कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

प्रदेशलाई चलायमान बनाउन कांग्रेस लुम्बिनीको आग्रह

घनश्याम गौतम

बुटवल — नेपाली कांग्रेस लुम्बिनीले संघीयताको मर्मअनुसार तहगत संरचनालाई पूर्ण रुपमा जिम्मेवारी दिन पार्टीको केन्द्रसँग आग्रह गरेको छ । 

प्रदेशलाई चलायमान बनाउन कांग्रेस लुम्बिनीको आग्रह

बुटवलमा आइतबार सम्पन्न भएको कांग्रेसको दुई दिने प्रथम लुम्बिनी प्रदेश सम्मेलनले पार्टीको तल्ला संरचनालाई तहगत जिम्मेवारी दिन र हस्तक्षेपकारी भूमिका निर्वाह नगर्न केन्द्रलाई आग्रह गरेको हो । सम्मेलन समापनपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै कांग्रेस प्रदेश सभापति अमरसिंह पुनले संघीय संरचनाअनुसार पार्टीलाई पनि चलायमान बनाउन आग्रह गरे ।

‘संघीय लोकतान्त्रिक गणतन्त्रअनुसार हाम्रो पार्टीको संरचनालाई पनि चलायमान बनाउन पर्‍यो । स्थानीय क्रियाशील बनाउने र निर्देशन गर्ने काम पार्टीको स्थानीय समितिले गर्नुपर्छ,’ उनले भने, ‘प्रदेश सरकारलाई प्रदेश समितिले निर्देशन गर्ने जिम्मेवारी दिनुपर्छ । केन्द्रले हस्तक्षेपकारी भूमिका निर्वाह नगर्न पनि आग्रह गर्छौं ।’

प्रदेश सभापति पुनले संघीय सरकारले पनि संविधानअनुसार अधिकार दिएर प्रदेशलाई चलायमान गराउन सम्मेलनमार्फत आग्रह गरिएको जानकारी दिए । प्रदेश सभापतिलाई केन्द्रीय सहमहामन्त्री सरहको पदाधिकारी बनाएर जानुपर्ने पनि सम्मेलनले सुझाव दिएको छ ।

मुलुकको विकास र समृद्धिका लागि अरु पार्टीसँग पनि समन्वयकारी भूमिका खेल्नु पर्ने भन्दै प्रदेश सम्मेलनले अन्तरपार्टी सञ्जाल बनाएर सबै पार्टीसँग समन्वय सहकार्य गर्ने निर्णय गरेको छ । संघदेखि वडा संरचनासम्म अरु पार्टीसँग समन्वय गर्न लुज फोरम बनाउनुपर्ने प्रदेश सभापति पुनले बताए ।

मुलुकका अहिले समस्या र उत्पन्न परिस्थितिका कुरालाई सबै मिलेर एकताबद्ध गर्न सबै पार्टी मिलेर अघि बढ्न पनि सन्देश दिइएको छ । यस्तै कांग्रेसको क्रियाशीलताको लागि सबै पालिका सभापतिलाई पदेन महाधिवेशन प्रतिनिधि तथा महासमिति सदस्य बनाउन पनि कांग्रेस लुम्बिनीले आग्रह गरेको छ । पार्टीमा एक पटक केन्द्रीय सदस्य भएकाहरु पनि तल्लो तहबाट स्वत: प्रतिनिधि भन्ने व्यस्था खारेज गर्न, सबैले तलैदेखि लडेर आउनुपर्ने कांग्रेस लुम्बिनीले प्रस्ताव गरेको छ ।

केन्द्रीय महामन्त्री गगनकुमार थापाको प्रमुख आथित्यतामा आइतबार भएको बन्द सत्रमा केन्द्रीय सदस्यहरुको पनि सहभागिता थियो । बन्द सत्रमा प्रदेश उपसभापति भुवनप्रसाद श्रेष्ठले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन, प्रदेश महामन्त्री सुरेन्द्रराज आचार्यद्वारा प्रस्तुत सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष प्रकाश रानाद्वारा प्रस्तुत प्रतिवेदनमाथि ४ वटा समूह बनाएर छलफल भएको थियो । छलफलमा पार्टीको आन्तरिक गतिविधिसँगै मुलुकका समस्याका बारेमा पनि प्रतिनिधिहरुले सुझाव व्यक्त गरेका थिए ।

समूहगत छलफलका सुझावहरु समूहका नेताहरुले बन्द सत्रमा पेस गरेका थिए । प्राप्त सुझावलाई समेत समेटिने गरी प्रस्तुत प्रतिवेदनहरु पारित गरिएको उपसभापति भुवनप्रसाद श्रेष्ठले बताए ।

सम्मेलनको शनिबार केन्द्रीय सभापति शेरबहादुर देउवाले उद्घाटन गरेका थिए । सम्मेलनमा प्रदेश कार्यसमितिका पदाधिकारी तथा सदस्य, सल्लाहकारहरु, प्रदेश अधिवेशन प्रतिनिधि, जिल्ला सभापतिहरु, भ्रातृ तथा शुभेच्छुक संस्थाका प्रतिनिधि गरी ७ सय ५० भन्दा बढीको सहभागिता थियो ।

प्रकाशित : मंसिर १७, २०८० २१:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×