कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६६

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण सञ्चालन गर्न माग

भैरहवा — रुपन्देही, कपिलवस्तु र पश्चिम नवलपरासीका सरोकारवालाले यहाँस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल यथाशीघ्र पूर्णरुपमा सञ्चालनको वातावरण बनाउन माग गरेका छन् ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण सञ्चालन गर्न माग

संघीय संसद् अन्तर्गत सार्वजनिक लेखा समितिद्वारा गठित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल अनुगमन उपसमितिले सोमबार गरेको सुझाव संकलनमा सहभागीले सरकार र निजी क्षेत्रको लगानी डुब्न लागेकाले यहाँबाट छिटो अन्तर्राष्ट्रिय उडान व्यवस्था गराउन माग गरेका हुन् ।

उद्घाटन भएर विमानस्थल सञ्चालनमा आएको दुई वर्ष बितेपनि यहाँबाट नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन भएका छैनन् । नियमित उडान माग गर्दै यहाँको निजी क्षेत्र आन्दोलित छ । अनुगमनका लागि आएको उपसमिति समक्ष उद्योगी, व्यवसायी, जनप्रतिनिधि र नागरिक अगुवाले राज्यले नीतिगत निर्णय गरेर अन्तर्राष्ट्रिय उडानको व्यवस्था गर्नुपर्ने माग गरे ।

‘काठमाण्डौं केन्द्रित नीतिलाई अब संघीयता अनुसार बनाउनुपर्‍यो,’उद्योग वाणिज्य संघ सिद्धार्थनगरका अध्यक्ष ठाकुरकुमार श्रेष्ठले भने, ‘यदि उप समिति साँच्चिकै विमानस्थल चलाउनुपर्छ भन्ने उद्देश्यले आएको हो भने यहाँबाट विमान उडाउन आवश्यक नीतिगत निर्णय गर्नुस् ।’

विमानस्थलको अनुगमनका लागि उपसमिति संयोजक योगेश भट्टराई समेत लेखा समितिका आठ जना सांसद आएका छन् । छलफलका क्रममा सांसदले उडान नहुँदा यहाँस्थित निजी क्षेत्रले भोग्नु परेको पीडा महशुस गरेको बताएका थिए ।

‘माननीय ज्यूहरुले हाम्रो पीडा महशुस गर्नुभयो,’ श्रेष्ठले भने, ‘हामी लामो समयदेखि अनुभव गर्दै आएका छौं ।’ विमानस्थलप्रति सरकारको सकारात्मक सोच र इच्छाशक्ति हुने हो भने सञ्चालन गर्न कठिनाई नहुने उनले बताए ।

‘विभिन्न मुलुकका राजदूत बोलाएर विमान उडाउनेबारे छलफल सम्म गरिएको छैन,’ उनले भने, ‘श्रम स्वीकृति लिन र स्वास्थ्य जचाउँन काठमाण्डौं धाउनुपर्ने अवस्थामा कसरी उडान थपिन्छन ।’

सिद्धार्थ होटल एसोसिएसनका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठले विमानस्थल निर्माणमा सरकारको ४० अर्ब रुपैयाँ भन्दा बढी लगानी भइसकेको सुनेको बताए । विमान सञ्चालन भएर पर्यटन बृद्धि हुने आशमा निजी क्षेत्रले त्यसको दोब्बर ८० अर्ब रुपैयाँ होटल तथा रेष्टुरेन्टमा लगानी गरिसकेको उनले बताए ।

‘बैंकको ऋण लिएर लगानी गर्ने व्यवसायीको अवस्था दयनीय अवस्थामा पुगेको छ,’ उनले भने, ‘लामो समयदेखि निजी क्षेत्रले दबाब दिँदै आएपनि सरकारले मागको सुनुवाई गरेन ।’ अन्तर्राष्ट्रिय उडान सुरु गर्न काठमाण्डौं केन्द्रित म्यानपावर, ट्राभल एजेन्सी लगायतलाई विकेन्द्रित गरिनुपर्ने उनको भनाई थियो ।

विमानस्थल सञ्चालन गर्न सरकार नै उदासीन रहेको उनले बताए । ‘लगातार दबाब दिइरहेका छौं,’ उनले भने, ‘त्यहीँपनि सरकार सुन्दैन ।’ छलफलमा सहभागी पूर्व अर्थमन्त्री तथा रुपन्देही–२, का प्रतिनिधिसभा सदस्य बिष्णु पौडेलले भैरहवाबाट अन्तर्राष्ट्रिय उडान सुरु गर्ने विषय सरकारको कार्यसूचीमै नपरेको बताए ।

‘विमानस्थल कसरी सञ्चालन गर्ने विषय सरकारको कार्यसूचीमा परेन,’ उनले भने, ‘त्यसैले गर्दा अहिलेसम्म नचलेको हो ।’ अहिलेसम्म सरकारको तर्फबाट अन्तर्राष्ट्रिय विमान कम्पनीलाई उडान भर्नका लागि आव्हान समेत नगरिएको उनले बताए ।

‘यो विमानस्थल चलेन भने समग्र विकासका निम्ति नराम्रो भाष्य तय हुन्छ,’ उनले भने, ‘व्यवस्थित र पूर्ण क्षमता सहित अन्तर्राष्ट्रिय विमानस्थलका रुपमा यो सञ्चालन हुन्छ ।’ शिलान्यास भएर निर्माण सुरु हुने वित्तिकै यसको सञ्चालनकालागि आवश्यक तयारी थालिनुपर्नेमा त्यसो नगरिएकाले ढिलाई भएको उनले बताए ।

उपसमिति संयोजक योगेश भट्टराईले पर्यटन व्यवसायी, उद्योगी, नागरिक समाजको भावना विमानस्थल छिटो सञ्चालनमा आवस भन्ने रहेको बताए । यहाँका सरोकारवालको भावना अनुसार यसको सञ्चालनमा देखिएका समस्या समाधान गरेर जसरी हुन्छ भैरहवाबाट अन्तर्राष्ट्रिय उडान सञ्चालन हुने वातावरण तयार गर्नकालागि उपसमितिले सरकारलाई सुझाव दिने बताए ।

सार्वजनिक लेखा समितिको बैठकले यसको निर्माण पक्रियादेखि अहिलेसम्मको अवस्थाबारे अध्ययनका लागि उपसमिति गठन गरेको उनले बताए ।

‘विमानस्थलमा अहिलेसम्म कुन निकाय कति लगानी भयो, यसको आवश्यकता र डिजाइन, निर्माणको उद्देश्यका साथै राज्यको लगानी र सञ्चालनका सम्बन्धमा जानकारी लिइरहेका छौ,’ उनले भने, ‘निजी क्षेत्रको लगानी र प्रतिफलका विषयमा पनि हामीले बुझेका छौं ।’

उपसमितिले सोमबार बिहान विमानस्थल व्यवस्थापन, अध्यागमन, भन्सार र विमानस्थल सुरक्षा निकायका प्रमुखसित छलफल गरेको थियो । ‘विमानस्थल व्यवस्थापनसित धेरै विषयमा प्रश्न सोधेका छौं,’ कति प्रश्नका उत्तर आएका छन, कतिको उत्तर आएको छैन । त्यसैले माथिल्लो निकायमा पनि सोध्छौं ।’

प्रकाशित : असार १७, २०८१ १७:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संसद्का दुई ठूला दल कांग्रेस र एमालेले गरेको सत्तासहयात्राको नयाँ सहमतिबारे तपाईंको धारणा के छ ?

×