काठमाडौँ — नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगको छलफल सकारात्मक भएको भन्दै पार्टी पदाधिकारी बैठकमा ब्रिफिङ गरेका छन् ।
सभापति देउवाले शनिबार अध्यक्ष ओलीसँग करिब तीन घण्टा लामो संवाद गरेका थिए । सत्ता परिवर्तनसँग जोडेर उक्त भेटलाई महत्वपूर्ण रुपमा हेरिएको मात्रै छैन, त्यसलगत्तै कांग्रेस र एमालेका दोश्रो तहका नेताहरु समेत निरन्तर छलफलमा छन् ।
बुढानीलकण्ठस्थित देउवाको निवासमा बसेको बैठकमा उनले ओलीसँगको भेटमा विविध विषयहरुमा कुराकानी भएको र छलफल सकारात्मकरुपले अघि बढेको बताएका छन् ।
'बैठकमा सभापतिजीले एमालेका अध्यक्ष केपी ओलीसँग भेटघाट गरेको विषयमा पनि जानकारी गराउनुभएको छ । उहाँ (देउवा)ले 'ओलीजीले चिया खान बोलाउनुभयो । म पनि गएँ । भेटघाट सकारात्मकरुपमा अघि बढेको छ' भन्नुभयो,' बैठकपछि कांग्रेसका सूचना सञ्चार तथा प्रचार विभागका प्रमुख मीन विश्वकर्माले भने, 'यसबारे जे अनुमानहरु गरिएको छ, त्यसबारे धेरै टिप्पणी नगरौँ । ती अनुमान आउनु पनि स्वभाविक नै हो ।'
