२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०९

कार्यालय प्रमुखको कार्यकक्षमै उपप्रमुखद्वारा कर्मचारीमाथि हातपात

महेश केसी

रुकुम पश्चिम — रुकुम पश्चिमको मुसीकोट नगरपालिकाका उपप्रमुख विमलकुमार पुनले आफ्नै नगरका शिक्षा शाखाका निमित्त अधिकृतमाथि हातपात गरेका छन् । मुसीकोट-१ को त्रिभुवन जनता माध्यमिक विद्यालयमा करार शिक्षक पदपूर्तिको परीक्षा संञ्चालनका क्रममा आफूमाथि हातपात भएको अधिकृत नरेन्द्र ओलीले बताए । 

कार्यालय प्रमुखको कार्यकक्षमै उपप्रमुखद्वारा कर्मचारीमाथि हातपात

त्रिभुवन माविले लेखा विषयमा करार शिक्षक माग गरेर शनिबार परीक्षा तोकेको थियो । त्यसैअनुसार परीक्षा संञ्चालनको तयारी गरिरहेका बेला उपप्रमुख पुन कार्यकक्षमा पसेर ओलीमाथि हातपात गरेको त्रिभुवन माविका विद्यालय व्यवस्थापन समिति अध्यक्ष नरेन्द्र केसीले बताए । ‘पूर्वनिर्धारित कार्यक्रमअनुसार हामी परीक्षा सञ्चालनको तयारीका भएका बेला उपप्रमुख आउनुभयो र बिनाजानकारी किन गरेको भनेर हातपातमा उत्रिनुभयो,’ उनले भने ।

घटनापछि हाललाई परीक्षा स्थगित गरिएको जनाउँदै अध्यक्ष केसीले विद्यालयमा शिक्षक भर्ना गर्नका लागि विद्यालय व्यवस्थापन समितिको अध्यक्षतामा नगरपालिकाको शिक्षा शाखा प्रमुख, नगरपालिकाले ताकेको विषय विज्ञ र सम्बन्धित विद्यालयका प्रधानाध्यापक सदस्य रहेको ४ सदस्यीय शिक्षक छनोट समिति हुने प्रवधानअनुरुप अघि बढको बताए ।

उनले भने, ‘उपप्रमुखलाई जानकारी किन भएन भन्ने कुरा त्यो उहाँको कुरा हो । हामी सबै विधिप्रक्रिया पूरा गरेरै परीक्षा गर्ने तयारीमा थियौं । तर उहाँ त भौतिक आक्रमणमै उत्रिनुभयो ।’

आफ्नो कुनै गल्ती भएको भए कानुनतः सजाय भोग्न आफू तयार रहेको तर यस प्रकारको आक्रमण भने नसहने निमित्त अधिकृत ओलीले बताए । आफूले कानुनी उपचार खोज्ने पनि उनले बताए ।

उपप्रमुख विमलकुमार पुनले भने आफूले कसैलाई पनि भौतिक आक्रमण नगरेको बताएका छन् । ‘मलाई जानकारी नै नदिएर परीक्षा किन सञ्चालन भयो भन्ने विषयमा मेरो आपत्ति हो । तर मैले कसैलाई कुटपिट गरेको छैन ।’ नगर प्रमुख लगायतले आफ्नो मान्छे शिक्षक बनाउन विधिविपरीत काम गरेको उनको आरोप छ ।

प्रकाशित : भाद्र ९, २०८० १६:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कांग्रेसले 'वेल' घेरेर नाराबाजी गरिरहेका बेला प्रधानमन्त्रीले प्रतिनिधिसभामा विश्वासको मत लिएको घटनालाई कसरी लिनु भएको छ ?