कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

‘श्रीनगर सांस्कृतिक डबली’ तानसेन नगरपालिकालाई हस्तान्तरण

झन्डै ७ करोड रुपैयाँ खर्चिएर बने पनि कार्ययोजना केही छैन 
माधव अर्याल

पाल्पा — ‘श्रीनगर सांस्कृति डबली’ अर्थात् ओपन थिएटर निर्माण सम्पन्न भएको डेढ वर्षपछि तानसेन नगरपालिकालाई हस्तान्तरण गरिएको छ । यो डबली लुम्बिनी प्रदेश सरकारको सहयोगमा निर्माण भएको हो । 

‘श्रीनगर सांस्कृतिक डबली’ तानसेन नगरपालिकालाई हस्तान्तरण

सदरमुकाम तानसेन नगरपालिका–५, कैलाशनगरमा निर्माण गरिएको डबली ‘ओपन थिएटर’ को अवधारणमा बनेको हो । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले तानसेन नगरपालिकाका नगरप्रमुख सन्तोषलाल श्रेष्ठलाई साँचो हस्तान्तरण गरेका हुन् । जिल्लामा रहेका कला संस्कृति तथा यहाँको ऐतिहासिक पक्षको प्रचारप्रसार गरी पर्यटक ल्याउन प्रदेश सरकारको योजनाअनुसार डबली निर्माण गरिएको हो ।

लुम्बिनी प्रदेश सरकारको ६ करोड ८२ लाख ५६ हजार ९१ रुपैयाँ बजेटमा डबलीको काम सम्पन्न भएको पर्यटन डिभिजन कार्यालय रुपन्देहीकी प्रमुख गीता आचार्यले जानकारी गराइन् । २०७६ असार ८ गते काम सुरु गरी विसं २०७८ असार ७ गते सम्पन्न गर्ने सम्झौतामा रहे पनि कोभिडको कारण देखाएर निर्माणमा आलटाल गरेर २०७९ असार ८ गते सम्पन्न भएको उनले बताइन् ।

डबलीमा झन्डै पाँच सय दर्शकले खुल्ला प्रदर्शनी हेर्न पाउनेछन् । यहाँ स्टेज, हरियो दुबोसहितको दर्शक कक्ष, कलाकारहरुको चेन्जिङ रुम, कोलसेट, शौचालय, गार्ड हाउस, टिकट काउन्टर, कार्यालय कोठा र पार्किङ सहितको सुविधा छ । ‘पर्यटन प्रवर्द्धनका लागि बिल्कुलै नयाँ अवधारणा अनुसारको संरचना निर्माण भएको छ,’ डिभिजन वन कार्यालयका प्रमुख नारायणदेव भट्टराईले भने, ‘यसलाई सही ढंगले प्रयोगमा ल्याउन सकियो भने पर्यटकको रोजाई र बसाई लम्ब्याउन सकिन्छ ।’


डबली सञ्चालनमा आउँदा यहााँको कला, संस्कृतिको संरक्षण तथा पर्यटक प्रवर्द्धनमा सहयोग पुग्ने उनले बताए । रोजगारीका अवसरहरु सिर्जना हुने, कला, संस्कृतिको प्रदर्शनीले पर्यटकको आगमनमा वृद्धि हुने विश्वास लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीको छ । ‘पाल्पाको तानसेन र वरपरका क्षेत्रलाई हिल स्टेशनका रुपमा विकास गर्दै पर्यटकको चहलपहल बढाउन डबलीले सहयोग पुग्ने गरी कार्ययोजना बनाउन जरुरी छ,’ डबलीको साँचो हस्तान्तरण गर्दै उनले भने, ‘म अर्को पटक पाल्पा आउँदा यहाँको कला, संस्कृति हेर्न टिकट काटेर भित्र पस्न पाउनुपर्छ ।’

नयाँ पुस्ताका युवाहरुले पुरानो कला, संस्कृति बिर्सिएको, संस्कृति सम्बन्धी ज्ञान डबली मार्फत दिन सकिने उनले बताए । ‘कला, सस्कृतिसँग जोडेर स्थानीयको आयआर्जन हुने अवस्था मिलाउनुपर्छ,’ उनले भने, ‘यसका लागि नगरपालिकालाई सबैको साथ पनि चाहिन्छ ।’ यति ठूलो पूर्वाधार प्रदेश सरकारले नगरपालिकालाई हस्तान्तरण गरिरहँदा यसबाट रोजगार र स्वरोजगार हुनेगरी काम गर्न लुम्बिनी प्रदेश सरकारका सभामुख तुलराम घर्तीले सुझाव दिए । ‘यहाँको कला, संस्कृतिलाई विकास गर्दै पर्यटन विकास गर्नमा सहयोग पुग्ने गरी योजना बनाउनुपर्छ,’ उनले भने, ‘निर्माण भएको भौतिक संरचनाको सही ढंगले प्रयोग गर्नुपर्ने हुन्छ ।’ पाल्पाका मगर, नेवार, खसआर्य, कुमाल, बोटे लगायतका संस्कृति डबलीमा हेर्न पाउनुपर्ने उनले बताए ।

लुम्बिनी प्रदेश सरकारकै सहयोगमा तिनाउ गाउँपालिका–२, दोभान नुवाकोटमा तीन करोड ८४ लाखमा सांस्कृतिक डबली निर्माण भएको छ । गाउँपालिका अध्यक्ष प्रेम श्रेष्ठले निर्माण सम्पन्न भए पनि हस्तान्तरण नभएको बताए । प्रदेश सरकारकै सहयोगमा दाङको घोराही उपमहानगरपालिका–१८, घोडदौरामा सांस्कृतिक डबली निर्माण भएको छ । यो पनि खुल्ला नाट्यघरको अवधारणाअनुसार नै निर्माण भएको हो । यो निर्माणका लागि साढे ११ करोड बजेट विनियोजन भएको थियो ।


प्रकाशित : मंसिर २५, २०८० १७:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×