कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

नेपाली समुदायबीच बेलायती प्रधानमन्त्री, सहयोगको प्रतिबद्धता 

नवीन पोखरेल

लन्डन — बेलायती प्रधानमन्त्री ऋषि सुनकले बेलायत र नेपालबीच व्यापार, लगानीजस्ता आर्थिक सम्बन्ध तथा जलवायु परिवर्तनका क्षेत्रमा सहयोग र सहकार्य अभिवृद्धिको प्रतिबद्धता व्यक्त गरेका छन् । 

नेपाली समुदायबीच बेलायती प्रधानमन्त्री, सहयोगको प्रतिबद्धता 

नेपाल र संयु्क्त अधिराज्य (बेलायत) बीच सन् १९२३ मा सम्पन्न मैत्री सन्धि हस्ताक्षर भएको एक सय वर्ष पूरा भएको अवसरमा सोमबार बेलायती प्रधानमन्त्री कार्यालयमा आयोजित एक विशेष समारोहमा सुनकले उक्त प्रतिबद्धता व्यक्त गरेका हुन् ।

प्रधानमन्त्री सुनकले नेपाल र बेलायतबीच ऐतिहासिक सम्बन्धका विभिन्न आयामबारे चर्चा गर्दै द्विपक्षीय सम्बन्धमा ब्रिटिस गोर्खाको योगदानको प्रशंसा पनि गरे । पहिलोपटक आफ्नै कार्यालय टेन डाउनिङ स्ट्रिटमा नेपाली समुदायलाई सम्बोधन गरेका प्रधानमन्त्रीले बेलायती राजा चार्ल्सको विगतको नेपाल भ्रमण स्मरण गर्दै बेलायतस्थित नेपाली डायस्पोराले विभिन्न क्षेत्रमा गरेको ख्यातिप्राप्त काम र उपलब्धिबाट आफू प्रेरित भएको समेत बताए । प्रधानमन्त्री सुनकलाई बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले फूलको माला, खादा र समाजसेवी व्यवसायी रवीन्द्रजंग लामिछानेले खादा लगाइदिएर स्वागत गरेका थिए ।

कार्यक्रममा बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले सन् १९२३ मा सम्पन्न मैत्री सन्धिको महत्वबारे जानकारी दिँदै उक्त सन्धिपश्चात् अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको उपस्थिति र अन्तर्राष्ट्रिय सम्बन्ध प्रवर्धन गर्न महत्त्वपूर्ण योगदान गरेको उल्लेख गरे ।

नेपालमा हालसम्म भएका सामाजिक एवं राजनीतिक परिवर्तन तथा हासिल गरेका प्रगतिका बारेमा जानकारी दिँदै राजदूत आचार्यले बेलायतले नेपालको विकासमा पुर्‍याएको सहयोगका लागि धन्यवाद पनि दिए । साथै, आचार्यले आगामी १०० वर्षमा नेपाल–बेलायत द्विपक्षीय सम्बन्धलाई थप क्षेत्रहरुमा विस्तार गरी सम्बन्ध अझ सुदृढ हुने विश्वास समेत व्यक्त गरे ।

बेलायतकी विदेश राज्यमन्त्री आन मारी ट्रेवल्यानले बेलायत र नेपालबीचको अत्यन्त घनिष्ठ सम्बन्धको बारेमा बताउँदै बेलायतले नेपालको विकास प्रयासहरूमा गरिरहेको सहयोग जारी रहने र आर्थिक सम्बन्धलाई थप विस्तार गरी नेपालको मध्यम आय भएको मुलुक बन्ने लक्ष्यमा सहयोग पुर्‍याउने बताइन् ।

कार्यक्रममा बेलायतमा विभिन्न पेसा तथा व्यवसायमा आबद्ध नेपाली समुदाय, भूतपूर्व गोर्खा, बेलायती सांसद तथा उच्चपदस्थ अधिकारीहरू एवं नेपालप्रति माया गर्ने बेलायतीहरूको उपस्थिति थियो ।

नेपाल तथा बेलायतबीच सन् १९२३ को मैत्री सन्धि हस्ताक्षर भएको सय वर्ष पुगेको उपलक्ष्यमा विभिन्न कार्यक्रम आयोजना गरी मनाउने सिलसिलामा प्रधानमन्त्री कार्यालयमा कार्यक्रम भएको हो । कार्यक्रम गर्न लन्डनस्थित नेपाली दूतावास र नेपाली समुदायका अग्रज रवीन्द्रजंग लामिछाने, प्रशान्त कुँवर, नेपाली मूलका काउन्सिलरहरूलगायतको सहयोग थियो । कार्यक्रममा सम्बोधन गर्नुअघि प्रधानमन्त्री सुनकलाई राजदूत आचार्यले सन्धिबारे प्रस्ट पारेका थिए ।


प्रकाशित : जेष्ठ ८, २०८१ ०८:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×