कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

लुम्बिनी प्रदेशसभा बैठक आइतबारसम्मका लागि स्थगित

बजेटमाथिको छलफलमा कांग्रेसको अवरोध

बुटवल — लुम्बिनी प्रदेशसभाको बैठक आइतबारसम्मका लागि सूचना टाँसेर स्थगित गरिएको छ । सरकारले आगामी वर्षका लागि प्रस्तुत गरेको बजेटमाथिको छलफल बिहीबारदेखि सुरु भएको थियो ।

लुम्बिनी प्रदेशसभा बैठक आइतबारसम्मका लागि स्थगित

दोस्रो दिनको पन्ध्रौं बैठक शुक्रबार दिउँसो २ बजे बसेको थियो । बैठक सुरु भएलगत्तै विपक्षी दलका नेता एवं पूर्वमुख्यमन्त्री डिल्लीबहादुर चौधरीले विशेष समय माग गरेर बोल्दै बजेट संघीयता विरोधी भएको र कांग्रेस बजेटको विपक्षीमा उभिने भन्दै विरोध गरेका थिए । संवादका लागि भन्दै सभामुख तुलाराम घर्तीले आधा घण्टाका लागि बैठक स्थगित गरे पनि छलफल हुन नसकेपछि सूचना टाँसेर आइतबार बिहान ८ बजेसम्मका लागि स्थगित गरिएको हो ।

प्रदेशसभाका सचिव दुर्लभकुमार पुनले सूचना जारी गर्दै चौथो अधिवेशनको पन्ध्रौं बैठक आधा घण्टाका लागि स्थगन गरिएकोमा विशेष कारणबस पुनः बस्न नसक्ने भएकाले आगामी सोह्रौं बैठक आइतबार बिहान ८ बजे बस्ने गरी सभामुखको निर्देशनअनुसार सूचना जारी गरिएको उल्लेख गरेका छन् । शुक्रबारको बैठकमा बोल्दै कांग्रेस संसदीय दलका नेता एवं पूर्वमुख्यमन्त्री चौधरीले बजेट कृषि र पर्यटन क्षेत्र विरोधी भएकाले कांग्रेसले त्यसको विरोध गर्दै बैठक अवरोध गर्ने बताएका थिए । त्यसलगत्तै विपक्ष दलका प्रदेशसभा सदस्यहरुले उठेर विरोध जनाएका थिए ।

नेता चौधरीले कृषि र पर्यटनलाई प्राथमिकतामा राखेको सरकारले कृषिमा चालु वर्षको भन्दा ५८ करोड बजेट घटाएको, पर्यटनमा पनि बजेट घटाएको भन्दै विरोध गरेका थिए । किसानलाई समयमै मलबिउ पुर्‍याउन नसक्ने सरकार किसानमैत्री हुनै नसक्ने उनको तर्क थियो ।

उनले सरकारले प्रदेशको लोपोन्मुख समुदाय वादी, गन्धर्व, चमार, नटुवा जातिका लागि राखिएको बजेट पनि कटौती गरेको बताए । बाटो बनाएर मात्र संघीयता कार्यान्वयन नहुने भन्दै कांग्रेस बजेटको विपक्षमा उभिने बताए ।

‘सरसर्ती हेर्दा बजेट सैद्धान्तिक रुपले संघीयताविरोधी छ, कृषि र पर्यटनविरोधी छ,’ उनले भने, ‘बाटो बनाएर संघीयता लागू हुँदैन, किसानलाई मल बिउ दिने र स्थानीय उत्पादनको ब्राण्डिङ गर्ने बजेट लुम्बिनीका लागि जरुरी हो ।’ बजेटले निजी क्षेत्रका कुनै पनि माग र चासो सम्बोधन गर्न नसकेको र अनुत्पादक क्षेत्रमा बजेटको खोलो बगेको भन्दै समग्रमा संघीयताविरोधी बजेट आएको भन्दै कांग्रेस बजेटका विपक्षमा उभिने बताए ।

प्रकाशित : असार ७, २०८१ १७:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

एसईई परीक्षाको नतिजामा ५२ प्रतिशत विद्यार्थी नन्‌ग्रेडिङ (एनजी) मा पर्नुको कारण के होला ?

x
×