काठमाडौँ — नेकपा एमाले उपमहासचिव प्रदीप ज्ञवालीले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गरी राज्यलेले संयमता गुमाएको बताएका छन् । उनले कुनै अभियोगमा व्यक्तिलाई पक्राउ गर्नुअघि पर्याप्त अनुसन्धान गर्नुपर्ने अभ्यास भएको उल्लेख गर्दै पक्राउ गर्नु पर्ने हो कि होइन ख्याल गर्नुपर्ने बताए ।
‘कान्तिपुर पब्लिकेशन्स्का अध्यक्ष केलाशजीलाई पक्राउ गर्नुपर्ने हो कि होइन भन्ने प्रश्न छन्,’ उनले भने, ‘कुनै पनि व्यक्तिलाई पक्राउ गर्नुपर्ने बेला राज्यले संयमता गुमाउनु हुँदैन । यो घटनामा राज्य संयमित नभएको देखिन्छ ।’
उनले सहकारीमा रकम हिनामिनामो विषय उठाइरहेको बेला कान्तिपुर र उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेबीच विवाद उत्पन्न भएको उल्लेख गर्दै सिरोहियालाई पक्राउ गर्नु त्यसकै प्रभाव नभएको पुष्टि हुनुपर्ने बताए । ‘सहकारीको रकम हिनामिनाको समाचारले कान्तिपुर र गृहमन्त्रीबीच विवाद देखिन्छ,’ उनले भने, ‘यो पक्राउमा त्यसको प्रभाव होइन भन्ने पुष्टि हुनुपर्छ ।’ उनले कानुन सबैले मान्नु पर्ने उल्लेख गर्दै कुनै विषयमा गल्ती गरेमा त्यसको सजाय पाउनुपर्ने बताए ।
