कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८७

मधेशमा धराशायी हुँदै इँटा उद्योग

आर्थिक शिथिलताले इँटा बिक्री हुन छाडेपछि ऋणको पासोमा पर्दै उद्यमी, ६ सय ४२ इँटा उद्योगमध्ये ३ सय ७४ बन्द भए
शिव पुरी

रौतहट — गुजरा–५, पल्टुवास्थित रामजानकी इँटा उद्योगका सञ्चालक मोहन साहको मोबाइलमा अघिल्लो बिहीबार दिउँसो लगातार घण्टी बजिरह्यो । उनी हेरी राख्थे मात्र, तर फोन उठाउँदैनथे । तर फोनको घण्टी बज्नासाथ उनको अनुहार एकाएक मलिन बन्यो । उनी निराश देखिए । उनलाई तारन्तार फोन गर्ने व्यक्ति वीरगन्जका कोइला व्यवसायी थिए ।

मधेशमा धराशायी हुँदै इँटा उद्योग

कोइलाबापतको रकम माग्न व्यापारीले तारन्तार फोन गरेका थिए । आर्थिक शिथिलताले इँटा बिक्री हुन छाडेपछि अहिले उनी तनावमा छन् । हिजोआज उनलाई राम्रोसँग निद्रा परेको छैन । खाना पनि त्यति रुच्दैन । इँटाभट्टाको दक्षिणतर्फ रहेको सानो कार्यालय बाहिर कुर्सीमा टोलाएर बसिरहेका साहलाई हालखबर के छ भनेर प्रश्न गर्दा उनले सहजै जवाफ दिन्थे, ‘खबर तनाब छ ।’

जिल्लाको सबैभन्दा ठूलो इँटाभट्टामध्ये साहको एक हो । १३ वर्षदेखि व्यवसायमा लागेका उनको पाँच वर्षअघिसम्म आर्थिक अवस्था ठीकठाक थियो । व्यवसाय राम्रो चलेको थियो । भट्टामै इँटा खरिद गर्न बाहिरका व्यापारी आउँथे । मोलमोलाइ हुन्थ्यो । १२/१३ रुपैयाँसम्ममा इँटा बिक्री हुन्थ्यो । ‘अहिले टोलाएर बस्नुको विकल्प छैन, पेसा छाडौं ऋणले छाड्दैन, निरन्तरता दिऊँ, प्रत्येक सिजनमा घाटाको व्यापार गर्नुपरेको छ,’ उनले भने । कोभिड–१९ अघिसम्म उनले सफलता हात पार्दा चमत्कार जस्तै भएको थियो । ०७५ सालयता खस्किँदो व्यवसायलाई सफल पार्न उनले गर्न सक्ने कुनै कसर बाँकी राखेनन् । अहिले साह सस्तोमै भए पनि इँटा बेचेर ऋणमुक्त हुन खोज्दै छन् ।

आर्थिक शिथिलताका उनले दुई वर्षभित्र झन्डै दुई करोडको उधारो इँटा बिक्री गरेका छन् । त्यही रकम असुल गर्न धौधौ परेको उनी सुनाउँछन् । गाउँघर र बैंकको गरी दुई करोडभन्दा बढी ऋण उनीमाथि छ । नगदमा इँटा बिक्री हुने हो भने ऋणको चिन्ता उनलाई हुने थिएन । ‘आफूले सोचे जस्तो समय छैन, आर्थिक शिथिलताले उधारो रकम उठ्दैन,’ उनले थपे । साहले सञ्चालन गरेको उद्योगमा एक पटकमा झन्डै १५ लाख इँटा उत्पादन हुन्छ । उनको उद्योगमा झन्डै २ सय हाराहारीमा कामदार छन् ।

आधुनिक इँटाभट्टा सञ्चालन गर्न साहलाई सुरुमै १ करोड पुँजी लागेको थियो । त्यसपछि ५ करोडसम्म लगानी भएको साहले सुनाए । १२/१३ रुपैयाँसम्ममा बिक्री हुँदै आएकोमा अहिले ह्वात्तै घटेर अहिले ८ रुपैयाँमा इँटा बिक्री हुन्छ । साह रौतहट इँटा व्यवसायी संघका सचिव पनि हुन् । इँटा पोल्न प्रयोग हुने कोइलाको मूल्य दिन प्रतिदिन बढ्दै गएको छ । तर इँटाको बिक्री मूल्य खस्कँदै गएपछि व्यवसाय धराशायी बनेको अर्का व्यवसायी गगनदेव साहले सुनाए । ‘अर्को व्यवसाय गरौं, केही जानेको छैन, यसैमा सारा लगानी र समय खर्चेका छौं,’ उनले भने, ‘एक दिन आर्थिक शिथिलता नहोला भन्ने समय कुरेर बसेका छौं ।’

लगानीअनुसारको भाउमा इँटा बिक्री गर्न नपाएपछि समस्या भएको उनले सुनाए । एउटा इँटा तयार गर्दा ८ रुपैयाँसम्म खर्च हुने व्यवसायीको भनाइ छ । तर मुनाफा नै नहुने भाउमा इँटा बेच्नुपर्दा तनाव हुन थालेको अर्का इँटा व्यवसायी शेख नौसादले बताए । गुजरा नगरपालिकामा मात्र १९ वटा इँटा उद्योग रहेको साहले जानकारी दिए । जिल्लाभर १ सय ६३ वटा इँटा उद्योग सञ्चालनमा थिए । यस वर्ष ४२ वटा मात्र सञ्चालनमा रहेको रौतहट इँटा उद्योग संघका अध्यक्ष रामविनोद साहले बताए ।

अध्यक्ष साहको भट्टामा गत वर्ष बिक्री नभएर राखेको झन्डै २० लाख इँटा छन् । यस वर्ष पनि उनले भट्टा सञ्चालन गरेका छन् । सिजनमा तीन राउन्ड चल्न सक्यो भने साँवा असुल हुन्छ । त्योभन्दा कम भयो भने घाटा हुने व्यवसायी बताउँछन् । जिल्लामा सञ्चालनमा रहेकामध्ये १० वटा भट्टा मात्र राम्ररी चलेका छन् । प्रायःले एकदेखि तीन फेरा मात्र चलाएका छन् । समय र आर्थिक अवस्था बलियो भएर भट्टा सञ्चालन गर्दा एक सिजनमा ५/६ फेरासम्म आगो लगाउन सकिने व्यवसायीको भनाइ छ ।

राजपुर नगरपालिकास्थित भगवान् चोकमा रहेको बेस्ट इँटा उद्योग गत वर्ष नै बन्द भयो । जिल्लाको सबैभन्दा ठूलो र राम्रो भट्टामा पर्ने उक्त उद्योग आर्थिक मन्दीकै कारण बन्द भएको हो । आर्थिक संकट गहिरिँदै गएपछि बाध्य भएर भट्टा बन्द गर्नुपरेको उद्योग सञ्चालक शेख अमिरुल्लाहले गुनासो गरे । ‘समयमा इँटा बिक्री हुँदैन, कोइलाको मूल्य अकासिएर खरिद गर्न नसक्ने अवस्थामा पुगेको छ,’ उनले भने, ‘भट्टा सञ्चालन गर्न नसक्ने अवस्थाकै कारण बन्द गर्नुपरेको हो ।’ आर्थिक शिथिलताका कारण गत वर्ष नै भट्टा बन्द गरेर बसेको अर्का इँटा व्यवसायी मोहम्मद अमारुलले गुनासो गरे ।

बजारमा कोइलाको मूल्य प्रतिकिलो ४३ देखि ४८ रुपैयाँसम्म पर्छ । इँटा उद्योग सञ्चालन गर्नेहरू ‘डिप्रेसन’मा जान थालेको संघका सचिव साहको भनाइ छ । नेपालमा सबैभन्दा धेरै मधेशमा ६ सय ४२ सय इँटा उद्योग दर्तामा रहेको नेपाल इँटा उद्योग महासघ मधेश प्रदेशका अध्यक्ष विक्रम साहले जानकारी दिए । त्यसमध्ये अहिले २ सय ६८ मात्र सञ्चालनमा रहेको उनको भनाइ छ ।

देशभर १ हजार २ सय ३० इँटाभट्टा रहेको उनले जनाए । ‘नेपाल इँटामा आत्मनिर्भर छ । तर पनि राज्यले इँटा उद्योगलाई प्रोत्साहन गर्ने काम गर्दैन,’ महासंघका अध्यक्ष साहले भने, ‘आर्थिक शिथिलताले ब्यवसायीहरूले उत्पादन गरेको इँटा बजारमा खपत हुन छाडेको छ । राज्यले खपत बढाउनतिर ध्यान दिनुपर्छ । सरकारले सहुलियत कर्जा र त्यसको साँवा–ब्याज तिर्ने समय बढाउनुपर्छ ।’ सरकारले जथाभावी उद्योग दर्ता गराउन लागेको अध्यक्ष साहले जनाए । मधेशमा मात्र गत वर्ष ४० करोड इँटा बिक्री हुन नसकेर त्यत्तिकै बसेको अध्यक्ष साहको भनाइ छ । मधेशमा मात्र ५४ हजार मजदुरले इँटाभट्टामा रोजगारी पाएको अध्यक्ष साहले जनाए ।

तीन वर्षअघिसम्म मधेशबाट दिनको दुई सयभन्दा बढी ट्रक लोड भएर चितवन, पोखरा, हेटौंडा, गोरखालगायतका सहरमा इँटा जान्थ्यो । अहिले मुस्किलले २०/२५ ट्रक पनि लोड हुन नसकेको रौतहट इँटा व्यवसायी संघले जनाएको छ । यहाँ उत्पादन हुने इँटा सबैभन्दा बढी चितवन र पोखरामा खपत हुने व्यवसायी बताउँछन् ।

प्रकाशित : जेष्ठ ८, २०८१ ०७:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

काठमाडौं महानगरका मेयर बालेन्द्र शाहमाथि नगरसभामै भएको आलोचना र विरोधलाई कसरी लिनु भएको छ ?

x