा कानुन छ भने दुई वटा पासपोर्ट बोक्ने सहकारी ठगीमा संलग्न भएको समाचार छ । मलाई गिरफ्तार गरिएको नागरिकता काण्डमा होइन, सहकारीको ठगी काण्डविरुद्ध समाचार लेखेकामा हो । भोलि सहकारी ठगी गर्नेका नाममा पनि पक्राउ पुर्जी जारी हुन्छ भन्नेमा म विश्वस्त छु ।

मैले २०३६ सालमा वंशजका आधारमा नागरिकता लिएको हुँ । त्यसपछि मैले २०५७ सालमा पहिला नेपाली कागजको नागरिकता पुरानो भएकाले प्रतिलिपि लिएको हुँ । मैले कहिल्यै पनि दुइटा नागरिकता लिएको छैन । र, मेरो दुइटा नागरिकता नम्बर पनि छैन । एउटै नागरिकता नम्बर दुई जनाको भयो भन्ने कुरा बाहिर आइरहेको छ । त्यसमा मेरो कुरा प्रस्ट छ– त्यो काम सेवाग्राहीको होइन । हामीलाई कहाँ नम्बर भिडाएर हेर्ने छुट हुन्छ ? हामीले निवेदन दिएपछि प्रशासन कार्यालयले जे दिन्छ, हामीले त्यसैमा ल्याप्चे लगाएर लिने हो । अर्को कुरा नागरिकता ऐनअनुसार मिति तलमाथि छ भने सच्याउन पाइन्छ । संसद्कै महासचिवको पनि तीन वटा नागरिकता छ । उहाँ त पदमै हुनुहुन्छ त ।

म यो देशको नागरिक हो । ममाथि छानबिन गर्ने विषयमा म आफैं सघाउँछु भनेर भन्दै आएको थिएँ । तर, यहाँ त नवअधिनायकवाद देखिएको छ । यो तपाईं–हामीमाथि र प्रेस स्वतन्त्रतामाथिको कुठाराघात हो । मलाई कार्यकक्षबाटै गिरफ्तार गरेर लगिएको छ । यसका विरुद्ध म अन्तिम समयसम्म लडाइँ लड्नेछु । तर, यो देशमा कानुन छ भने दुई वटा पासपोर्ट बोक्ने, सहकारी ठगीमा संलग्न भएकालाई पनि गिरफ्तार गर्नुपर्छ ।

राजा ज्ञानेन्द्र शाहको निरंकुशतन्त्रमा हालका प्रधानमन्त्री पुष्पकमल दाहालले नेतृत्व गरेको पार्टीको विचार प्रकाशित गरेकै कारण राजद्रोहको मुद्दामा म जेल गएको थिएँ । कान्तिपुर कहिल्यै पनि सौदाबाजीबाट विचलित भएन र हुनेछैन । यसमा सबै जना स्पष्ट भए हुन्छ । कानुन सबैका लागि बराबर हुनुपर्छ । हामी कानुनी राज्यमा छौं र ढिलो–चाँडो त्यसको प्रत्याभूति हुन्छ भन्नेमा म विश्वस्त छु ।

सरकार, राज्यका हरेक जिम्मेवार निकाय, राजनीतिक दल, नागरिक समाज र समस्त सचेत नेपालीले विवेक प्रयोग गर्नुपर्छ भन्ने मेरो मान्यता छ । राज्य शक्ति र स्रोतको दुरुपयोग गर्नेमाथि कान्तिपुरको खबरदारी जस्तोसुकै प्रतिकूलताबीच पनि निरन्तर छ । कान्तिपुरको पहिचान र विरासत यही हो ।

प्रकाशित : जेष्ठ ९, २०८१ ०५:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×