कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

जाहेरी फिर्ता लिन बलात्कारपीडितलाई दबाब

प्रहरीमा दिएको जाहेरी फिर्ता लिन नमानेपछि गोली प्रहार
पर्वत पोर्तेल

विराटनगर — गत वैशाख २१ मा सुनामिका (नाम परिवर्तन) कक्षा १२ को परीक्षा दिएर परीक्षा सेन्टरबाट बाहिरिँदै थिइन् । त्यहाँबाट किशोरीको डेराको दूरी ५ मिनेट मात्रै थियो । यहीबीच दमक नगरपालिका–५ को ज्येष्ठ नागरिक भवनअघिल्तिरको व्यस्त सडकमा उनीमाथि गोली प्रहार भयो । घटनापछि सबैको एउटै जिज्ञासा थियो, ‘किशोरीको ज्यान लिन खोज्नुका पछाडि के त्यस्तो कारण होला ?’

जाहेरी फिर्ता लिन बलात्कारपीडितलाई दबाब

प्रहरीका अनुसार गोली प्रहार गर्ने व्यक्ति थिए, अमितकुमार यादव । केही दिनदेखि डेरा र परीक्षा सेन्टरको सुराक पाएका अमितले त्यस दिन परीक्षा सकिनेबित्तिकै आक्रमण गरेको प्रहरीले बताएको छ । नकाव र हेल्मेट लगाएर उभिएका यादवलाई सुरुमा त किशोरीले ठम्याउन सकिनन् । पछि उनलाई समातेर लगेपछि चिनिन् । ‘गर्धनमा बन्दुक तेर्स्याएर मुद्दा फिर्ता लिने कि नलिने भन्यो ?,’ उनले घटनाबारे भनिन्, ‘फिर्ता लिन्न भनेपछि मलाई लडाएर गोली हान्यो ।’

खासमा उनलाई गर्धनमै गोली हान्ने यादवको योजना थियो । किशोरीले कसोकसो गरेर गर्धनबाट बन्दुक छुटाएपछि भुइँमा लडिन्, तब यादवले प्रहार गरेको गोली पेटमा लाग्यो । पेटको दायाँदेखि बायाँसम्म पूरै दरफराएको छ । ‘त्यो दिन तीनवटा कपडा लगाएकी थिएँ,’ उनले सुनाइन्, ‘मलाई हानेको गोली पेटमा क्षति गर्दै ज्याकेटमा अड्किएको थियो ।’ गोली प्रहार गरी यादव भागे । उनलाई स्थानीयले उद्धार गरी अस्पताल पुर्‍याए ।

गोलीको छर्राले आन्द्रामा सात ठाउँमा प्वाल पारेको र शल्यक्रियापछि किशोरी निको हुँदै गएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । ‘गोली पेटभित्रै पसेको भए ज्यानै जान सक्ने अवस्था थियो,’ उपचारमा संलग्न एक चिकित्सकले भने, ‘छर्रा मात्रै लागेकाले समस्या उति गम्भीर हुन पाएन ।’

गोली प्रहारमा बलात्कारको घटना जोडिएको छ । यादवले दुई वर्षअघि किशोरीमाथि जबर्जस्ती करणी गरेको अभियोग छ । त्यसविरुद्ध पीडित किशोरीकी दिदीले २०७९ साउन ५ मा जिल्ला प्रहरी कार्यालय उदयपुरमा जाहेरी दिएकी थिइन् । जाहेरी परेपछि यादव फरार थिए । उनले मुद्दा फिर्ता लिन किशोरी र किशोरीको परिवारलाई दबाब दिँदै आएका थिए । ‘उनले मुद्दा फिर्ता लिन भन्दै हामीलाई बारम्बार ज्यान मार्ने धम्की दिँदै आएका थिए,’ किशोरीकी दिदीले सुनाइन्, ‘वैशाख २१ मा त गोली नै हान्यो, कसोकसो बैनीको ज्यान बच्यो ।’

उदयपुरको विकट गाउँको विपन्न परिवारकी ती किशोरी २०७९ को एसईई सकेर कम्प्युटर सिक्न सदरमुकाम झरेकी थिइन् । नातेदारको डेरामा बसेर कम्प्युटर सिकिरहेकी उनलाई २०७९ असार २७ मा उनका बुबाले छोरीलाई घर लैजान भनी यादवको मोटरसाइकल चढेर कम्प्युटर इन्स्टिच्युटमै आए । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–५ का बासिन्दा यादव त्यतिबेला लिम्चुङबुङ–३ बाराहास्थित महेन्द्र मावि सिर्वानीका अंग्रेजी र गणितका करार शिक्षक थिए । शिक्षकको नाताले किशोरी र उनको परिवारसँग यादव नजिकिएका थिए । घर लैजाने बहानामा राति बास बसेको घरमै यादवले बलात्कार गरेको पीडित किशोरीले प्रहरीमा दिएको जाहेरीमा उल्लेख छ ।

जाहेरी परेदेखि यादव प्रहरीको फरार सूचीमा छन् । ‘दुई वर्षअघि नै यो घटनामा अनुसन्धान सकेर यादवविरुद्ध पक्राउ पुर्जी जारी भएको छ,’ उदयपुरका एसपी रमेश थापाले भने । गोली प्रहारपछि यादव फरार छन् । घटनालाई प्रहरीले गम्भीरतापूर्वक लिएको र आरोपितलाई चाँडै पक्राउ पर्ने कोशी प्रदेश प्रहरी प्रमुख डीआईजी चन्द्रकुवेर खापुङले बताए । ‘घटनापछि भागेर बिहारतिर बसेको देखिन्छ,’ उनले भने, ‘भारतीय प्रहरीसँगको समन्वयमा अभियुक्तलाई चाँडै नै पक्राउ गर्नेछौं ।

उपचार खर्च बुझाउन नसक्दा अस्पतालमै

दमकमा गोली प्रहार भएपछि स्थानीय लाइफलाइन अस्पतालमा भर्ना गरिएकी किशोरी अहिले उपचार खर्च बुझाउन नसक्दा अस्पतालबाट डिस्चार्ज हुन पाएकी छैनन् ।

उनलाई अस्पतालले शुक्रबार नै डिस्चार्ज दिएको हो । तर उपचार क्रममा लागेको खर्च तिर्न नसक्दा आइतबारसम्म उनी डिस्चार्ज हुन पाएकी छैनन् ।

किशोरीको उपचारमा ५ लाख रुपैयाँभन्दा बढी खर्च भइसकेको छ । परिवारले खर्च जुटाउन समस्या भइरहेको बताएको छ । ऋण गरेर करिब डेढ लाख रुपैयाँ अस्पताललाई बुझाइसकिएको र बाँकी रकम तिर्न असमर्थ भएको किशोरीकी दिदीले बताइन् । ‘उपचार खर्च तिर्न नसक्दा अस्पतालले बिदा दिएको छैन,’ उनले भनिन्, ‘अब यत्रो पैसा कहाँबाट ल्याएर तिर्ने ?’

प्रकाशित : जेष्ठ ८, २०८१ ०७:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×