कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

जेष्ठ नागरिकको उपचारमा शिविरकै भर

रुपा गहतराज

नेपालगन्ज — बाँके नरेनापुर गाउँपालिका–२ रोशनपुर्वाकी ७० वर्षीया जैतुना पठान दुबै आँखाले ठम्मयाउन सक्दिनन् । १५ वर्षअघि पतिको मृत्यु भएपछि उनी एक्लो जीवन बिताइरहेकी छन् । हातका नसा दुखेर उनले काम पनि गर्न सक्दिनन् । दुई छोरा भए पनि उनी एक्लै बस्छिन् । साथमा हेरचाह गर्ने कोही छैन ।

जेष्ठ नागरिकको उपचारमा शिविरकै भर

‘भएका दुई छोरा पनि एक्लै बस्छन् । बुढेसकालमा कसैको साहारा छैन,’ उनले भनिन्,‘अस्पताल पनि पुग्न सक्दिन। यस्तै स्वास्थ्य शिविर आयो भने देखाउँछु ।’

नरेनापुर–२ बैचहवाकी ८० वर्षकी आमना जोलाही मुस्किलले अस्पतालसम्म पुग्छिन् । नियमित स्वास्थ्य जाँच गराउने उनको सामर्थ्य छैन । राम्रोसँग सुन्न सक्दिनन् । पतिको मृत्यु भएपछि उनी छोरासँग बस्दै आएकी छन् । ‘पेट दुखेर हैरान हुँदा पनि अस्पताल गएर औषधि गरिदिने मान्छे छैन,’ उनले भनिन्,‘बुढाबुढीलाई कसैले रेखदेख गर्न खोज्दैनन् ।’

८० वर्षीय रफित खाँ आफै लौरी टेकेर स्वास्थ्य शिविर आए । नरैनापुर बेचहवाका रफितका ६ छोरा २ छोरी छन् । सबैको आआफ्नो परिवार छ । उनी खुट्टा दुखेर राम्रोसँग हिडडुल गर्न सक्दैनन् । अस्पताल गएर उपचार पनि गर्न सकेका छैन । बुढेशकालको जिन्दगी बडो नमज्जाको हुदो रैछ,’ उनले भने, ‘बिसन्चो हुँदा पनि कसैलाई भन्न सकिन्न । अस्पताल पुर्‍याइदिने मान्छे पनि हुँदैनन् ।’

नरैनापुर गाउँपालिकाका जेष्ठ नागरिकले उपचार सुविधा पाउन स्वास्थ्य शिविरकै भर पर्नु परेको छ । औषधि उपचारका लागि घरपरिवारले वास्ता नगर्दा आफूहरु गाउँमा आउने निशुल्क स्वास्थ्य शिविरको पखाईमा बस्नु परेको उनीहरुले बताएका छन् ।

बाँकेमा सेनाको राँझास्थित श्रीबज्रदल गणको आयोजनामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको हो । नरैनापुर–२ लक्ष्मनपुर प्राथमिक स्वास्थ्य केन्द्रमा गरिब, असहाय, अशक्त र विपन्न वर्गको निःशुल्क स्वास्थ्य सेवा गर्ने उद्देश्यले शिविरको आयोजना गरिएको बज्रदलका गणपति प्रमुख सेनानी रविन श्रेष्ठले बताए । उनले भने, ‘पहुँच भन्दा टाढा र उपचारको अभावमा रहेका जेष्ठ नागरिकका लागि शिविर मार्फत स्वास्थ्य उपचार पुर्‍याउने यो एउटा पहल मात्र हो ।’

गणपति श्रेष्ठका अनुसार सैनिक अस्पताल नेपालगन्ज, स्वास्थ्य कार्यालय बाँके, भेरी अस्पताल, नेपालगन्ज आँखा अस्पताल, एचसीआरसी अस्पताल नेपालगन्ज र शाही डेन्टल क्लिनिकको संयुक्त सहयोगमा सञ्चालित उक्त शिविरमा ६ सय ७० जना बिरामीले स्वास्थ्य जाँच गराएका छन् ।

शिविरमा १६ जना विषेशज्ञ चिकित्सकसहितको टोलीले स्वास्थ्य जाँच गराउन आएका बिरामीलाई सेवा प्रदान गरेका थिए । शिविरमा नशा तथा हाड जोर्नी, स्त्री सम्बन्धी महिला प्रसूति तथा बाँझोपन, छाला त्यसैगरी बालरोग, दन्त रोग, नाक कान घाँटी, आँखा, न्यूरोलगायतका अन्य रोगको उपचार गरिएको थियो ।

नरैनापुर गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहले शिविरबाट सहरका अस्पतालमा सेवा लिनबाट बञ्चित विरामीले गाउँमै निःशुल्क रूपमा स्वास्थ्य जाँच गराउने सेवा प्रभावकारी भएको बताए ।

एक दिने उक्त नि:शुल्क शिविरमा ५१ महिला र ५३ जेष्ठ नागरिकले नशा तथा हाडजोर्नीको उपचार गरएका छन् भने ५६ महिला र ५३ पुरुषले छालाको उपचार गराएका छन् । त्यसैगरी २६ महिला र ३७ पुरुषले दातको उपचार गराएका छन् भने ४६ महिलाले आँखाको जाँच गराउँदा ३१ जना जेष्ठ नागरिकमा मोतियाबिन्दुको समस्या देखिएको छ ।

प्रकाशित : असार १५, २०८१ १५:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा एसको प्रतिवेदनमा माओवादीलाई 'अस्थिर' भनिएकोबारे महाधिवेशन उद्घाटन समारोहमै असन्तुष्टी व्यक्त गरेका छन् । माओवादीको कार्यशैली तपाईंलाई कस्तो लाग्छ ?

x
×