कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

भेडेटारमा स्काइवाक सञ्चालनमा

पहिलो दिन नै एक हजारले चढे टावर

धनकुटा — मुलुककै पर्यटकीय गन्तव्यमध्येको चर्चित स्थल भेडेटारमा निर्माण भएको स्काइवाक (सिसामा हिंड्ने पुल) शुक्रबारदेखि सञ्चालनमा आएको छ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले टावरको उद्घाटन गरेका छन् ।

भेडेटारमा स्काइवाक सञ्चालनमा

भेडेटार स्काइवाक परियोजनाको निजी साझेदारीअन्तर्गत कोशी प्रदेशको यो पहिलो परियोजना हो । सञ्चालन भएको पहिलो दिन नै झन्डै एक हजार बाह्य तथा आन्तरिक पर्यटकले स्काइवाक टावर चढेका छन् ।

धनकुटाको साँगुरीगढी गाउँपालिका–४ र धरान उपमहानगरपालिका–६ को संगमस्थल भेडेटारस्थित चार्ल्स प्वाइन्टमा उक्त टावर निर्माण गरिएको हो । कोशी प्रदेश लगानी प्राधिकरण, धनकुटाको साँगुरीगढी गाउँपालिका र सुनसरीको धरान उपमहानगरपालिकाको समन्वयमा उक्त स्काइवाक निर्माण गरिएको हो । दुई वर्षमा सम्पन्न गर्ने उद्देश्यले चार वर्ष पहिले २०७७ फागुन ९ मा प्रदेश लगानी प्राधिकरण र विकासकर्ताबीच परियोजना विकास सम्झौता भएको थियो ।

वन्डर्स एम्युजमेन्ट पार्क्स एण्ड अट्र्याक्सन्स प्रालिको २० करोड रुपैयाँको लगानीमा स्काइवाक निर्माण गरिएको परियोजनाका कार्यकारी निर्देशक सञ्जीव रोकाहले जानकारी दिए । ‘विभिन्न झमेलाका कारण निर्माण अवधि लम्बिन पुग्यो,’ उनले भने, ‘केही बढी समय लागे पनि काम सम्पन्न भएर सञ्चालनमा आएपछि औधी उत्साह र खुसी मिलेको छ ।’

स्काइवाक सञ्चालनले पर्यटन प्रवर्द्धनका लागि आकर्षण थप्ने मुख्यमन्त्री कार्कीले बताए । ‘तीन तहकै सरकारको सामूहिक कर्म सफल भएको छ,’ उनले भने ।

४१ मिटर लम्बाइ, २ मिटर चौडाइ रहेको स्काइवाक क्यान्टिलिभर टावरको मोडलमा निर्माण भएको परियोजना स्रोतले जनाएको छ । टावरको उचाइ भने १८ दशमलव ५ मिटर रहेको छ । कोशी प्रदेशका तत्कालीन मुख्यमन्त्री शेरधन राईको पालामा चार वर्ष पहिले सम्झौता भई निर्माण थालिएको स्काइवाकको निर्माण कार्य वर्तमान मुख्यमन्त्री कार्कीको पालामा सम्पन्न भएको हो ।

काठमाडौंको कमलादी र इलामको कन्याममा निर्माणपछि वन्डर्स ग्रुपले भेडेटारमा स्काइवाक निर्माण गरेको परियोजनाका अध्यक्ष आकर्षण पोखरेलले जानकारी दिए । स्काइवाकमा ३३ मिमिको सिसा प्रयोग गरिएको छ । परियोजनामा प्रत्यक्ष २० र अप्रत्यक्ष १ सय जनाले रोजगारी पाउने उनको भनाइ छ । भारत, बंगलादेश तथा विभिन्न देशका पर्यटकलाई लक्षित गरी टावर निर्माण गरिएको परियोजनाका अध्यक्ष पोखरेलले बताए ।

उद्घाटन कार्यक्रममा धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राई, साँगुरीगढी गाउँपालिका अध्यक्ष जितेन्द्र रुम्दाली राई लगायतले पर्यटन प्रवर्द्धनमा तीन तहका सरकार सँगसँगै जानुपर्ने धारणा राखेका थिए ।

प्रकाशित : श्रावण ११, २०८१ १९:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×