काठमाडौँ — सरकारको नेतृत्व गरेको माओवादी सचिव राम कार्कीले कान्तिपुर पब्लिकेशन्स् लिमिटेडका अध्यक्ष सिरोहियालाई आवश्यक सोधपुछ समेत नगरी पक्राउ गरेकाले सरकारको नियतप्रति आशंका उत्पन्न भएको बताए । उनले नागरिकता लिएको विषयमा सोधपुछनै नगरी पक्राउको आदेश गर्नु र पक्रनु अपरिपक्व निर्णय भएको बताए ।
‘जुन विषयमा अभियोग लगाएर पक्राउ गरियो । यो परिस्थितिमा तुरुन्तै पक्राउ गर्ने अवस्था देखिँदैन,’ उनले भने, ‘नागरिकतामा प्रश्न उठेपछि बोलाएर बयान नलिई पक्राउ गरी गिरफ्तार गरेपछि सरकारप्रति आशंका उठेको छ ।’ उनले सहकारीको रकम हिनामिनाको विषयमा कान्तिपुरले निरन्तर खबरदारी गरिरहको बेला अध्यक्ष सिरोहियालाई पक्राउ गर्नु ‘कुखुरा हराउनु र स्याल कराउनु’ जस्तै भएको बताए ।
कार्कीले स्वयं गृहमन्त्रीलाई पनि नागरिकताको विवाद हुँदा पक्राउ नगरिएको उदाहरण दिँदै नागरिकतामाथि प्रश्न उठ्दा कसैलाई पक्राउ गर्नु, कसैलाई नगर्नु कानुनी हिसाबले समान व्यवहार नभएको बताए।
उनले मुलुकमा भएका व्यथिति, अनियमितताप्रति खबरदारी गरेको भरमा ठूलो वा सानो मिडियामाथि हात हाल्नु गलत हुने बताए । ‘राज्यमा भएका व्यथितिप्रति खबरदारी गरिरहेका मिडियामा हात हाल्दा १० पटक सोच्नुपर्छ,’ उनले भने, ‘यसमा सरकारको परिपक्वता देखिएन ।’
