काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकार स्वतन्त्र प्रेसको घाँटी निमोठ्ने कार्यमा उद्दत देखिएको नेपाल प्रेस युनियनको उपत्यका तथा प्रतिष्ठान प्रदेश समिति अध्यक्ष लिलाराज खनालले जनाएका छन् । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई प्रहरीले पक्राउ गरेपछि विज्ञप्ति जारी गर्दै अध्यक्ष खनालले सरकार स्वतन्त्र प्रेस विरोधी हर्कतमा लागेको उल्लेख गरेका छन् ।
कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियालाई मंगलबार कान्तिपुर दैनिकको कार्यालयबाट प्रहरीले पक्राउ गरेको हो । 'सरकारका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले जेठ ६ गते प्रतिनिधिसभामा उभिएर आमसंचार माध्यमविरुद्ध अपमानजनक ढंगले स्वतन्त्र प्रेसमाथि धावा वोल्ने धृष्टता गरेका थिए । स्वतन्त्र प्रेसमाथि राज्य दमनमा उत्रने संकेत गृहमन्त्रीले संसद्बाटै दिएका थिए,' अध्यक्ष खनालले लेखेका छन, 'आफैं फर्जी नागरिकता लिएकोमा दोषी ठहर भएका गृहमन्त्री लामिछानेले विभिन्न ४ वटा सहकारी संस्थाको रकम अपचलन गरेको आरोपमा देशव्यापी विरोध भइरहेको छ । दुई, दुई वटा राहदानी प्रयोग गरी कानको धज्जी उडाइरहेका गृहमन्त्री लामिछाने सहकारी ठगी प्रकरणमा मुछिएको विभिन्न प्रमाण र सूचनाहरु कान्तिपुर दैनिक र उसका अन्य प्रकाशनहरुले नियमित रुपमा प्रकाशन र प्रसारण गरिरहेका थिए । आफूबिरुद्ध समाचार लेखेको भन्दै गृहमन्त्री लामिछानेले प्रतिशोध साँध्नकै लागि आफूलाई गिरफ्तार गरेको सिरोहियाले जनाएका छन् ।'
गृहमन्त्री लामिछानेले ब्ल्याकमेलिङ गर्न कान्तिपुर मिडिया ग्रुपको कार्यालयमा रहेका बेला बर्दिधारी प्रहरी लगाएर अध्यक्ष सिरोहियालाई पक्राउ गरिएको युनियनको भनाइ छ ।
