कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५३

हावाहुरीले २४ घण्टादेखि विद्युत अवरुद्ध 

माधव अर्याल

पाल्पा — शनिबार बेलुकीको हावाहुरीले पाल्पाका धेरै स्थानमा विद्युत अवरुद्ध भएको छ । २४ घण्टादेखि विद्युत अवरुद्ध भएपछि स्थानीय उपभोक्ता आक्रोसित बनेका छन् । माथागढी गाउँपालिका–३, कसेनीका नारायण प्रसाद अधिकारीले २४ घण्टादेखि विद्युत अवरुद्ध हुँदा अनेकन समस्या भोग्नु परेको बताए ।

हावाहुरीले २४ घण्टादेखि विद्युत अवरुद्ध 

‘यति लामोसमयसम्म विद्युत अवरुद्ध गर्ने विद्युत प्राधिकरणलाई फुलमाला लगाएर स्वागत गर्नुपर्ने हो वा के हो ?,' उनले प्रश्न गर्दै भने । विद्युत अनियमित हुंँदा जिल्लामा ठूला उद्योगधन्दा नभएपनि एफएम, दुध डेरी, मासु उद्योग, पत्रपत्रिका प्रकाशन हुन नसक्ने समस्या हुन्छ ।

तानसेन नगरपालिका–८, मदनपोखराकी नारी प्याडसंचालक उमा अर्यालले दिनभर कारखाना बन्द गर्नु परेको बताइन् । विद्युत अवरुद्ध हुँदा रेडियोको प्रशारण रोकिने समस्या छ । मोबाइलका बिटिएस टावर, प्रहरीका रेडियो सेट विद्युतकै कारण समस्यामा परेको स्थानीयले बताउँछन् । कम्प्युटर इन्स्टिच्युट, उद्योग, कलकारखाना, व्यापारी, व्यवसायीलाई पनि विद्युत आपुर्ति नहुँदा समस्या भएको छ ।

प्राधिकरणको पाल्पा बितरण केन्द्रका अनुसार जिल्लाका दर्जन बढी स्थानमा विद्युत पोल ढल्ने, तार चुंडिने, विद्युतीय संरचनामै धेरै क्षति भएकाले शीघ्र मर्मतसम्भार गर्न नसकिएको जनाएको छ । कार्यालय प्रमुख दिलीप मरासेनीले शनिबारको हावाहुरीले विद्युतीय संरचनामा ठुलो क्षति पुगेकाले नियमित गर्न समस्या भएको बताए ।

उनका अनुसार पाल्पा–बुटवल ३३ केभी लाइनमा ४ स्थानमा पोल भाँचिएका छन् । दुई ठाउँमा तार चुडिएको प्राधिकरण पाल्पा बितरण केन्द्रले जनाएको छ । रुप्से चर्चरे ३३ केभी मा ६ स्थानमा पोल ढलेको छ । सिलुवा ३३ केभीमा दुई स्थानमा पोल ढलेको छ ।

११ केभी को ७ स्थानमा पोल ढलेको छ । पाल्पा बितरण केन्द्रका अनुसार दुई थान २५ केभीए टिआरएन जेलकोे छ भने ३५ थान एलटी काठको पोल भाँचिएको प्रमुख मरासेनीले जानकारी दिए ।

एलटी र टिआरएनको काम सकिएपछि मात्र विद्युत नियमित हुने उनले बताए । बुटवलदेखि डुम्रेसम्म विद्युत सुचारु भए पनि त्यसपछिका अन्यत्र भने विद्युत सुचारु हुन सकेको छैन । सदरमुकाम तानसेनमा स्याङजाको विपिसी र गूल्मीको रुरुक्षेत्रबाट विद्युत लाईन सुचारुगर्नसमेत समस्या भएको प्राधिकरणले जनाएको छ । पाल्पा वितरण केन्द्रले अधिकांश स्थानमा काम सकिएको र छिटै विद्युत सुचारु गर्ने तयारी गरेको जनाएको छ ।

प्रकाशित : चैत्र १८, २०८० १९:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघमा गठबन्धन बदलिने बित्तिकै प्रदेश सरकारहरू फेरबदल भइहाल्ने अभ्यासबारे तपाईंको के टिप्पणी छ ?

×