कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

रामग्रामको पण्डितपुरमा प्राचीन सहरको संरचना पत्ता लाग्यो

नवीन पौडेल

परासी — पश्चिम नवलपरासीको रामग्राम-१८ स्थित ऐतिहासिक तथा पुरातात्त्विकस्थल पण्डितपुरमा भएको भू–भौतिक सर्वेक्षण (जिओफिजिक्स सर्भे)मा बुद्धकालीन प्राचीन सहरको संरचना भेटिएको छ ।

रामग्रामको पण्डितपुरमा प्राचीन सहरको संरचना पत्ता लाग्यो

पुरातत्त्व विभाग, लुम्बिनी विकास कोष र बेलायतको दुरहाम विश्वविद्यालयको प्राविधिक सहयोगमा गरिएको सर्भेमा जमिनमुनि प्राचीन सहरको भग्नावशेष भेटिएको हो । पण्डितपुरको दक्षिणपश्चिम क्षेत्रमा गरिएको भू-भौतिक सर्वेक्षणका क्रममा जमिनमुनी गोलाकार आकारमा रहेको संरचना फेला परेको पुरातत्त्व विभागका वरिष्ठ पुरातत्त्व अधिकृत भास्कर ज्ञवालीले बताए । जियोफिजिक्स सर्भेमा प्रारम्भिकरुपमा संरचना भेटिएको तथ्य फेलापरेपछि यसको उत्खननको काम अगाडि बढाउने पुरातत्त्व विभागको तयारी छ ।

पण्डितपुरलाई कोलिय गणराज्यको राजधानीका साथै बुद्धको मावलीस्थलको रुपमा दाबी गरिँदै आइएको छ । २०६८ देखि २०७२ सालसम्म पुरातत्त्व विभागले परम्परागत प्रविधिको सहायताले गरेको उत्खनन्‌का क्रममा यस क्षेत्रमा आठौं शताब्दीका भाँडा, इनार र इट्टा भेटिएको थियो । रामग्राम नगरपालिकाका प्रमुख धनपत यादवले नगर भित्र रहेका बुद्धकालीन प्राचीनस्थलको उत्खनन् र यसको संरक्षणमा कोषले ध्यान दिनुपर्ने बताए ।

स्थानीय तहलाई अधिकार पनि नदिने र प्राचीनस्थलको संरक्षण र प्रवर्द्धनमा पनि ध्यान नदिने हो भने नगरपालिका आफैंले यसको स्वामित्व लिन तयार भएको यादवको भनाइ छ । यसअघि रामग्राम नगरपालिका-७ स्थित रामग्राम स्तुपमा बौद्धकालीन पोखरीको भग्नावशेष र विहारको संरचना फेला परेको थियो ।

प्रकाशित : मंसिर १८, २०८० १९:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×