काठमाडौँ — उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सत्ता समीकरण फेरबदल हुनेकुरा हल्ला मात्रै भएको बताएका छन् ।सोमवार नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै गृहमन्त्री लामिछानेले सत्ता समीकरण फेरबदल हुन लागेकोबारे आफूलाई कुनै जानकारी नभएको बताए ।
‘हल्ला मात्रै हो । त्यस्तो थाहा छैन । म पनि सरकारमै छु । सरकार गठबन्धनको एउटा पार्टनर नै हुँ । त्यस्तो केही पनि छैन । मेरो भर्खरै दुईजना नेतासँग कुरा पनि भयो । कहिलेकाही विभिन्न प्रक्रियाहरुमा केही असमझदारी हुँदाखेरी भेटघाट गर्ने कुरा भइरहन्छ । सामान्य भेटघाट नै हो । यसलाई कुनै त्यस्तो गम्भीरतापूर्वक लिनुपर्ने केही पनि छैन’ गृहमन्त्री लामिछानेले भने । गृहमन्त्री लामिछानेले शीर्ष नेताहरु बीचको भेटघाट समान्य भेटघाटको रुपमा रहेको भन्दै त्यसलाई गम्भीरतापूर्वक लिनु नपर्ने बताए ।
