कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

कान्सको रेड कार्पेटमा मेयर बालेन

काठमाडौं महानगरका मेयर बालेन शाह संसारकै प्रतिष्ठित कान्स फिल्म फेस्टिभलमा सहभागी भएर फर्केका छन्, निर्देशक फ्रान्सिस फोर्ड कोपोलाद्वारा निर्देशित ‘मेगलापोलिस’ को वर्ल्ड प्रिमियरमा बालेन सहभागी भए
रीना मोक्तान

काठमाडौँ — काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन) संसारकै प्रतिष्ठित ‘कान्स फिल्म फेस्टिभल’मा सहभागी भई काठमाडौं फर्केका छन् । प्रख्यात फिल्म निर्देशक फ्रान्सिस फोर्ड कोपोलाद्वारा निर्देशित ‘मेगलापोलिस’को प्रिमियर (जेठ ३) मा फिल्म हेर्दै रेड कार्पेटमा हिँडेका शाह मंगलबार फर्केका हुन् । 

कान्सको रेड कार्पेटमा मेयर बालेन

‘गडफादर’ जस्तो मास्टरपिस फिल्मका निर्देशक कोपोलाको लामो समयदेखिको ‘प्यासन प्रोजेक्ट’का रूपमा चर्चित यो फिल्म हेर्न कान्सका मेयर डेभिड लिसनार्डको निमन्त्रणामा मेयरसँगै व्यवस्थापन सल्लाहकार कुमार व्यञ्जनकार, पूर्वाधार सल्लाहकार सुनिल लम्साल जेठ १ मा फ्रान्स उडेका थिए । साइन्स फिक्सन विधाको यो फिल्ममा मेयरकै कथा जोडिएको छ । ‘मेगलापोलिस’ले भविष्यको न्युयोर्क सहरको कल्पना गर्दै एउटा यस्तो वास्तुकारको कथा भन्छ, जो तहसनहस भइसकेको सहरलाई पुनर्निर्माण गर्ने ध्याउन्नमा हुन्छन् । तर, उनको यो योजनाअघि भ्रष्ट मेयर खडा भइदिन्छन् ।

काठमाडौं महानगरले यो वर्ष ‘युनेस्को’को क्रियटिभ फिल्म सिटी (फिल्मको रचनात्मक सहर) को मान्यता प्राप्त गर्‍यो । युनेस्कोको यही मान्यता पाएको कान्सले मेयर शाहलाई फिल्म फेस्टिभलमा सहभागी हुन निम्तो दिएको थियो । युनेस्कोले मान्यता दिएको कान्स पनि फिल्मको रचनात्मक सहरमध्येमै पर्छ । ‘युनेस्कोले रचनात्मक सहरका मेयरलाई फेस्टिभलमा हरेक वर्ष पठाउँदो रहेछ । त्यसअन्तर्गत हामीलाई कान्सको मेयरले बोलाउनुभयो,’ व्यञ्जनकारले भने, ‘त्यो फेस्टिभल कान्सको एकदमै ठूलो महोत्सव रहेछ । निजीस्तरबाट सुरु भए पनि स्थानीय सरकारले आर्थिक पक्षबाट ठूलो लगानी गर्दोरहेछ ।’

‘मेगलापोलिस’को विश्व प्रिमियरका दिन मेयर शाहले रेड कार्पेट नाप्दा बलिउड अभिनेत्री ऐश्वर्य राय बच्चनले पनि त्यहीं उपस्थित थिइन् । ‘मेगलापोलिस’को विश्व प्रिमियर हेर्नुका साथै शाह मेयरहरूका लागि मात्रै आयोजना गरिएको ककटेल रिसेप्सन र ककटेल डिनरमा सहभागी भएका थिए । त्यस क्रममा शाहले फिल्ममार्फत नै कुनै एउटा सहर विश्वचर्चित भएको विषयमा कुराकानी गरेका थिए । ‘उनीहरूले कान्सलाई कसरी फिल्मी सहर बनाए भन्ने अनौठो अनुभव हाम्रो मेयरले गर्नुभयो । संसारभरका सेलिब्रेटीसँगै दुई/तीन लाख दर्शकको उपस्थिति रहेको फेस्टिभलले त एउटा सहरलाई संसारभर चिनाउने भयो,’ व्यञ्जनकार भन्छन्, ‘त्यहाँ त सहरभरि नै फिल्मको मात्र कुरा हुन्थ्यो । सहरका गल्लीमा बलिउडदेखि हलिउडका सेलिब्रेटी देखिन्थे ।’

कान्सको अनुभवले यस किसिमको फिल्म फेस्टिभल काठमाडौंमै पनि आयोजना गर्न सकिने सम्भावना र सिकाइ मेयर शाहले बटुलेका छन् । व्यवस्थापन सल्लाहकार व्यञ्जनकारका अनुसार अब काठमाडौं महानगर छुट्टै ‘फिल्म फेस्टिभल’ आयोजना गर्ने योजनामा छ । चलचित्र विकास बोर्डजस्तै ‘काठमाडौं फिल्म बोर्ड’ बनाउने तयारीमा छ । फेस्टिभलमार्फत नेपाली फिल्मलाई कसरी जोड्ने, अन्तर्राष्ट्रिय स्तरमा उनीहरूलाई पुर्‍याउने भन्नेमा जोड दिइने पनि उनले बताए ।

‘यो कान्सको ७७ औं संस्करण रहेछ । हामीले त्यही स्तरको फेस्टिभल एकै वर्षमा आयोजना गर्न नसकौंला । तर, ५/७ वर्षमा त्यस किसिमको फेस्टिभल आयोजना गरौं भन्ने मेयरको धारणा छ,’ उनले भने, ‘त्यसमा फिल्म मार्केट बनाउनेदेखि अन्तर्राष्ट्रिय बजारमा नेपाली फिल्मलाई पुर्‍याउनेसम्मका योजना छन् ।’ व्यञ्जनकारका अनुसार भविष्यमा कान्स पुग्ने नेपाली फिल्मकर्मीको सहजीकरणका लागि काठमाडौं महानगरले भूमिका खेल्नेछ । छायांकनका लागि नेपाल आउने फिल्मलाई सहजीकरण गर्न पनि महानगरले सहयोग गर्ने उनको भनाइ छ । हालै सरकारले पेस गरेको नीति तथा कार्यक्रममा समेत हलिउड/बलिउडका फिल्मलाई नेपालमा छायांकनका लागि आकर्षित गरिने विषय समेटिएको थियो ।

यस पटक कान्समा छनोट भएको ‘द सेमलेस’मार्फत ‍नेपाललाई छायांकन स्थलका रूपमा चिनाउने सम्भावना निकै थियो । यद्यपि, त्यो सोचअनुसार भने भएको देखिँदैन । ‘द सेमलेस’को ९० प्रतिशत छायांकन नेपालमै भएको हो । बुल्गेरियन निर्देशकले बनाएको यो फिल्ममा नेपाली कलाकारहरू लुनिभा तुलाधर, पूर्वमिस नेपाल निकिता चान्डक, प्रकाश घिमिरे, सरिता शाहलगायतको अभिनय छ । यो फिल्ममा एसोसियट प्रोडुसरका रूपमा नेपाली निर्देशक शान्ता नेपाली जोडिएकी छन् ।

फ्रान्स, स्विट्जरल्यान्ड, ताइवानको निर्माणमा तयार भएको यो फिल्म कोटेश्वरदेखि असन, जनकपुर लगायतका ठाउँमा छायांकन भएको हो । यो फिल्म प्रदर्शन हुने समय र मेयर कान्स पुग्ने दिन नमिल्दा उनले फिल्म हेर्न पाएनन् । शान्ताकै कम्पनी शान्ता नेपाली प्रोडक्सन लाइन प्रडुसर रहेको फिल्ममार्फत शाहले कान्समै पनि नेपाललाई छायांकनका रूपमा चिनाउन सक्ने अवसर समयकै कारण गुमेको शान्ता बताउँछिन् ।

‘द सेमलेस हाम्रै कथामा नबने पनि यसमा नेपाली कलाकार जोडिए, फिल्मले नेपालमा ठूलो पैसा खर्च गरेको छ,’ शान्ताले भनिन्, ‘त्यसका साथै फिल्मका कारण नेपाल छायांकनका लागि उपयुक्त रहेछ भन्ने थाहा भयो । फिल्म पुग्दा मेयर पनि कान्स पुग्नुभयो । तर कान्समा नेपालको कुनै स्टल नभएकाले मेयरले नेपाललाई छायांकन स्थलका रूपमा चिनाउने अवसर गुम्यो ।’ शान्ता आफैं पनि समय अभावले कान्समा सहभागी हुन पाइनन् । ‘काठमाडौंमै खिचेको फिल्म त्यस्तो महोत्सवमा पुग्नु र मेयर पनि त्यहाँ पुगेकाले नेपाललाई छायांकन स्थलका रूपमा चिनाउन सकिने अवसर थियो । तर, यो पटक यस्तै भयो,’ उनले भनिन् ।

पछिल्लो समय कान्समा ‘लोरी’मार्फत स्पेसल मेन्सन जितेका निर्देशक अविनाश विक्रम शाह मेयर यस्तो महोत्सवमा पुग्दा त्यसले फिल्मको महत्त्व फराकिलो हुने बताउँछन् । ‘यदि फिल्म महोत्सवमा सरकारी प्रतिनिधिको उपस्थित हुँदा वा फिल्म क्षेत्रभन्दा बाहिरको उनी (बालेन) जस्तै चर्चित व्यक्ति महोत्सवमा पुग्दा फिल्मको महत्त्व अरूले पनि बुझ्छन्,’ उनले भने । महानगरले कान्सजस्तै फेस्टिभल सुरु गर्नेमा उनी आशावादी छन् । ‘उहाँ (मेयर)ले अब नेपाली फिल्मकर्मीलाई त्यहाँ पुग्न सहयोग गर्नुहुन्छ भन्नेमा पनि आशावादी छौं,’ अविनाशले भने, ‘नेपाली फिल्मकर्मीलाई त्यहाँसम्म पुग्न हौसला दिन पनि सक्नुहुनेछ ।’

यो वर्ष ‘गाउँ आएको बाटो’ मार्फत विश्वका चर्चित फिल्म फेस्टिभल ‘टोरोन्टो’, ‘बुसान’ पुगेका निर्देशक नवीन सुब्बा मेयर शाहको भ्रमणले नीति निर्मातामा सकारात्मक सन्देश पुर्‍याउनुपर्ने धारणा राख्छन् । ‘त्यो स्तरको फिल्म फेस्टिभल काठमाडौंमा गर्नुपर्छ भन्ने चेतना बालेनजीले बोकेर आउनुभएको छ भने त्यो त फिल्म क्षेत्रकै लागि पनि उपयुक्त हुन्थ्यो,’ सुब्बाले भने । फिल्म समीक्षक यज्ञश पनि फिल्म क्षेत्रलाई बेवास्ता गर्ने राजनीतिज्ञबीच मेयर यस्तो महोत्सवमा पुग्नुलाई सकारात्मक रूपमा हेर्छन् । ‘फिल्म क्षेत्रलाई नेपालको राजनीतिज्ञले वास्ता नदेखाइरहेका र फिल्मप्रतिको ज्ञान नराखेको अवस्थामा महानगरको मेयर यस्ता फेस्टिभलमा पुग्नु त सकारात्मक पक्ष नै हो,’ यज्ञश भन्छन् । यस्ता महोत्सवमा सहभागी भइसकेपछि त्यही स्तरको फिल्म फेस्टिभल आयोजना गर्न मेयर शाहको टोली लाग्नुपर्ने यज्ञशको सुझाव छ ।

बर्लिन फिल्म फेस्टिभललाई जर्मन सरकार र बर्लिन महानगरले आयोजना गर्छ । भेनिस र लोकार्नोजस्ता फेस्टिभल त्यहाँका स्थानीय सरकारको सहयोगमा आयोजना हुन्छन् । ‘काठमाडौं पनि फिल्म सहर घोषित भयो,’ यज्ञशले भने, ‘सरकारका अरू निकायको ध्यान यता जाँदैन, त्यसैले पनि यो काम महानगरले गर्नुपर्छ ।’ फिल्म र संस्कृतिमार्फत नेपाललाई अन्तर्राष्ट्रिय प्लेटफर्ममा चिनाउनेदेखि कथा भन्ने अवसर भएको उनी बताउँछन् ।

काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव (किम्फ) आयोजना गर्दै आइरहेकी रम्यता लिम्बू फेस्टिभलमा मेयरले पाएको ‘एक्सपोजर’ निकै महत्त्वपूर्ण रहेको बताउँछिन् । यसले नेपाली फिल्म क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउने उनको आशा छ ।

यसै वर्ष ‘शाम्बाला’मार्फत बर्लिनको प्रमुख प्रतिस्पर्धामा पुगेका निर्देशक मीन भाम भविष्यमा यस्ता फेस्टिभलमा योजनासहित नै उपस्थिति जनाइनुपर्ने धारणा राख्छन् । ‘मेयर मात्रै होइन, राज्यपक्षबाट कोही यस्तो फेस्टिभलमा जानुअघि फिल्मकर्मीसँग छलफल गरेको खण्डमा नेपालको उपस्थिति बलियो हुन्छ,’ उनले भने, ‘त्यही कान्समा नेपालले अवार्ड जित्दा बधाईसमेत दिन नसक्ने र त्यसबारे थाहा नपाउने राज्यपक्षले पनि ध्यान दिनुपर्छ ।’

प्रकाशित : जेष्ठ ८, २०८१ ०७:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×