कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८७

बालबालिकालाई किताबको भार

विद्यालय सामुदायिक होऊन् वा निजी । कसले कस्तो जीवनोपयोगी सीप र ज्ञान बाँड्ने भन्दा पनि कसले धेरै र मोटा पुस्तक राख्ने भन्ने विषयमा अघोषित अस्वस्थ प्रतिस्पर्धा चलिरहेको देखिन्छ ।
मधु राई

मेरो विद्यालयमा नर्सरी अर्थात् शिशुकक्षालाई पाठ्यपुस्तकमुक्त बनाएको दशकभन्दा बढी भयो । यसले एकातिर अभिभावकको व्ययभार घटेको छ, अर्कातिर विद्यार्थीले पुस्तकको भारी बोक्नुपरेको छैन । विद्यालयले वर्षभरि के कति पढाउने र सिकाउने भनी तयार पारेको पाठ्यसामग्री तथा अभ्याससहितको हातेपुस्तिका मैले कक्षा शिक्षकलाई दिने गरेकी छु । हामी शिक्षकहरू बेलाबेला साप्ताहिक भेलामा यसबारे छलफल पनि गर्छौं । 

बालबालिकालाई किताबको भार

बर्सेनि थपघट गर्नुका साथै शिक्षण विधि परिमार्जन गर्छौं । त्यतिमात्र होइन सक्रिय शिक्षण सिकाइअन्तर्गत शिशुकक्षालगायत एलकेजी र यूकेजीका लागि शैक्षिक सामग्री तथा कतिपय बालगीत आफैं तयार गर्छौं । शैक्षिक सामग्री निर्माणका लागि विद्यालयले एक सहयोगीसमेत राखेको छ । हामी साप्ताहिक शिक्षक संवादमा शिशुका लागि तयार पारेको पाठ्यसामग्रीबारे छलफल गर्छौं भने मासिक अभिभावक भेलामा अभिभावकलाई उक्त सामग्रीबारे जानकारी गराउँछौं । बेलाबखत उनीहरूलाई समेत यस्ता शैक्षिक सामग्री निर्माण कार्यमा सहभागी गराउँछौं । हाम्रो उक्त कार्यमा उनीहरूले पनि होस्टेमा हैंसे गर्दै आइरहेका छन् ।

कक्षा एलकेजीका लागि पनि सुरुवाती वर्षमा हामीले विज्ञान र सामाजिकका पाठ्यपुस्तक मात्र किन्न लगाउँथ्यौं भने अन्य अंग्रेजी, नेपाली र गणितका पाठ्यक्रम समावेश गरिएका अभ्याससहितको हातेपुस्तिका तयार गर्थ्यौं । केही वर्षदेखि भने एलकेजी र यूकेजीका विद्यार्थीले सबै विषयका पुस्तक किन्न थालेका छन् । खासगरी पूर्वप्राविभन्दा पनि माथिल्लो कक्षाका लागि पाठ्यपुस्तकको आवश्यकतालगायत यसमा समाविष्ट पाठ्यसामग्रीबारे शिक्षाविद् तथा सरोकारवालाबीच बृहत् छलफल भएको देखिन्न । यसले गर्दा पछिल्लो समय शिशुकक्षालगायत एलकेजी र यूकेजीका साना विद्यार्थी पुस्तकको भारी बोक्न अभिशप्त छन् ।

विशेषगरी अधिकांश निजी विद्यालयले पछिल्लो समय माथिल्लो कक्षाका विद्यार्थीले जस्तै पूर्वप्रावि तहमा शिशुकक्षाकालाई चारवटा तथा एलकेजी र यूकेजीका विद्यार्थीलाई पाँचवटा विषयका ठूला आकारका मोटामोटा पुस्तक किन्न सुझाउँदै आएका छन् । विषयगत ती मोटा पुस्तकसँगै विद्यार्थीले मोटै कापी किन्नुपर्ने हुन्छ । यसरी पूर्वप्राविका विद्यार्थीले पुस्तक र कापी गरी दैनिक सरदर दुईदेखि तीन केजीको भारी बोक्दै आएका छन् । उमेरका हिसाबले चार, पाँच वर्षका बालबालिका आफैंले ती पुस्तक र कापीको भार थेग्न सक्दैनन् र अभिभावकले नै बोकिदिनुपर्ने हुन्छ । भर्खरै बालविकास कक्षाबाट कक्षा १ मा उक्लिएका सामुदायिक विद्यालयका विद्यार्थीका लागि तयार पारिएका चारवटा पुस्तकका आकार र मोटाइ निजीका भन्दा केही इन्च बढी छ । हामी भने सबै पुस्तक कक्षाकोठामै राखिदिन्छौं र कहिलेकाहीँ मात्रै विषय मिलाएर घर पठाउँछौं ।

कुन कक्षा र उमेरका लागि कति पाना भएका पाठ्यपुस्तक विद्यार्थीलाई चाहिन्छ भन्ने विषयमा शिक्षाविद्, शिक्षाकर्मीलगायत तीनै तहका सरकार मौनजस्तै देखिएका छन् । सरोकारवाला नै मूकदर्शक बनिदिँदा विद्यालय र पुस्तक विक्रेतालाई हाइसन्चो जस्तै भएको छ भने बर्सेनि पुस्तक र कापी किन्नुपर्ने बाध्यताले अभिभावकको व्ययभार बढिरहेको छ । विद्यालय सामुदायिक होऊन् वा निजी । कसले कस्तो जीवनोपयोगी सीप र ज्ञान बाँड्ने भन्दा पनि कसले धेरै र मोटा पुस्तक राख्ने भन्ने विषयमा अघोषित अस्वस्थ प्रतिस्पर्धा चलिरहेको देखिन्छ । शिक्षकबाट विद्यार्थीमा ज्ञान हस्तान्तरण होइन पाठ्यपुस्तकमार्फत सूचना र सञ्चार मात्र हस्तान्तरण गर्ने परिपाटीलाई निरन्तरता दिन हामी लागिपरेका छौं ।

हाम्रा पालामा विद्यार्थी जीवनमा पुस्तक र कापीका लागि झोला बोक्नुपरेको सम्झना छैन । तिनताक साना आकारका चार/पाँच पुस्तक र सोहीअनुरूपका कापी हातैमा च्यापेर स्कुले शिक्षा पूरा गरियो । त्यसपछिका शिक्षा हासिल गर्दा पनि झोला बोकेको सम्झना छैन । ऊबेला कतिपय शिक्षक बेलाबेला पुस्तक नहेरी पढाउने गर्नुहुन्थ्यो । विशेषगरी भाषा शिक्षकले पढाउनुभएका कतिपय त्यस्ता ज्ञान मानसपटलमा ताजै छ । हामीकहाँ विद्यानाथ कोइरालाजस्ता शिक्षाविद्ले पाठ्यपुस्तकमुक्त कक्षाकोठा बनाउनुपर्छ भनेर विभिन्न सञ्चारमाध्यममार्फत विचार जनसमक्ष ल्याउने गरेका छन् । फिनल्यान्डमा विद्यार्थीले पाठ्यपुस्तकबिना स्कुले शिक्षा पूरा गर्ने, क्यानडामा पुस्तकालयबाट विद्यार्थीलाई पाठ्यपुस्तक सापटी दिने चलनबारे केही वर्षअघिको एक लेखमा उनले उल्लेख गरेका छन् । चीनमा एउटै पाठ्यपुस्तक दुई जनालाई पढ्न दिने संस्कार रहेको पनि उल्लेख छ ।

दुई दशकअघि भारतको सिक्किमअन्तर्गत गान्तोक घुम्न जाँदा वेस्ट पोइन्ट स्कुलका शिक्षकले विद्यार्थीलाई पुराना पुस्तक पढ्न प्रोत्साहित गरेको देखेँ । कतिपयले आफ्ना पुराना पुस्तक आधा मूल्यमा बिक्री गर्दा रहेछन्, विद्यार्थीले पनि ती पुस्तक जतनसाथ पढ्दा रहेछन् । उक्त स्कुलले विकास गरेको संस्कारले विद्यार्थीहरू बर्सेनि नयाँ पुस्तक किन्नुपर्ने बाध्यताबाट मुक्त छन् । विकसित मुलुकले पाठ्यपुस्तकको विकल्पमा विकास गरेको पद्धतिले सरकारको लगानी र जनशक्ति मात्र कटौती गरेको छैन, अभिभावकको व्ययभार घटाएको छ भने विद्यार्थीले पुस्तकको भारी बोक्नुपरेको छैन ।

तहगत शिक्षा हासिल गर्ने विद्यार्थीका लागि पाठ्यपुस्तकमा समेटिएका सामग्रीले सिकाइ र व्यक्तित्व विकासमा कस्तो प्रभाव पार्दैछ भन्ने विषयमा छलफल नहुँदाकै दुष्परिणाम विद्यार्थीहरूमा सिक्ने भोक हराउँदै गएको छ । हामीकहाँ सरकार तथा शिक्षाका सरोकारवालाको प्राथमिकतामा स्कुले शिक्षा नपरेका कारण पनि पाठ्यपुस्तकको अनिवार्यता बढ्दै गएको देखिन्छ । विशेषगरी पूर्वप्रावि तथा प्रावितहका कक्षाहरूलाई पाठ्यपुस्तकमुक्त बनाउन सर्वप्रथम तीनै तहका सरकार संवेदनशील बन्न जरुरी छ ।

प्रकाशित : जेष्ठ ८, २०८१ ०७:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

काठमाडौं महानगरका मेयर बालेन्द्र शाहमाथि नगरसभामै भएको आलोचना र विरोधलाई कसरी लिनु भएको छ ?

x