कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८७

मुक्त हलियाका लागि बनेका ३२ घर ९ वर्षदेखि रित्तै

एक पालिकाका बासिन्दालाई अर्को पालिकामा घर

सुर्खेत — २०७२ सालमा नेपाल सरकारले गुर्भाकोट नगरपालिका वडा –१३ गुमीमा मुक्त हलियाका लागि ३२ वटा घर निर्माण गर्‍यो । भेरीगंगा नरपालिकामा बस्दै आएका मुक्त हलियाहरुका लागि राज्यले गुर्भाकोटमा जग्गा खरिद गरेर घर बनायो । १ करोड ३६ लाख खर्च गरेर निर्माण गरेका घर भने हलियाहरु बसेनन् । ९ वर्षदेखि घर रित्तै छन् । 

मुक्त हलियाका लागि बनेका ३२ घर ९ वर्षदेखि रित्तै

भेरीगंगा नगरपालिका – ८ लोद्यामा बस्दै आएका ७२ वर्षिया तुलवीर कामी ऐलानी जमिनमा बस्दै आएका छन् । उनले ऐलानी जमिनमा आफ्नो घर र खेतबारी बनाएका छन् । उनको जमिनको लालपुर्जा छैन । तर सरकारले लालपुर्जावाला घर दिँदा पनि उनी बस्न मान्दैनन् ।

‘हाम्रो यता घरजमिन छ तर लालपुर्जामात्र छैन । लालपुर्जावाला घर दिने भन्दै अर्को पालिका त पुर्‍याउनु भएन नी !,’ उनले भने, ‘एकछाक टार्नलाई कमाउन बाहिर जानुपर्छ भने त्यहाँ बस्नैपर्छ भन्ने छैन ।’ उनका अनुसार परिवार ठूलो छ, सरकारले बनाएको घर सानो छ । अन्य सुविधा पनि छैन । न खेतबारी छ । ‘काम गर्ने एक पालिका सुत्ने अर्को पालिका । दलालहरुले हलियाका नाममा ठूलो रकम घोटाला गरेर अर्को पालिकामा घर बनाए' उनले आरोप लगाए ।

६ वर्ष यता सरकारले बनाइदिएका घरमा नियमित बस्दै आएका झुपे कामी भने आफूले बस्तीमा चौकीदारको काम गरेको बताउँछन् । बनेका घरमा बस्ने मानिस नभएपछि आफूले मात्र घर कुर्दै आएको उनको भनाई छ । ‘सुरुका दिनमा २/४ परिवार आएर बसेपनि उनीहरु पुरानै घरमा फर्के,’ उनले भने, ‘राज्यले योजनाबिना काम गर्दा ठूलो रकम खर्च गयो ।’ यहाँ बनेका घरमा मान्छेहरु नबस्दा घर जीर्ण हुँदै गएका छन् । सरकारी तथ्यांक हेर्ने हो भने सुर्खेतमा मात्र ४ सय ५६ परिवार मुक्त हलियाहरु देखिन्छन् भने भेरीगंगा नगरपालिका ३२ परिवारलाई गुर्भाकोटमा लगेर राखिएको छ ।

भेरीगंगा नगरपालिका अन्तर्गत पर्ने साबिकको मैनतडा गाविसका हलियाहरुलाई सरकारले जमिन खरिद गरेर गुर्भाकोट नगरपालिकास्थित गुमीमा घर बनाइदिएको तथ्यांकमा देखिन्छ । तर, बनेका घरमा उनीहरु बस्न नमान्दा राज्यको लगानी खेर गएको छ । आइते कामीले जीविकोपार्जन गर्ने माध्यम नभएकाले आफूहरु सरकारले बनाएको स्थानमा नबसेको बताए ।

हलिायाहरु बनाइएका घरमा बसभन्दा विभिन्न बाहाना बनार उम्किन खोजेको बताउँछन मुक्त हलिया समाज सुर्खेतका अध्यक्ष यामराज मल्ल । उनले भने, ‘त्यो बस्तीमा आउनै मान्दैनन्, दुई कोठाको घरमात्र भएर बस्न बस्न नमानेको जस्तो लागेको छ ।’ गुर्भाकोट नगरपालिका मेयर हस्त पुनले के प्रयोजनमा बनाइएका भवन हुन् आफू जानकार नभएको बताए ।

प्रकाशित : जेष्ठ ६, २०८१ १७:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

काठमाडौं महानगरका मेयर बालेन्द्र शाहमाथि नगरसभामै भएको आलोचना र विरोधलाई कसरी लिनु भएको छ ?

x