काठमाडौँ — कान्तिपुर मिडिया ग्रुपका प्रबन्ध निर्देशक कैलाश सिरोहियालाई कार्यकक्षबाटै पक्राउ गरिएको घटनाप्रति सामुदायिक रेडियो प्रसारक संघ (अकोराब) नेपालले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
कुनै पनि आरोपबारे राज्यका निकायले छानबिन गर्न पाउने कुरामा दुईमत नरहे पनि यो घटनाले केही गम्भीर शंका उपशंका जन्माएको अकोराबद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
‘गृहमन्त्री सहकारी ठगी प्रकरणमा जोडिएको बारेमा लगातार समाचार प्रकाशित गरिरहेको कान्तिपुर पब्लिकेसन्सका प्रबन्ध निर्देशक सिरोहियाले आफूमाथि लागेको आरोपबारे न्यायिक छानबिनमा सघाउने बताइरहेका बेला कार्यकक्षबाटै पक्राउ गरिनु स्वतन्त्र प्रेसविरुद्ध राज्यले साँध्ने निशाना र प्रतिशोधपूर्ण रहेको बुझ्न कठिन छैन,’ विज्ञप्तिमा भनिएको छ,‘एउटा स्वतन्त्र पत्रकारिता संस्थाका प्रमुखलाई यसरी अनावश्यक रूपमा थुनामा राख्नु निन्दनीय कदम हो । स्वतन्त्र पत्रकारिता प्रजातन्त्रको आधारशीला हो । सञ्चार जगतले निर्भीक र स्वतन्त्र रूपमा आफ्नो काम गर्न दिनुपर्छ ।’
विज्ञप्तिमा प्रहरी प्रशासनले पत्रकारहरूलाई यसरी निशाना बनाउनु उचित नभएको र उक्त घटनालाई अकोराब विरोध गर्दै प्रजातान्त्रिक मूल्य मान्यतालाई कायम राख्न सरकारसँग आग्रह गरेको छ ।
